रिलेसन लामो, वैवाहिक सम्बन्ध छोटो

‘धोकेबाज’ गीतबाट चर्चित बनेकी गायिका एलिना चौहान श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेपछि थप चर्चामा आएकी छन् । पहिलो ‘एनिभर्सरी’ मनाउन नपाउँदै उनले वारिस विष्णु खरेलमार्फत गत साता काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी हुन् ।
तर उनले सम्बन्धविच्छेदपछि श्रीमानबाट मानाचामल र अंश नलिने उल्लेख गरेकी छन् । मुद्दा दायरपछि एलिनाले आफ्नो फेसबुकमार्फत् विवाहका लागि हतारो गरेको भन्दै पछुतो मानेकी छन् । उनले डिभोर्स दिन लागेको श्रीमानलाई गाली नगर्न आग्रहसमेत गरेकी छन् । एलिनाको उक्त भिडियोमा मिश्रित प्रतिक्रिया देखिन्छ ।
प्रशान्त ओली कन्चनले पश्चिमी संस्कृति अपनाउन खोज्दा नेपाली कलाकारहरुको वैवाहिक सम्बन्ध नटिकेको भनेका छन् । उनी लेख्छन्, ‘प्रायः कलाकारहरुको वैवाहिक जीवन असफल नै हुन्छ, अनि दोस्रो, तेस्रो नहुने कमै हुन्छन्, पहिलो कुरा त नेपाली कलाकारहरु विदेशी संस्कृतिको सिको गर्न खोज्छन्, लिभिङ टुगेदर बस्ने पश्चिमा संस्कृतिभित्रका कलाकारहरु जस्तो जीवनशैली अपनाउन खोज्छन् जुन नेपाली संस्कृति र सभ्यतालाई अपाच्य विषय हो र सुहाउँदैन पनि ।’
त्यसैगरी, मदन धामी कुशलले आफूलाई पहिले नै उनीहरुको सम्बन्ध टिक्दैन भन्ने लागेको उल्लेख गरेका छन् । ‘बिहेपछिको दुवै जनाको अन्तरवार्ता सुन्दा दीर्घकालीन रुपमा सम्बन्ध टिक्दैन होलाजस्तो त मलाई पनि लागेको थियो तर यति चाँडै बिछोड होला भनेर सोचेको थिइन । फेरिपनि जीवनको अर्को नाम भनेको संघर्ष नै हो राम्रो गायिका हुनुहुन्छ हामी त हजुरको शुभचिन्तक हो जोडी पनि राम्रो नै थियो । यस्तो नभएको भएपनि राम्रो हुन्थ्यो फेरि पनि तपाईंकोे सन्देश र सोचलाई सलाम छ ।’
केही समयअघि निर्देशक छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्धविच्छेद भएको थियो । छविले शिल्पालाई चार करोड रुपैयाँ पर्ने घर दिएका हुन् । नेपाली सेलिब्रेटीहरु धेरै छन्, जसको घर टुटेको छ । चर्चित अभिनेत्री रेखा थापाको पनि सम्बन्धविच्छेद भएको हो । छविसँग सम्बन्ध तोडेर उनले अर्को विवाह गरिसकेकी छन् ।
भर्खरै वैवाहिक बन्धनमा बाँधिएकी अभिनेत्री अरुणिमा लम्सालको पुनः वैवाहिक सम्बन्ध टुंगिन लागेको चर्चा छ । गत भदौमा अर्को विवाह गरेकी उनले आफ्नो सामाजिक सञ्जालबाट श्रीमानको फोटो हटाएकी छन् । एक वर्षसमेत नटिक्दै उनको विवाह पनि टुंगिने अवस्थामा पुगेको धेरैको अड्कल छ ।
भन्ने गरिन्छ, ‘कलाकार समाज परिवर्तनका वाहक हुन् ।’ समाजको ‘ऐना’ तथा ‘रोलमोडल’ का रुपमा समेत परिचित कलाकारहरुको भूमिका सभ्य समाज निर्माणमा ज्यादै रहन्छ । किनकि उनीहरुलाई समाजको आदर्श एवम् आम नागरिकका लागि प्रेरणाको स्रोत समेत मान्ने गरिन्छ ।
तर, तिनै कलाकर्मीहरु किन समाजका आदर्श पात्र बन्न सकिरहेका छैनन् ? कलाकारको पारिवारिक जीवन किन आदर्श र प्रेरणादयी बन्न सकिरहेको छैन ? चलचित्रको पर्दामा निकै राम्रो घरजम बसाउने उनीहरु किन असल जीवनमा विफल भइरहेका छन् ? अहिले यो बहसको विषय समेत बनेको छ ।
करियरमा सफल, वैवाहिक जीवनमा विफल
विवाह एउटा पवित्र बन्धन हो । नेपाली समाजमा विवाहलाई सात जन्मको सम्बन्ध मानिन्छ । त्यसैले, कुनै पनि व्यक्तिले विवाह गर्दा निकै सोचविचार गरेको हुन्छ । अझ कलाकारहरुले त वर्षौ एकअर्कालाई बुझेर लगनगाँठो कसेको भन्ने गर्छन् ।
दुर्भाग्य, कयौं वर्ष सँगै बसेर (लिभिङ टुगेदर) एकअर्कालाई जानी–बुझी आफूहरुको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेपछि छोटो समयमै अधिकांश विछोड हुने गरेका छन् । गीत, संगीत र कलाकारिता क्षेत्रमा निकै नाम कमाएका कलाकर्मीहरुकै वैवाहिक जीवन भद्रगोल छ ।
करियरमा सफल कलाकर्मीहरु वैवाहिक जीवनमा भने विफल भएको थुप्रै घटना छन् । त्यसो त कलाकारहरुको डिभोर्स एक प्रकारको परम्पराजस्तै भइसकेको छ । अहिले कलाकारहरुको मिलन र विछोडका समाचार दर्शकका लागि पनि कुनै नौलो खबर होइन ।
वर्ष २०८० बिदा गर्दैगर्दा नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निकै रङ्गिएका दुई पात्र हुन्, गायक राजेश पायल राई र निशान भट्टराई । यी दुई पात्रको दाम्पत्य जीवन भत्किएको तथ्य बाहिर आएपछि सामाजिक सञ्जालमा तरंग छाएको थियो ।
गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच गत चैत ७ गते सम्बन्धविच्छेद भएको थियो । उनीहरुले दुई वर्षको प्रेमपछि ०७७ सालमा अदालती विवाह (कोर्ट म्यारिज) गरेका थिए । तर, यो सम्बन्ध धेरै समय टिक्न सकेन ।
उता, गायक राजेश पायल राईले झण्डै पाँच वर्षको लिभिङ्ग रिलेसनपछि ०७९ फागुनमा आफूभन्दा २६ वर्ष कान्छी सङबुङ राईसँग विवाह गरेकोमा गत चैत १५ गते अदालत गएर सम्बन्धविच्छेद गरे । त्यसो त उनले एउटा बच्चाको बुबा बनेपछि मात्र विवाह गरेका थिए ।
नेपाली संगीत क्षेत्रमा निकै चर्चित गायिका हुन्, अन्जु पन्त । तर, उनको पनि पहिलो विवाह सफल हुन सकेन । संगीतकार मनोज राज शिवाकोटीसँग प्रेम विवाह गरेकी अन्जुको वैवाहिक जीवन एक दशक मात्र टिक्यो । अहिले अन्जुले दोस्रो विवाह गरिसकेकी छन् ।
म्युजिक भिडियो हुँदै फिल्म क्षेत्रमा जमेकी अभिनेत्री एवम् टिभी होस्ट रिमा विश्वकर्माको पनि घरबार सफल हुन सकेन । प्रेमी रोबर्ट विश्वकर्मासँग लामो प्रेम सम्बन्धपछि विवाह गरेकी उनको दुई वर्षमै सम्बन्धविच्छेद भयो ।
त्यसैगरी अभिनेत्री प्रियंका कार्कीले २२ वर्षकै उमेरमा अमेरिका बस्ने रोचक मैनालीसँग लगनगाँठो कसे पनि लामो यात्रा तय गर्न सकिनन् । विवाह गरेको दोस्रो वर्षमै यी दुईबीच डिभोर्स भएको थियो । अहिले प्रियंका र आयुष्मान देशराज जोशीका एक छोरी छिन् ।
विवाह गरेको एक वर्ष नपुग्दै सम्बन्धविच्छेद भएकी अर्की नायिका हुन्, वर्षा सिवाकोटी । अमेरिका बस्ने इन्जिनियर आशिष गेलालसँग बिहे गरेको छ महिनामै उनले डिभोर्स गरेकी हुन् ।
अभिनेत्री मनिषा कोइराला जति नेपालमा चर्चित छिन्, त्यति नै भारतमा पनि । उनले थुप्रै हिन्दी फिल्ममा काम गरेकी छन् । राजनीतिक घराना कोइराला परिवारमा जन्मिएकी उनी राजनीतिज्ञ एवम् पूर्वमन्त्री प्रकाश कोइरालाकी छोरी र पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी पनि हुन् ।
करियरमा सफल मनिषाको वैवाहिक सम्बन्ध भने विफल रह्यो । नेपाली व्यापारी सम्राट दाहालसँग विवाह गरेको दुई वर्षमै उनी अलग्ग भइन् । मनिषाले हालसम्म अर्को विवाह गरेकी छैनन् । उनी अहिले अभिनयको अलावा महिला हकअधिकार तथा स्वास्थ्य क्षेत्रमा पनि सक्रिय देखिन्छन् ।
अभिनेता भुवन केसीलाई नेपाली चलचित्र क्षेत्रका ‘पावर हाउस’ पनि मानिन्छ । पहिले नायक र पछि निर्माताको रुपमा चलचित्र क्षेत्रमा राम्रै दबदवा बनाएका उनको वैवाहिक जीवन भने सफल छैन ।
चलचित्रको पर्दामा आदर्श प्रेमी र श्रीमान बन्ने उनले पहिलो र दोस्रो श्रीमती क्रमशः सुस्मिता बमजन र विजया मल्लसँगै डिभोर्स गरिसकेका छन् । अहिले उनी नायिका जिया केसीसँग लिभइनमा रहेको बताइन्छ ।
नेपालमा डिभोर्स गर्ने कलाकारहरुको सूची निकै लामो भइसकेको छ । सिनेमा क्षेत्रमा गुपचुप विवाह गर्ने कलाकारको लर्को पनि कम छैन । कतिपयले सुटुक्क डिभोर्स पनि गर्छन् भने दोस्रो विवाहपछि पारपाचुकेको खबर बाहिरिन्छ । रोचक कुरा चाँहि सेलिब्रेटीहरुको विवाह रिलेसन जति पनि टिक्दैन । पाँच–सात वर्ष रिलेसनमा बसेर विवाह गरेका जोडीहरु वर्ष दिन नपुग्दै अलग्ग हुने गरेको पाइएको छ ।
स–साना कुरा नमिल्दा पनि डिभोर्स
पछिल्लो समय देशभर सम्बन्धविच्छेदका घटना बढ्दै गएका छन् । श्रीमान–श्रीमतीबीच बढेको असमझदारी डिभोर्समा परिणत हुन अचेल धेरै समय लाग्दैन । अधिवक्ता राधिका खतिवडा पहिलेको तुलनामा सम्बन्धविच्छेदका घटना सयौं गुणाले बढेको बताउँछिन् ।
उनका अनुसार कलाकारिता क्षेत्रमा सक्रिय भएकाको मात्र नभई आम सर्वसाधारणमा पनि डिभोर्सका घटना बढिरहेका छन् । ‘कलाकारहरुको डिभोर्स भएमा त्यो चर्चाको विषय बन्छ । तर, आम नागरिकको त्यस्ता कुरा बाहिर आउँदैन । त्यसैले, अहिले जुनसुकै पेशा र व्यवसायमा आबद्ध रहेपनि डिभोर्स गर्ने क्रम बढेको छ,’ उनले भनिन् ।
श्रीमान–श्रीमतीबीच दूरीले सिर्जना गर्ने मनमुटावसँगै स–साना कुरा नमिल्दा समेत डिभोर्सको संघारमा पुग्ने गरेको अधिवक्ता खतिवडाको ठहर छ । उनले थपिन्, ‘अचेल कोही पनि कसैको अधिनमा रहन चाहँदैनन् । त्यसैले, कुरा र विचार नमिल्नेबित्तिकै डिभोर्स गरिहाल्ने प्रवृत्ति बढेको छ ।’ अर्को कुरा महिला हिंसा, महिला आत्मनिर्भरता र सम्बन्धविच्छेद गर्न कानून सजिलो हुनुले पनि डिभोर्सका घटना बढेको उनको बुझाई छ ।
टिप्पणीहरू