जगदुल्लाको ठेक्कामा सेटिङ नगरेको उर्जामन्त्रीको जिकिर

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा सेटिङ नगरेको बताएका छन् ।
उक्त जलविद्युत कम्पनीको ठेक्का प्रकरणमा मुछिएर विवादमा परेका उनले आज प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिमा त्यसको खण्डन गरेका हुन् । मन्त्री खड्काले भने, 'जगदुल्ला जलविद्युत आयोजना ठेक्काका विषयमा मन्त्रालयमा कुनैपनि ठेक्कदारसँग बसेको छैन । सबैले अनलाइन ठेक्का हाल्छन् ।'
त्यस्तै, किमाथाङ्का अरुण, जगदुल्ला र मुगु कर्णाली हाइड्रो पावरको विषयमा बाहिर आएका समाचारमा सत्यता नरहेको उनको दाबी छ । मन्त्री खड्काले यी जल विद्युत आयोजनाको शेयर विक्रीमा आफूले गलत नियतले काम नगरेको प्रष्टीकरण दिए ।
संरक्षित क्षेत्रमा आयोजना बनाउन नपाउने र बनेका पनि हटाउनुपर्ने सर्वोच्च अदालतको आदेशले तत्काल १६ हजार मेगावाटका आयोजना प्रभावित हुने अवस्था रहेको जनाउँदै मन्त्री खड्काले त्यसको समाधान सरकारले खोज्नुपर्ने अवस्था आएको पनि बताएका छन् ।
डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट) को निर्माण कार्यको ठेक्का आह्वानको विषयलाई लिएर उर्जामन्त्री खड्कामाथि प्रश्न उठिरहेको छ । आयोजना अनुमानित लागतभन्दा कम रकममा ठेक्का लगाउने गरी मिलेमतो गरेको उनीमाथि आरोप लागेको अवस्था छ ।
यसबारे चौतर्फी प्रश्न उठिरहँदा हिजोको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अप्रत्यक्षरुपमा चासो राखेका थिए ।
टिप्पणीहरू