गृहमा के–के मात्रै देख्न पाइने हो !

अहिले कांग्रेस–एमालेको महागठबन्धन छ । यस्तो गठबन्धन राजनीतिमा मात्र होइन, प्रशासन संयन्त्रमा समेत मौलाउँदै छ । पछिल्लो समय जातीय, भेगीय र पारिवारिक गठबन्धनसमेत बन्ने गरेको छ ।
दुई वर्षअगाडि नेपालको सूचना प्रविधि संयन्त्र एकै भेगका पौडेल बन्धुहरूको कब्जामा थियो । अख्तियार लागेर तीमध्येका दुई भाइ अहिले डिल्लीबजार सदरखोरमा छन्, एक भाइ गुमनाम । दुई वर्षपछि ठीक उसैगरी गृह प्रशासनको तालाचाबी पर्वतेहरूको पोल्टामा पुगेको छ । त्यहाँ कञ्चनपुरबाट निर्वाचित रमेश लेखक मन्त्रीको कुर्सीमा छन् ।
अहिले गृहमा सुरक्षा तथा समन्वय महाशाखा प्रमुख रामचन्द्र तिवारी, मन्त्रीको स्वकीयमा बद्री तिवारी र काठमाडौंको प्रजिअमा ऋषिराम तिवारी छन् । रामचन्द्र तिवारी यसअघि उद्योगमा थिए । नक्कली प्रमाणपत्र काण्ड लागेका जुम्ली जयनारायण आचार्यलाई मन्त्रालयमा तानेर काठमाडौंको प्रजिअ ऋषिराम तिवारीलाई खटाइएको छ । तिवारी बालकृष्ण खाँण गृहमन्त्री हुँदा रुपन्देहीको सिडिओ थिए ।
पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीका नातेदार तिवारी उनी गृहसचिव हुँदा झापाको सिडिओ थिए । अहिले मन्त्री रमेश लेखकको स्वकीय उपसचिव छन्, बद्री तिवारी । केही समय डिभिजन सहकारी कार्यालय ललितपुर र दिल्ली दूतावासमा बसेका उनी लेखक राज्यमन्त्री हुँदा उनकै सचिवालयमा थिए । ४ कात्तिकदेखि मन्त्रीको सचिवालयमा भित्रिएका उनी यसअघि सुजाता कोइराला र शेरबहादुर देउवाको पनि सचिवालयमा थिए । पछि त्यहाँँबाट हटाएर नयाँदिल्लीस्थित नेपाली दूतावासको सहायक कन्सुलरमा खटाइयो ।
उसो त पछिल्लो समय गृहमन्त्रीको सचिवालयमा भित्रिएका कर्मचारीमध्ये यसअघि अध्यागमन काण्डमा मुछिएका विमल पौडेलदेखि अहिले प्रशासन महाशाखा हेर्दै आएका गणेशदत्त ओझासमेतलाई अख्तियारले छोएको थियो । ओझा कैलालीको मोहन्याल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा नीतिगत निर्णय गरी ५४ लाख राजश्व छुट दिएबापत अख्तियारको झमेलामा परेका थिए । पछिल्लो समय गृहको कर्मचारी खटन पटनमा गुनासो चुलिँदो छ । गृह आफैँले तयार गरेको मापदण्डअनुसार ६१ जिल्लामा सहसचिव र बाँकी १६ जिल्लामा मात्र उपसचिव प्रजिअ हुने कार्यविधि छ तर प्रजिअ गोकर्णमणि दुवाडीहरूले उक्त मापदण्डविपरीत १२ जिल्लामा उपसचिवलाई खटाएका छन् ।
दुई वर्षअगाडि मुलुकको सूचना प्रविधि एकै घरपरिवारको कब्जामा थियो । एनआइआइटिसीमा नियुक्त तत्कालीन मुख्यसचिव शंकरदास बैगारीका साँढुभाइ पर्वते प्रदीप शर्मा पौडेललाई मापदण्ड मिचेर नियुक्ति दिइएको थियो भने बिचौलिया दीपक भट्टको जोडबलमा सुरक्षण मुद्रण कोषमा नियुक्ति खाएका विकल पौडेल हुन् वा नेपाल टेलिकमको नेतृत्वमा पुगेका सुनिल तीनै जना पौडेल पर्वते दाजुभाइ हुन् ।
टिप्पणीहरू