बागमती प्रदेशमा पर्यटन विकास

लेखसार/विषयवस्तु :
उच्च हिमाली तथा संरक्षित क्षेत्र र वरपरका जैविक विविधता संरक्षणका कारण नेपाल प्राकृतिक सम्पदामा विश्वमै अग्रणी राष्ट्रहरुमध्येमा गनिएको छ । हिमाल, पहाड र तराई मधेससम्म फैलिएका संरक्षित क्षेत्रहरु नेपालको अद्वितीय प्राकृतिक सम्पदा र गहना हुन् । देशभित्र र देशबाहिरको बढ्दो शहरीकरण र औद्योगिकीकरणसँगै प्रकृति र वातावरणलाई चुनौती दिइरहेको तथा जलवायु परिवर्तनको प्रभाव परिरहेको बेला बागमती प्रदेश सरकारले पर्यटन विकासका लागि उच्च प्राथमिकता दिनुपर्ने देखिन्छ । कानुन, नीति, योजना र कार्यक्रमहरुले मूर्तरुप पाएको खण्डमा पर्यटनका लागि मानक प्रदेशको रुपमा बागमती प्रदेशले आफूलाई अग्रणी भूमिकामा उभ्याउने प्रचूर सम्भावना देखिएको छ । प्राथमिक र द्वितीय तथ्याङ्कमा आधारित भएर विश्लेषणात्मक, व्याख्यात्मक र गुणात्मक रुपमा विश्लेषण गरी प्रस्तुत लेख तयार गरिएको छ । यस अध्ययनमा बागमती प्रदेशको पर्यटनको सम्भावना, पर्यटन विकासका लागि संघ, प्रदेश एवं स्थानीय सरकारबीचको समन्वय विश्लेषण र पर्यटन क्षेत्रमा देखा परेका समस्या एवं चुनौतीहरु लेखाजोखा गरिएको छ ।
शब्दकुञ्जीः पर्यटन उद्योग, प्राकृतिक सौन्दर्यता, दिगो विकास, समृद्धि
पृष्ठभूमि :
पर्यटकहरु चौबिस घण्टा भन्दा बढीको लागि कुनै ठाउँ भ्रमण गर्दैछन् भने उनीहरूलाई आवास चाहिन्छ । फुर्सद र व्यापार यात्रीहरूले पनि आकर्षणहरू भ्रमण गर्न सक्छन्, र मनोरञ्जन गतिविधिहरूमा संलग्न हुन सक्छन् । त्यसैले पर्यटकीय गन्तव्यका लागि उचित सुविधा हुनुपर्छ (Camilleri, 2018, p. 3) एक ठाउँबाट अर्को ठाउँको भ्रमणमा आवतजावत गर्ने कार्य पर्यटन हो । आफ्नो नियमित बासस्थानबाट बिदा मनाउने, व्यापार गर्ने वा त्यस्तै अन्य कुनै उद्देश्यले चौबिस घण्टा भन्दा बढी समय र लगातारको एक वर्ष भन्दा कम समय बाहिर बिताउन निस्कने व्यक्ति पर्यटक हो ।
विश्वभर आफ्नो भौगोलिक पहिचान कायम गर्ने सबल माध्यमका रुपमा पर्यटन उद्योगलाई लिने गरिएको छ । पुरातन प्रकारका शैली र तरिकाहरूमा परिवर्तन, सुधार र अनुसन्धान गर्ने काम पर्यटन उद्योगमा गरिन्छ (मैनाली, २०२४, पृ. २०) । पर्यटकहरुलाई सःशुल्क घुमाउन, बासस्थानको व्यवस्था गर्ने, यातायात मिलाउने, दृश्यावलोकन गराउने कार्य गर्ने क्षेत्रलाई पर्यटन भनिन्छ । यस्तो व्यवसायलाई पर्यटन व्यवसाय वा पर्यटन उद्योग भनिन्छ (खतिवडा, २०७४, पृ. १) । पर्यटन उद्योगबाट आर्थिक वृद्धि र आर्थिक विकासको सम्भावना प्रबल हुन्छ । देशको समग्र विकासमा पर्यटनले महत्वपूर्ण योगदान पुर्याएको हुन्छ । पर्यटन उद्योगले धेरै प्रकारका रोजगारीका अवसरहरु सिर्जना गर्दछ । देशका अमूल्य निधिहरू विश्व सम्पदा सूचीमा रहेका स्थानहरू सबैको संरक्षण र सुरक्षा गर्दछ । जसले गर्दा विश्वभरबाट पर्यटकहरू आकर्षित हुन्छन् र देशको कृति फैलिन्छ ।
बागमती प्रदेशमा पर्यटन :
बागमती प्रदेश प्राकृतिक सौन्दर्यतामा मन्त्रमुग्ध गराउने प्रदेश हो । यहाँ धार्मिक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक तथा जैविक विविधता रहेको छ । यस प्रदेशमा आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षक गर्नका लागि अनगिन्ती स्थलहरु रहेका छन् । हिमालदेखि समथर फाँट र सबै प्रकारका हावापानीहरु रहेको बागमती प्रदेशमा राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरु समेत रहेका छन् । चितवन, शिवपुरी, लाङटाङ र पर्सा राष्ट्रिय निकुञ्ज र गौरीशङ्कर संरक्षण क्षेत्रले पर्यटकहरुलाई जुनसुकै समयमा पनि आकर्षित गर्न सक्दछ । साहसिक पर्यटन अन्तर्गत र्याफ्टिङका लागि विजुली, सुनकोशी, भोटेकोशी, कायाकिङका लागि त्रिशुली तथा भोटेकोशी, पर्वतारोहणका लागि लाङटाङ, गणेश र रोल्वालिङ हिमाल, पदमार्गका लागि लाङटाङ उपत्यका गोसाईंकुण्ड पदमार्ग, नगरकोट–हेलम्बु पदमार्ग, कालिञ्चोक पदमार्ग, तामाङ सम्पदा पदमार्ग र लाङटाङ जुगल हिमाल पदमार्ग यसै प्रदेशमा रहेका छन् ।
बागमती प्रदेशको पहिलो आवधिक योजनामा १० वटा पर्यटकीय नमूना गन्तव्य घोषणा गरिएकोमा ९ वटाको गुरुयोजना तयार भई कार्यान्वयनमा रहेको र १० वटा हिलस्टेशनको डीपीआर तयार हुनुले नयाँ आशाका किरणहरु पलाएको छ । आवश्यक भौतिक पूर्वाधार, होटल, रेस्टुरेन्ट, ट्राभल तथा ट्रेकिङ एजेन्सीहरू, साउना, स्पा, डान्सबार, पव, डिस्कोयेक, नाइटक्लब जस्ता रात्रिकालीन व्यवसायका हिसाबले सङ्घीय राजधानीको प्रदेश भएकोले पनि अन्य प्रदेशको तुलनामा राम्रै रहेको देखिएको छ ।
सिङ्गो नेपालको मात्रै होइन कि बागमती प्रदेशको पर्यटन विकासका लागि सरकारी र गैरसरकारी स्तरबाट काम गर्न संस्थाहरुको विकास भएको देखिन्छ । कृषि क्षेत्रमा ह्रास आइरहेको र उद्योगधन्दा कलकारखानाहरुको पर्याप्तता नभएको विद्यमानतालाई स्वीकार्दा अब नेपालमा पर्यटनलाई उद्योगको रुपमा अघि बढाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ । जस्ले गर्दा राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान दिइ सुखी र खुसी नेपालीको सपना साकार हुन जान्छ । नेपालको धरातलीय स्वरुप, वनस्पतीय पारिस्थितिक प्रणाली, जैविक विविधता, विश्वप्रसिद्ध सम्पदाहरु, तीर्थस्थलहरु, धार्मिक, सामाजिक, रहनसहन, भेषभुषा, संस्कृति र संस्कारको अनुपम केन्द्रको रुपमा बागमती प्रदेश रहेको छ । जस्तोसुकै दुःखमा पनि पाहुनालाई स्वागत, सत्कार र आतिथ्यता गर्ने नेपालीहरुको संस्कार विश्वमा नै उदाहरणीय रहेको छ ।
प्रचूर सम्भावनाको क्षेत्र :
दिगो विकासका लक्ष्यहरु (२०१५–२०३०) ले जलवायु परिवर्तनलाई समाधान गर्ने विश्वव्यापी रूपरेखा तय गरेको छ । विश्वव्यापी रुपमा पर्यटन क्षेत्रलाई विकास र प्रवद्र्धन गर्नका लागि १७ लक्ष्य मध्ये ८, १२ र १४ मा समावेशी र दिगो आर्थिक वृद्धि, दिगो उपभोग र उत्पादन (एससीपी) र महासागर र सामुद्रिक स्रोतहरूको दिगो उपयोगलाई समावेश गरी दिगो पर्यटनलाई प्राथमिकताका साथ राखिएको देखिन्छ । यस लक्ष्यलाई हासिल गर्न सरकारको स्पष्ट कार्यान्वयन ढाँचा, पर्याप्त आर्थिकपोषण र लगानी आवश्यक पर्ने हुनाले समन्वयका साथ अघि बढ्न सकेको खण्डमा सुधारका सङ्केतहरु देखा पर्न सक्छ -UN Tourism, 2024, p. 1 साहसी खेल प्याराग्लाइडिङ, अल्ट्रालाइट, जीपलाइन, र्याफ्टिङका लागि बागमती प्रदेश पर्यटकीय गन्तव्य बन्न पुगेको देखिन्छ । नेपालमा मात्रै सञ्चालन हुने हात्तीपोलो अन्तर्राष्ट्रिय खेल (चितवन), विभिन्न जात्रा पर्वहरुले जो कोहीलाई पनि मन्त्रमुग्ध पार्दछ । नेपालको संविधान, २०७२ ले सङ्घीय शासन प्रणाली अन्तर्गत सातवटा प्रदेश संरचनामा निर्माण गरेको छ । त्यसमध्ये बागमती प्रदेश सङ्घीय राजधानी अन्तर्गत भौगोलिक क्षेत्रमा पर्ने भएकोले पर्यटन क्षेत्रको लागि सधैँ सबैको रोजाइमा पर्ने गरेको पाइन्छ ।
पहिलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा रहेकोले विदेशी पर्यटकहरु बागमती प्रदेशमा नै पहिलोपटक पाइला टेक्न पुग्दछन् । पोखरा र लुम्बिनीको अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । नेपाल एयरलाइन्स कर्पोरेशनको उडानलाई युरोपमा रोक लगाइएको छ । संसारका अन्य गन्तव्यहरुमा पनि नेपालको हवाई उडान अत्यन्तै कमजोर रहेको छ । अझ खासगरी विश्वका पर्यटकीय गन्तव्य क्षेत्रहरुमा नेपालको हवाई क्षेत्रलाई जोड्न सक्ने गरी नेपाल सरकारले समन्वय गर्नसक्दा यसले नेपालमा विदेशी पर्यटकहरु थप भित्रिने सम्भावना रहन्छ । पर्यटकहरुले अर्थोपार्जन गर्ने भन्दा पनि खर्च गरेर भरपूर मनोरञ्जन गर्ने उद्देश्य राखेका हुन्छन् । नेपालमा जे जति मनोरम प्रकृतिक स्थलहरु रहेका छन्, ती स्थलहरुले विश्वलाई नै आकर्षित गरेको छ । मानवनिर्मित ऐतिहासिक सम्पदाहरुका कारण पर्यटकहरु लोभिने स्थलमा नेपाल परेको छ । नेपालभित्रै पनि “पहिले देश अनि विदेश” भन्ने भावनाको विकास हुँदै गएको छ । पर्यटकहरुको बसाई अवधि लम्ब्याउन सकियो भने उनीहरुले थप खर्च गर्न सकदछन् । यसका लागि सडक मार्ग र आन्तरिक विमानस्थलहरुको स्तरोन्नति र विस्तार गर्नुपर्ने हुन्छ ।
विश्व सम्पदा सूचीमा रहेका नेपालका १० मध्ये ८ वटा सम्पादा बागमती प्रदेशमा नै रहेका छन् । बागमती प्रदेशको काठमाडौं उपत्यकाभित्रका पशुपतिनाथ मन्दिर, बौद्धस्तुपा, स्वयम्भूनाथ, काठमाडौं, पाटन र भक्तपुर दरवार स्क्वायर एवं चाँगुनारायण मन्दिर तथा चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचिमा सूचीकृत छन् । साथै, सगरमाथा राष्ट्रिय निकुञ्ज र लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत भएका छन् । यसैगरी बामती प्रदेशमा पर्ने पनौती, कीर्तिपुर, नुवाकोट, साँखु र खोकना तथा तिलौराकोट, मुस्ताङ, रामग्राम, गोरखा दरवार, रुरु क्षेत्र, तानसेन, सिञ्जा उपत्यका, रामजानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न नेपालले प्रस्ताव गरिसकेको छ ।
सामाजिक, धार्मिक, साँस्कृतिक र ऐतिहासिक विविधताले बागमती प्रदेशलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिने पर्याप्तता रहेको छ । साहसिक पर्यटन, पदयात्रा र पर्वतारोहणको उच्च सम्भावना रहेको बागमती प्रदेशमा आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याउन सक्ने गरी योजनावद्ध रुपमा कार्यक्रमहरु प्रस्तुत गर्न संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारबीच आपसी समन्वय हुन आवश्यक देखिएको छ ।
अन्तर्वार्ताको सङ्क्षेपीकरण :
प्रस्तुत अनुसन्धान कार्य सम्पन्न गर्नका लागि नेपाल पर्यटन बोर्डका बरिष्ठ जनसम्पर्क अधिकृत रोहिणी खनाल; राष्ट्रिय मानवअधिकार आयोगका मानवअधिकार अधिकृत द्वारिका कुमारी अधिकारी; ज्योतिष अमृत अधिकारी; नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका प्राज्ञ पवित्रा घर्तिमगर; श्री सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता शेरबहादुर कार्की; आमसञ्चारकर्मी पुण्य पौडेल; रत्न राज्यलक्ष्मी क्याम्पसका प्राध्यापक लोकनारायण चौधरी र अनुसन्धानकर्ता अविनभ आचार्यसँग प्रत्यक्ष कुराकानी गरिएको थियो । बागमती प्रदेशमा पर्यटन विकासका सन्दर्भमा खुला प्रश्नावलीका माध्यमबाट प्राप्त भएका तथ्यहरु निम्न रहेका छन्ः
* बागमती प्रदेश आफैमा भौगोलिक पूर्वाधार मिलेको प्रदेश भएकोले यस क्षेत्रमा पर्यटन विकासको प्रचूर सम्भावना रहेको छ । बागमती प्रदेशमा जडिबुटी, जलस्रोत र मनोरञ्जनात्मक हिमाली क्षेत्रहरु रहेकाले पर्यटकलाई पटकपटक लोभ्याइरहेको हुन्छ ।
* नेपालमा वार्षिक रुपमा करिब ३५ लाख पर्यटकलाई सेवा सुविधा दिन सक्ने सामथ्र्यता रहेको छ । पर्यटन सम्बन्धी नीति, रणनीति, योजना र कार्यक्रमहरु केन्द्रिकृत रुपमा सञ्चालन गर्नुपर्ने देखिएको छ ।
* स्थानीय सम्पदाहरु अतिक्रमणबाट बचाउन तिनीहरुको संरक्षणमा तीनै तहका सरकारहरुको प्राथमिकतामा पर्नुपर्ने हुन्छ । पर्यटकीय स्थलहरुको प्याकेजका कार्यक्रमहरुलाई प्राथमिकता दिनुपर्दछ ।
* पर्यटनमैत्री, वातावरणमैत्री र मानव अधिकारमैत्री रुपमा पर्यटन सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने हुन्छ । सूचनाको पहुँच, प्रचारप्रसार तथा सचेतनामूलक कार्यक्रमको आवश्यकता रहेको छ ।
* पर्यटन विज्ञ, तालिमप्राप्त र अनुभवी कर्मचारी तथा पर्यटन प्रहरीको सबै निकायमा व्यवस्था गर्नुपर्दछ । पुरस्कार एवं दण्डजरिवाना प्रणालीलाई नियमित, निष्पक्ष र पारदर्शी गर्नुपर्ने देखिन्छ ।
* देशभित्र र विश्वमा पर्यटकीय स्थलहरुको प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । पर्यटकीय संस्कृतिको विकास गर्नुपर्ने आवश्यकता छ । सडक र हवाई यातायातका पूर्वाधारहरुको पर्याप्तता हुन सक्यो भने बागमती प्रदेशमा पर्यटकहरु थामीनसक्नु हुनेछ । बागमती प्रदेशका ठुला टारहरु, सामरिक स्थलहरु, सुरुङमार्गहरु, केबलकार, मठमन्दिर, गुम्बा, चैत्य, मस्जिद, चर्च, जैन मन्दिर लगायतका सम्पदाहरुको भ्रमण गर्नैपर्ने देखिएको छ । भ्युटावरहरु सबै ठाउँमा आवश्यक देखिएको छैन ।
* बागमती प्रदेशले प्राकृतिक सौन्दर्यता र मौलिकतालाई विशेष प्राथमिकतामा राख्नुपर्दछ । खण्डहर राजमार्गहरुको स्तरोन्नति गर्नुपर्ने र अन्य भौतिक पूर्वाधारहरु दिगो रुपमा निर्माण गर्नुपर्ने हुन्छ । स्रोतसाधानको दुरुपयोग रोक्नुपर्दछ । पर्यटन विकासको लागि बिजुली, बाटोघाटो पर्याप्त हुनु जरुरी छ । होटलहरुको प्रभावकारी व्यवस्था र सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्छ । सोचको विकास र दूरदर्शितापूर्वक लागि पर्ने हो भने बागमती प्रदेशमा पर्यटन विकासले काँचुली फेर्ने देखिएको छ ।
चुनौती र समस्याहरू :
बागमती प्रदेशमा पर्यटन विकासका प्रमुख चुनौतीहरूमा भौतिक पूर्वाधारको अभाव, वातावरणीय क्षति र नीतिहरूको प्रभावकारी कार्यान्वयनको कमी पर्दछन् । स्थानीय समुदायको न्यून सहभागिता र दक्ष जनशक्तिको अभावले पर्यटन क्षेत्रको विकासलाई प्रभावित गरेको छ । सांस्कृतिक सम्पदाको संरक्षणमा कमजोरी र प्रचार–प्रसारको अपर्याप्तताले पनि चुनौती थपेका छन् । यी समस्याहरू समाधान गर्न पूर्वाधार सुधार, स्थानीय सहभागिता र प्रभावकारी नीति कार्यान्वयन आवश्यक छ । मुलुकमा पर्यटकहरू आउने क्रम बढेता पनि उनीहरूको सरदर बसाइ १३.२ दिन मात्र र दैनिक औसत खर्च ४०.५ अमेरिकी डलर मात्र रहेको छ । बागमती प्रदेशको पर्यटकीय अवस्थाको तथ्याङ्क अभिलेखीकरण गर्नु आवश्यक देखिएको छ । गुणस्तरीय पर्यटकीय पूर्वाधारहरू अपुग रहेको, नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र विकास हुन नसकेको, निजी क्षेत्र र सरकारबिच आवश्यक सहकार्य र समन्वयको अभाव रहेको, सम्भाव्य बनक्षेत्रमा पर्यटकीय पूर्वाधार विस्तार गर्न जग्गा प्राप्तिमा समस्या आदि पर्यटन क्षेत्रका मुख्य समस्याहरू हुन् । पर्यटकहरूको औसत बसाइ लम्ब्याउने र औसत दैनिक खर्च बढाउन आवश्यक पर्यटकीय बस्तु तथा सेवाहरू वृद्धि गर्नुपर्ने चुनौती रहेको छ ।
बिश्लेषण :
नेपालमा सांस्कृतिक, धार्मिक, व्यापारिक, मनोरञ्जन एवं साहसिक पर्यटन, पर्वतारोण तथा पदयात्राका लागि मुख्यतः भारत, चीन, पूर्वी तथा दक्षिण एसियाली देश तथा अमेरिका, युरोप लगायतका पश्चिमी मुलुकहरूबाट पर्यटकहरू आउने गरेको देखिएको छ । विदेशी मुद्रा आर्जन तथा रोजगारी सिर्जनाका लागि पर्यटन क्षेत्र स्थिर र भरपर्दो स्रोतको रूपमा रहेको देखिन्छ । आफ्नो आनन्द, मनोरञ्जन, अध्ययन वा अनुभवका लागि मनग्य पैसा खर्च गरेर पर्यटकहरु घुम्नका लागि निस्किएका हुन्छन् । यातायात, स्थान विशेष र सेवा सुविधाले पर्यटकहरु आकर्षिक वा विकर्षित हुने गर्दछन् । नेपालमा गगनचुम्बी महल, डाँडाकाँडाका भ्यु टावर बनाउनु भन्दा पनि भएका सम्पदाहरुको उचित संरक्षण र प्रवद्र्धन गर्नुपर्दछ । मानसिक शान्ति प्राप्त गर्नका लािग बागमती प्रदेशस सबैभन्दा उत्तम स्थलको रुपमा रहेको छ । विदेशी पर्यटकको औसत नेपाल बसाई दिनलाई १३ दिनबाट बढाउने खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । विश्वका धेरै देशहरुबाट पर्यटक नेपाल आउँदा नेपालीहरुले ‘टुर गाइड’ भएर पनि निकै राम्रो आम्दानी गर्ने गरेका छन् ।
नेपालको प्रामाणिक समय निर्धारण गरिएको गौरीशङ्कर हिमाल (दोलखा), पाँचपोखरी (सिन्धुपाल्चोक), रुविभ्याली (धादिङ), मकवानपुरगढी, चित्लाङ–पालुङ (मकवानपुर), सिन्धुलीगढी, धुलिखेल (काभ्रेपलाञ्चोक), गैँडाहात्ती (चितवन), गोसाइँकुण्ड (रसुवा), देवघाट (नुवाकोट) लाई बागमती प्रदेशको पर्यटकीय रोजाइमा पर्ने गरेका छन् । सुनकोशी, तामाकोशी, लिखु, भोटेकोशी, इन्द्रावती, त्रिशुली, बागमती नदी प्रकृतिले दिएको बरदान नै हो । यस क्षेत्रमा सुन्दर झरनाहरु पनि रहेका छन् । प्रकृतिले आफै सुन्दर कलाकृतिमा बागमती प्रदेशलाई सजाएकी छिन् । राष्ट्रिय योजना आयोग तथा बागमती प्रदेश योजना आयोगले प्रभावकारी रूपमा अन्तरनीतिगत तथा अन्तरनिकायगत समन्वय गर्नुपर्ने हुन्छ । साथै, पर्यटन नीति र योजनाको क्षेत्रगत नीति अन्तर्गत पर्ने पर्यटन नीति बीच तादात्म्य कायम गर्दै प्राथमिकताक्रम निर्धारण गर्न सकेको खण्डमा बागमती प्रदेश पर्यटन क्षेत्रका लागि नेपालकै उदाहरणीय बन्न जानेछ ।
निष्कर्ष :
नेपालमा राजनीतिक स्थायित्व हुन सक्यो भने बागमती प्रदेशमा पर्यटन क्षेत्रले काँचुली फेर्ने निश्चित छ । भौतिक पूर्वाधारहरु दिगो रुपमा निर्माण तथा पर्यटकहरुलाई सुरक्षित रुपमा मनोरञ्जन, बासस्थान र आतिथ्यताका लागि पर्याप्तता हुन सक्यो भने सुरक्षित र भरपर्दो गन्तव्यको रुपमा नेपाल पर्न जाने देखिन्छ । नेपालमा आएका पर्यटकहरुलाई बागमती प्रदेशमा घुमघाम गर्नैपर्ने अवस्था सिर्जना गर्न संघ, प्रदेश र स्थानीय सरकार तथा सरकारी र गैरसरकारी संघसंस्थाहरुसँग समन्वयात्मक ढङ्गले अघि बढ्नुपर्ने देखिन्छ । ग्रामीण पर्यटन, शहरी पर्यटन, हिमाली पर्यटन, पहाडी पर्यटन, तराई पर्यटन, प्राकृतिक पर्यटन, खेल पर्यटन, साहसी पर्यटन, जल पर्यटनका विकासका लागि कानुन, नीति, योजना र कार्यक्रमहरु केन्द्रिकृत रुपमा ल्याउन सकियो भने प्रदेश र स्थानीय स्तरमा कार्यान्वयन गर्न सहज हुन्छ । पर्यटन उद्योगलाई अघि बढनउन स्वदेशी र विदेशी लगानी भित्र्याउनु पर्ने हुन्छ । नेपालमा सबैभन्दा सम्भावनाको क्षेत्र पर्यटन नै भएकोले प्रचारप्रसार गर्नु जरुरी छ । दिगो र दिर्घकालीन रुपमा बागमती प्रदेशमा पर्यटन विकास गर्न होमस्टे, स्थानीय सीप, प्रविधि र साधनलाई प्राथमिकता दिनुपर्छ ।बागमती प्रदेशको सुन्दर भविष्य र सुसम्पन्नता बनाउने पर्यटन क्षेत्रलाई सङ्घीय प्रणालीभित्र रहेका तीनैतहको शासकीय संरचनालाई बलियो बनाउनु जरुरी छ ।
सन्दर्भ सामग्री :
खतिवडा,दधिराम(२०७४जेठ१५),नेपालमा पर्यटन विकासको सम्भावना, https://www.makalukhabar.com/ 2017.05.441708787.
नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना सन् २०१६–२०२५
नेपालको संविधान (२०७२), कानुन किताव व्यवस्था समिति ।
पर्यटन नीति, २०६५
पर्यटन रणनीति, २०१६–२०२५
बागमती प्रदेश नीति तथा योजना आयोग (२०८१ असार), दोस्रो आवधिक योजना (आ.व. २०८१/८२–२०८५/८६), बागमती प्रदेश सरकार ।
मैनाली, श्यामप्रसाद (२०२४), हवाई यातायात, पर्यटन विकास र आर्थिक समृद्धि, CAAN Souvenir, २६, १९–२३ ।
राष्ट्रिय योजना आयोग (२०८१ जेठ), सोह्रौँ योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६), नेपाल सरकार ।
Camilleri, M.A. (2018). The Tourism Industry: An Overview. In: Travel Marketing, Tourism
Economics and the Airline Product. Tourism, Hospitality & Event Management.
Chapter 1, 3-27. https://doi.org/10.1007/978-3-319-49849-2_1
DNPWC (२०७७), राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, http://www.dnpwc.gov.np/ne/
UN Tourism (2024). Tourism in the 2030 Agenda. https://www.unwto.org/tourism-in-2030- agenda
(त्रिवि, रत्न राज्यलक्ष्मी क्याम्पस, राजनीतिशास्त्र विभागमा कार्यरत लेखक डा.खरेलले बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रलाय, सञ्चार रजिष्ट्रारको कार्यालयबाट सञ्चालित लेखन तथा प्रसारणवृत्ति प्रयोजनका लागि सम्पन्न गर्नुभएको लघु अनुसन्धानको सङ्क्षेप)
टिप्पणीहरू