उर्जामन्त्री खड्कामाथि कमिसनमा चुर्लुम्म डुबेको आरोप, सत्तापक्षकै सांसदले पारे र्याखर्याख्ती

उर्जामन्त्री खड्कामाथि कमिसनमा चुर्लुम्म डुबेको आरोप, सत्तापक्षकै सांसदले पारे र्याखर्याख्ती

जलविद्युत कम्पनीको ठेक्का प्रकरणमा मुछिएर विवादमा परेका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कामाथि सत्तापक्षकै सांसदहरुले प्रश्नको वर्षा गरेका छन् । 

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बठैकमा जलविद्युत आयोजनाका विषयलाई लिएर उनीमाथि गम्भीर प्रश्न उठेको हो । सत्तारुढ दलका प्रभावशाली सांसदले मन्त्री खड्का सेटिङबाट चलेको र कमिसनमा डुबेको आरोपसमेत लगाए । 

ऊर्जा मन्त्रालयको काम कारबाहीका विषयमा जानकारी लिन आज सिंहदरबारमा समितिको बैठक बसेको थियो । त्यसक्रममा सांसदहरुले मन्त्री खड्कालाई जगदुल्ला जलविद्युत आयोजना ठेक्का तथा किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीका विषयमा र्याखर्यख्ती पारे । 

सत्तारुढ दल एमालेका सांसद गोकर्ण बिष्टले किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीका विषयमा मन्त्री खड्काको नियत राम्रो नभएको बताए । आयोजना निर्माणका लागि लगानी साझेदारी गर्ने सम्बन्धी कार्यविधि बनाउँदा नै सेटिङ देखिएको उनको दावी छ । 

विद्युत उत्पादन कम्पनीका लगानीकर्ताहरुलाई जानकारी छ की छैन ? प्रश्न गर्दै बिष्टले क्याविनेटले निर्णय गर्नुपर्नेमा ऊर्जामन्त्रीले प्रबन्धपत्रलाई टेकेर जथाभावी गरेको देखिएको बताए । 

प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले पनि किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको सेयर बेच्ने प्रक्रियालाई शंकास्पद भनेका छन् । पूर्व उर्जामन्त्रीसमेत रहेका उनले रणनीतिक महत्वका आयोजनामा निःशुल्क बिजुलीको विषय केही उल्लेख नगरी निजी कम्पनीलाई शेयर बेच्ने कुरा निक्कै गम्भीर भएको उल्लेख गरे । 

४४५ मेगावाटको किमाथांका अरुण र १९०२ मेगावाटको मुगु कर्णाली अर्धजलाशययुक्त आयोजनाको ५१ प्रतिशत शेयर विक्रीका लागि मंसिर २३ गते आशयपत्रमा शंका रहेको उनको भनाई थियो । 'मुगु कर्णाली अर्धजलाशययुक्त आयोजनाको ५१ प्रतिशत शेयर विक्री गरेर कति पुर्याउन खोज्नुभएको हो ?', मन्त्री खड्कालाई बस्नेतले सोधे, 'सबै सञ्चालक सदस्यहरु सबै सहमति भएको छ वा छैन ?'   

ऊर्जामन्त्री खड्काले एउटा अमुक कम्पनीलाई शयर बेच्ने सेटिङसहित आशयपत्र मागेको अर्का सांसद प्रकाश ज्वालाको दावी छ । पूर्व मन्त्री तथा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका उनले निहित स्वार्थका लागि आयोजना कसैको जिम्मा लगाउन नहुनेमा जोड दिए । 

सांसद ज्वालाले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा पनि मन्त्री खड्काको बद्नियत देखिएको बताए । आयोजना ठेक्काका लागि कमिसन खेल भएको उनको भनाई छ ।   

माओवादी केन्द्रका अर्का सांसद माधव सापकोटाले पनि मन्त्री खड्काको नियतमाथि प्रश्न उठाएका छन् । दुई आयोजनाको शेयर सेटिङमा बेच्न खोजेको आरोप लगाउँदै उनले सोधे, 'किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर बेच्ने योजनाबाट किन पछाडि हट्नुभयो ?'

मन्त्रीले कार्यविधि नै सेटिङमा बनाएको उल्लेख गर्दै सांसद सापकोटाले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा निर्माण कम्पनीलाई मन्त्रालयमा बोलाएर हस्तक्षेप गरेको आरोप लगाए । 'अख्तियारमा उजुरी परेपछि ठेक्का रद्ध गर्न वाध्य हुनुभएको हो ?', समितिमा उनको प्रश्न थियो । 

सरकारको नेतृत्वकर्ता एमाले सांसद ठाकुर गैरेले मन्त्री खड्काले समितिलाई छल्न खोजेको आरोप लगाए । मन्त्रालयबाट भइरहेका गलत काममा समर्थन गर्न नसकिने प्रष्ट पार्दै उनले २८ हजार ५ सय मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य राम्रो भए पनि काम गर्ने मनाशाय राम्रो नदेखिएको बताए । खड्का मन्त्री भएदेखि अहिलेसम्म एकपछि अर्को विवादमा परेको भन्दै गैरेले असन्तुष्टि जनाए ।

मुगु कर्णाली र किमाथांका अरुण जलविद्युत परियोजनाको अनुमति बिक्रीका विषय सेटिङमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीको पनि दावी छ । जगदुल्ला (१०६ मेगावाट) जलविद्युत आयोजनाको निर्माण कम्पनी छनोट प्रक्रिया मन्त्रीको हस्तक्षेपका कारण रद्ध भएको उनले बताइन् । 

सांसदहरुले ऊर्जा मन्त्रालयले गरेका गतिविधि विवादमा पर्दा आफूहरु समेत विवादित हुनुपर्ने अवस्था रहेको भन्दै गलत काम सच्याउन मन्त्रीलाई सुझाव दिएका थिए । तर, उर्जामन्त्री खड्काले भने जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा सेटिङ नगरेको जिकिर गरे । 

उनले भने, 'जगदुल्ला जलविद्युत आयोजना ठेक्काका विषयमा मन्त्रालयमा कुनैपनि ठेक्कदारसँग बसेको छैन । सबैले अनलाइन ठेक्का हाल्छन् ।' 

त्यस्तै, किमाथाङ्का अरुण, जगदुल्ला र मुगु कर्णाली हाइड्रो पावरको विषयमा बाहिर आएका समाचारमा सत्यता नरहेको उनको दाबी छ । मन्त्री खड्काले यी जल विद्युत आयोजनाको शेयर विक्रीमा आफूले गलत नियतले काम नगरेको प्रष्टीकरण दिए ।

टिप्पणीहरू