सोत्तर पारिँदै सिन्धुलीका सामुदायिक वन

सोत्तर पारिँदै सिन्धुलीका सामुदायिक वन

‘हरियो वन, नेपालको धन’ भन्ने नारा कुनै समय निकै प्रख्यात थियो । वनजंगल नेपालको गौरवसँग जोडिएको विषय थियो । तर, पछिल्लो समय विकासको नाममा विनाशले प्राथमिकता पाएको भन्न थालिएको छ । 

जताततै गरिएको वनजंगल फडानीले डाँडाकाँडा नाङ्गो हुन थालेको छ । वन संरक्षणमा सरोकारवाला निकायले चासो नदेखाउँदा केही वर्षमै वन सकिने चिन्ता पनि बढेको छ । 

सिन्धुलीको तीनपाटन गाउँपालिकाभित्रको सामुदायिक वनमा धमाधम रुख कटान भइरहेको छ । डिभिजन वन कार्यालय, सिन्धुलीको मिलेमतोमा सामुदायिक वन रित्याउने कार्य भएको स्थानीयको आरोप छ । वडा नम्बर–९ मा पर्ने रिठ्ठे सामुदायिक वन र सगरमाथा सामुदायिक वनमा जथाभावी रुख काटिएको बताइन्छ । वन कार्यालयले सुकेका, ढलेका, धोद्रा, वयस्क र बूढागरी ६२ वटा रुख काट्न अनुमति दिएको थियो । 

तर, कार्यालयकै कर्मचारी, वन समितिका पदाधिकारी र ठेकेदारको मिलेमतोमा छानेर हरिया रुख काटिएको दाबी छ । ६२ वटा भनिएकोमा ठूलो संख्यामा रुख काटिएको स्थानीय बताउँछन् । उनीहरुका अनुसार ठेकेदारको रोजाइमा वन कार्यालयका कर्मचारीले कटानका लागि रुखमा टाँचा लगाइदिएका हुन् । 

रुख काटिएपछि जंगलका केही भाग खाली देखिएको छ । हरियो वनलाई सोत्तर बनाइएपछि स्थानीयले विरोध जनाएका छन् । काटिएका अधिकांश रुख राम्रा  भएको स्थानीयको भनाइ छ ।

एक स्थानीय भन्छन्,‘सामुदायिक वन पुरै सखाप पारेका छन् । राम्रा रुख छानिछानि काटिएको छ । धोद्रा र नराम्रा रुख ठेकेदारले लग्दैनन् । यसरी त जंगल नै खाली हुने अवस्था सिर्जना भएको छ ।’ गत वर्ष पनि २५ वटा रुख काट्ने भनेर बढी काटिएको स्थानीयको ठोकुवा छ । हरियो रुख काटेकोबारे कसैलाई थाहा नहोस् भनेर उनीहरुले रुखका हाँगाहरु जंगलमै जलाउने गरेको पनि आरोप छ ।

रुख निकाल्न खनिएको ट्रयाक जेसिबीको प्रयोगगरी पुर्ने काम शुरु भएको बताइन्छ । स्रोतका अनुसार अहिलेको बजार मूल्यमा दुई करोड रुपैयाँभन्दा बढीको रुख कटान गरिएको छ । वन कार्यालयका कर्मचारीले आफ्नो हिसाबकिताब मिलाएपछि ढुवानी थाल्ने स्थानीयको बुझाई छ । जंगल फडानीको असर पालिकामा देखिन थालिसकेको छ । 

कतिपय स्थानमा पानीको मुहान सुकेको छ । पानी अभावमा हाहाकार हुने अवस्था बनेपछि स्थानीय चिन्तित देखिन्छन् । तर, यस विषयमा जनप्रतिनिधिहरुले मौनता साँधेका छन् । उनीहरुको मौनतापछि स्थानीयले विभिन्न आशंका गर्न थालेका हुन् । वन फडानीमा जनप्रतिनिधिको समेत हात भएको हुनसक्ने धेरैले अनुमान गरेका छन् ।

सिन्धुलीको तीनपाटनमा मात्र नभई अन्य पालिकामा समेत वनजंगल मास्न थालिएको छ । वन कार्यालयको सहमतिमा जथाभावी रुख कटान भइरहेको छ । 

प्रक्रिया पूरा गरिएको छ : गाउँपालिका

गाउँपालिका उपाध्यक्ष धनबहादुर पुलामी (अशोक) ले सम्पूर्ण प्रक्रिया पूरा गरेर रुख कटान गरिएको बताए । काट्ने क्रममा गाउँपालिकाले पनि निगरानी गरेको उनको भनाइ छ । जनआस्थासँगको कुराकानीमा भने,‘डिभिजन वन कार्यालयले सिस्टम पुर्याएर काटेको हो । कागजपत्र सबै छ । गाउँपालिकाले पनि रुख कटानको अनुगमन गरेको छ ।’

‘फोर–डी’ सिद्धान्तबमोजिम काटिएको हो : कार्यालय

डिभिजन वन कार्यालय, सिन्धुलीका डिभिजन वन अधिकृत रामकुमार भण्डारीले कार्ययोजनाअनुसार नै वनका रुख काटिएको दाबी गरे । उनका अनुसार वन कार्यालयले वनको दिगो व्यवस्थापनका लागि कार्ययोजना बनाएको छ । जसमा काठ संकलन, काँटछाँटलगायतका कार्ययोजना समेटिएको उनले जानकारी दिए । 

‘फोर–डी’ सिद्धान्तअनुसार वनजंगलको व्यवस्थापन गरिने भण्डारीको जिकिर छ । मरेको, मर्न लागेको, किरा लागेको, खोक्रो भइसकेको रुख काटिने उनले बताए । ‘वनमा भएका रुखहरु जम्मै बूढो भइसकेको छ । भुरा रुख भेटिनै छोडिसकेको छ । त्यसैले दिगो वन व्यवस्थापन कार्ययोजना बनाएका छौं । त्यहीअनुसार नै काठ निकाल्ने गरेका छौं । रुख बाक्लो भएको ठाउँमा नयाँ रुख पलाउँदैन’,उनले भने,‘त्यसैले त्यस्ता रुखहरु काट्ने गरेका छौं । वनको दिगो व्यवस्थापनमा अहिले नै ध्यान दिएन् भने हामीले भावी पुस्तालाई के हस्तान्तरण गर्ने ?’

सामुदायिक रुख काट्ने अधिकार वन कार्यालयलाई नभएको अधिकृत भण्डारी बताउँछन् । समुदायले नै रुख काट्ने उनको जिकिर छ । कार्यालयका कर्मचारीले काट्न मिल्ने रुख चिन्ह लगाइदिने र समुदायले प्रयोग गरेर बचेको रुख बेचिने उनले जानकारी दिए । बेच्दा राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गर्नैपर्ने उनको भनाई छ ।

‘सामुदायिक वनको रुख डिभिजन वन कार्यालयले काट्ने होइन । समुदायले नै काटछन् । कार्यालयका अधिकारीहरुले गएर रुख छनौट गरिदिन्छन् । त्यसपछि कुनकुन काटियो ? भनेर अनुगमन पनि गरिन्छ । रुख काटेपछि समुदायमा आवश्यक पर्नेलाई दिइन्छ । बाँकीे राष्ट्रिय पत्रिकामा सूचना निकालेर प्रतिस्पर्धामा बिक्री गरिन्छ । त्यसको १० प्रतिशत प्रदेश सरकार र १० प्रतिशत स्थानीय सरकारलाई बुझाउनुपर्छ । त्यसैगरी, २५ प्रतिशत वन कार्यालय आपूर्ति समितिमा हुन्छ’,उनले भने ।

टिप्पणीहरू