खतराको डिलमा पुगेकाहरुको खुलासा

खतराको डिलमा पुगेकाहरुको खुलासा

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन ठ्याक्कै दुई महिना बाँकी छ । दुईमध्ये डेपुटी गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको संयोजकत्वमा बन्ने तीन सदस्यीय समितिले सिफारिस गर्नुपर्ने हुन्छ । त्यसका लागि ६ महिनादेखि निलम ढुंगाना तिम्सिनाले प्रचार थालेको देखिन्छ ।

उनले प्रचारमा ल्याएको व्यक्तिगत पेज निलम तिम्सिना डटकममा ‘सेलिब्रिटी’ स्टाइलका भिडियोसहित फोटाहरू राखिएका छन् । राजा वीरेन्द्रको पालामा प्राप्त पदकदेखि लेख र कतिपय समाचारसमेत त्यसमा समेटिएका छन् । आगामी गभर्नरमा महिला भन्दै छोराले विदेशबाट आमाको पक्षमा क्याम्पेन चलाएका छन् । अर्थ मन्त्रालयले तयार पार्ने धेरैवटा वित्त नीति ल्याएको दाबीसमेत गरिएको छ । जबकि बैंकले मौद्रिक नीति बनाउँछ भने अर्थ मन्त्रालयले वित्त नीति । ढुंगानाकी छोरी अमेरिका र छोरा जापानमा बस्छन् ।

नेपालको एउटा व्यावसायिक घरानाका साझेदारसँग डेपुटी ढुंगानाले हालै व्यक्त गरेको धारणाले वित्तीय क्षेत्र तरंगित भएको अवस्था छ । समस्याग्रस्त कर्णाली विकास बैंकलाई केन्द्रीय बैंकले हालै ‘टेकओभर’ गरेको विषयलाई आफ्नो निकै ठूलो उपलब्धी भन्दै उनले गभर्नर अधिकारी अवकाशको मुखमा रहेकाले राष्ट्र बैंक ‘बोल्ड डिसिजन’ गर्न चुकेको बताएकी थिइन् । ६ महिनाअघिसम्म आफू मातहतको सुपरिवेक्षण विभागले वित्तीय अवस्था राम्रै रहेको प्रतिवेदन दिएको बैंक एकाएक समस्याग्रस्त घोषणा हुनुलाई उपलब्धि ठान्नु नै डेपुटीको ‘सिष्टम’ फेलियर हुनुको प्रमाण हो भनेर कतिपय बैंकर बताउँछन् ।

राष्ट्र बैंकको सञ्चालक समितिमा यतिखेर सबै केन्द्रीय बैंकबाट अवकाशप्राप्त कार्यकारी निर्देशक र केही समयअघि बैंक छाडेका कर्मचारी छन् । गभर्नर, दुई जना डेपुटी र अन्य तीन जना बैंकबाट पेन्सन बुझ्ने कार्यकारी निर्देशक बोर्ड सदस्य हुन् । चिन्तामणि शिवाकोटी पूर्व डेपुटी थिए भने रवीन्द्र पाण्डे र शंकर आचार्य अवकाशप्राप्त कार्यकारी निर्देशक । अर्थसचिव डा. रामप्रसाद घिमिरेले वि.सं. ५० को दशकमै बैंक सेवाबाट अवकाश पाएका थिए । यतिखेर सचिवको हैसियतमा बैंकको पदेन सञ्चालक छन् ।

निलमले केही दिनअगाडि ‘तीन वटा ‘क’ वर्गका वाणिज्य बैंक, तीन वटा ‘ख’ वर्गका विकास बैंक र तीन वटा ‘ग’ वर्गका वित्त कम्पनी कर्णाली विकास बैंकजस्तै समस्याग्रस्त घोषणा हुने लाइनमा रहेको बताएकी थिइन् । उनको भनाइको अर्थ चैतमा आफू गभर्नर नियुक्त हुन पाए अमेरिकामा डोनाल्ड ट्रम्पले झैँ सबै अप्रिय निर्णय उल्टाउने भन्ने नै हो । 

निलमले नाम उल्लेख गरेका ती संकटापन्न बैंक तथा वित्तीय संस्था कुन होलान् त ! स्रोत भन्छ, ‘एनआईसी, कुमारी, नारायणी डेभलपमेन्ट र वित्त कम्पनीमा पोखरा फाइनान्स, जानकी फाइनान्स आदि छन् ।’ केन्द्रीय बैंकका जिम्मेवार अधिकारीले यस्तो संवेदनशील विषयलाई टुंगोमा पुर्‍याउने कि ‘स्टन्टबाजी’ मात्रै गर्ने ? प्रश्न उठिरहेकै छ । 

चार वर्षअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ढुंगानालाई नियुक्त गर्दाको साक्षी गभर्नर महाप्रसाद अधिकारी पनि हुन् । त्यतिबेला शीतल निवासको आग्रहलाई लत्याउन नमिल्ने भएपछि प्रधानमन्त्रीले भन्नुभएको थियो, ‘जिम्मेवारी निर्वाह गर्नसक्ने ल्याकतकी त होइनन् ।’ अहिले आफू प्रधानमन्त्री भएको बेला रिक्त हुन लागेको गभर्नरमा बाले कुन ‘ल्याकत’ वालालाई रोज्नुहोला ? त्यो हेर्न ६० दिन बाँकी छ । योजना आयोगमा लगिएका डा. प्रकाशकुमार श्रेष्ठ, हालै अवकाशप्राप्त कार्यकारी निर्देशक तथा सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालका सहोदर दाजु देवकुमार ढकालसँगै पूर्व अर्थसचिव रामेश्वर खनालको ‘ल्याकत’ पनि यतिखेर चर्चामा छ । सुषुप्त अवस्थामा रहेका झापाली बमबहादुर मिश्रले चार वर्षअघिकै ‘कार्ड’ फ्याँकेको अवस्थामा ‘वरिष्ठ म्याडम’ लाई सिफारिस समितिले पहिलो राउण्डमै रिंग आउट गर्नसक्ने सम्भावना पनि उत्तिकै रहेको बताइन्छ ।

 

टिप्पणीहरू