चितवनमा हत्या, बबरमहलमा प्रदर्शन

चितवनमा हत्या, बबरमहलमा प्रदर्शन

चितवन राष्ट्रिय निकुञ्जमा भएको जंगली हात्ती (मकुना) हत्याको विरोधमा पशु अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् । पशु कल्याण संघ, नेपालको अगुवाईमा राजधानीको बबरमहलस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअगाडि आन्दोलन गरिएको हो । 

सो क्रममा आन्दोलनकारीहरुले ‘निर्दोष मकुनामाथि ताकेर चलायो गोली, सरकार हुँ भन्नेले ठीकै हो भन्दै मिलायो बोली । रक्षक नै भक्षक भएर आयो, घाँटीमै गोली ताकेर चलायो’,‘राष्ट्रिय निकुञ्ज मकुना, रोनाल्डोहरुकै हो, कसैको निजी बिर्ता होइन्’,‘मकुनाजस्ता निर्दोष जनावरको हत्या कहिलेसम्म ?’, लगायतका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए।

जंगली हात्तीले गाउँबस्तीमा पसेर स्थानीयलाई त्रसित बनाएपछि सुरक्षाकर्मीले निकुञ्जमा गस्ती गर्न थालेका छन् । गत माघ २३ गते गस्तीका क्रममा मकुनाले आक्रमण गर्न खोजेपछि तीन राउण्ड चेतावनीसहित हवाई फायर गरिएको हो । घाँटीमा एउटा गोली लागेको मकुनाको घटनास्थलमै निधन भएपछि घटनाको विस्तृत विवरण तथा कारण पहिचानका लागि छानबिन समिति गठन गरिएको छ ।

टिप्पणीहरू