बाबुरामको शपथग्रहणमा बबाल

बाबुरामको शपथग्रहणमा बबाल

डाक्टर बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को शपथ ग्रहण समारोहमा हो–हल्ला भएको छ । प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शपथ कार्यक्रम एक व्यक्तिले बिथोल्न खोजेको बताइन्छ । 

उक्त पार्टीको महाधिवेशनले अध्यक्षमा डा. बाबुरामसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । साँझ प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा नवनिर्वाचितहरुको शपथ ग्रहण कार्यक्रम चल्दै थियो । त्यत्तिकैमा एक व्यक्ति मञ्चमा पुगेर शपथ खुवाउन लागेका बाबुरामसँग बम्किन थाल्छन् । डा.ले ‘बस्नुस् बस्नुस्’ भन्दै सम्झाउँदा पनि ती व्यक्ति मान्दैनन् । 

कार्यक्रममा लफडा हुने देखिएपछि शपथग्रहण गर्न ठिक्क परेकी नवनिर्वाचित उपाध्यक्ष तथा बाबुरामकी छोरी मानुषी यमी भट्टराईले सम्झाउन खोजेको देखिन्छ । त्यसपछि केही हच्केका ती व्यक्ति पुनः मञ्चमा घुसेर बाबुरामतिर औँलो ठड्याउँदै कराउन थाल्छन् । बाबुरामले ‘तपाईंले बेइज्जत नगर्नुस्, प्लिज बस्नुस्’ भनेकाले सायद उनले केही कुरामा बेइज्जत भएको गुनासो गरेको हुनुपर्छ । 

त्यसपछि अर्कोतिर लागेका उनलाई माथि मञ्चबाट बाबुरामले ‘बस्नुस् न यार कस्तो मान्छे तपाईं’ भन्छन् । तर, ती व्यक्ति आफ्नै सुरमा कराइरहन्छन् । त्यसपछि आक्रोशित हुँदै बाबुरामले कार्यकर्तालाई निर्देशन दिन्छन्, ‘उहाँलाई उता लैजानुस् !’ मञ्चबाट बाहिर निस्कन खोजेका डाक्टरलाई छोरी तथा उपाध्यक्ष मानुषीले केही सम्झाएपछि हँ भन्दै रोकिन्छन् । अनि दोहोर्याएर भन्छन्, ‘उहाँलाई बाहिर लैजानुस् ।’ 

त्यसपछि होहल्लाबीच शपथ ग्रहण शुरु हुन्छ । सामाजिक सञ्जालमा आएको उक्त भिडियोमा किन र के कारणले लफडा परेको हो भन्ने चैं खुलेको छैन ।

टिप्पणीहरू