पुलिसले कार्यकर्ता कुटेको भन्दै एमालेका विद्यार्थी क्रुद्ध

पुलिसले कार्यकर्ता कुटेको भन्दै एमालेका विद्यार्थी क्रुद्ध

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उपाध्यक्ष प्रकाश वयकमाथि निर्घात कुटपिट भएको भन्दै नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ । 

आज विज्ञप्ति जारी गर्दै अध्यक्ष समिक बडालले घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेका छन् । उनका अनुसार हिजो साँझ ७ गते नेपाल प्रहरीको प्रतिनिधि हुँ भनेर कल गर्दै वयकलाई अस्कल होस्टल बाहिर सीएसआईटी फर्म भर्नका निम्ति बोलाएर कुटिएको हो । 

होस्टल बाहिर पुगेपछि सोधपुछ गर्नु छ भन्दै हत्कडी लगाएर दरबारमार्ग वृत्तको प्रहरीले टोखा लगी विभिन्न आरोप लगाएर मुद्दा चलान गर्ने धम्की दिँदै कुटपिट गरेको अनेरास्ववियुको दाबी छ । 

‘बिना कसु्र अस्कल क्याम्पस मदन भण्डारी दरबारमार्ग वृत्तको प्रहरीले टोखा लगेर विभिन्न आरोप लगाएर मुद्दा चलान गर्छु भनी धम्की दिँदै नाक, मुख र आँखा सुनिने गरी कुटपिट गरी वीर अस्पतालमा चेकजाँच गराएर राति २ बजे घटनालाई बुझाएको घटनाप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ । 

प्रहरीको यस किसिमको गैरकानूनी तवरको धरपकड र ज्यादती निन्दनीय रहेको भन्दै अनेरास्ववियुले तत्काल घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । अन्यथा, कडाभन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।
 

टिप्पणीहरू