प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री नजानुको यस्तो प्रष्टोक्ति

प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री नजानुको यस्तो प्रष्टोक्ति

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेको दिन प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको नेकपा एमालेले जनाएको छ । 

प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने संसदीय अभ्यास मिचिएको भन्दै चर्को आलोचना भएपछि एमालेको तर्फबाट यस्तो प्रतिक्रिया आएको हो । प्रचण्डले सम्बोधन गर्न लागेको विषय प्रधानमन्त्रीलाई जानकारी भए पनि स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको सो पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

हिजो प्रतिनिधिसभा बैठकमा पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफू बोल्ने समयमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै गुनासो गरेका थिए । प्रधानमन्त्रीले संसदीय प्रचलन तोडेको भन्दै माओवादी केन्द्रले बिरोध गरेको छ । अन्य राजनीतिक दल र संसदीय मामिलाका जानकारहरुले पनि प्रधानमन्त्री सदनमा उपस्थित नभएकोप्रति आश्चर्य व्यक्त गरिरहेका छन् ।  

तर, बर्तौलाले भने प्रधानमन्त्री संसद्‌मा उपस्थित हुने तयारीमै रहँदा स्वास्थ्यमा असहजता भएपछि आउन नसकेको दावी गरे । यद्यपि हिजो प्रधानमन्त्रीको सचिवालयले 'प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा बोल्न लागेको विषय जानकारी नभएको' प्रतिक्रिया दिएको थियो ।   

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा बर्तौलाले भने, 'प्रमुख प्रतिपक्षी दलका नेताले माघ २४ गतेको बैठकमा बोल्दै हुनुहुन्छ भनेर सम्बन्धित पार्टीका प्रमुख सचेतकज्यूले मलाई जानकारी गराउनुभएको थियो । यो विषय प्रधानमन्त्रीज्यूको जानकारीमा समयमै पुगेको समेत अवस्था हो । हिजो उहाँ आउने तयारीमा पनि हुनुहुन्थ्यो, तर उहाँलाई सहजता भएन । स्वास्थ्यमा समस्या भएको कारणले उहाँको हिजो कुनै पनि सार्वजनिक कार्यक्रमहरू रहेन ।'

संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई निम्त्याउने र प्रमुख प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री पनि उपस्थित रहने प्रचलन छ ।

टिप्पणीहरू