शंकरलाई रोक्न पनि विद्याको सम्भावना

एकातिर अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारीका रुपमा प्रचारित महासचिव शंकर पोखरेलले ‘नेताहरूको टाउको गनेर होइन कार्यकर्ताको भावना बुझेर’ चल्नुपर्ने मत राख्न थाल्नु, अर्कोतिर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा फर्काउन भित्रभित्र सक्रिय रहनु, अनि अध्यक्ष ओलीचाहिँ शंकरले पार्टी चलाउन नसकेको निश्कर्षमा पुग्नु– पूर्व राष्ट्रपतिको सम्भावित राजनीतिक पुनरागमनलाई लिएर अनेक टिप्पणी भैरहँदा एमालेमा भित्रभित्रै विकसित यी घटनाक्रमले दिने सन्देश के होला ?
जनताको बहुदलीय जनवाद (जबज)को व्याख्याता भनिएका र पछिलो समय दुई दलीय प्रणालीको वकालत गरिरहेका शंकर पार्टी राजनीतिमा प्रतिस्पर्धाबाट स्थापित भएका होइनन् । अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन हुँदै अनेरास्ववियुको अध्यक्ष र पछिल्लो पटक पार्टी महासचिवको जिम्मेवारी प्राप्त गर्दा उनले श्रेष्ठता हासिल गर्नुपरेन । यद्यपि ओलीको खास विश्वासपात्रको परिचय बनाएका उनलाई भावी अध्यक्षको रुपमा समेत एकथरीले ‘प्रोजेक्सन’ गरिरहेका छन् । जबकि एमालेको मौजुदा नेतृत्वपंक्तिमा शंकरभन्दा माथि ९ जना पदाधिकारी छन् ।
समाचार स्रोतका अनुसार यो स्थितिमा पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सक्रिय गराएर शंकरलाई छेक्ने केही नेताको रणनीति छ । भनिंदैछ, अध्यक्ष ओली, महासचिव शंकर र उपमहासचिव विष्णु रिमालबाहेक यसमा अरू सबै पदाधिकारी सहमत छन् । वरिष्ठ उपाध्यक्ष आफैँ विद्यालाई ओलीको ठाउँमा जिम्मेवारी दिएर पार्टीमा भित्र्याउन सक्रिय रहनुले एमालेको आन्तरिक राजनीतिमा नयाँ ध्रुवीकरणको सम्भावना बढाएको स्रोतको दाबी छ ।
उक्त स्रोतको दाबीलाई पुष्टि गर्नेगरी पूर्व राष्ट्रपति निकटहरूले पनि अध्यक्ष ओलीसँग अन्तरविरोध चर्काएर नभई सहमतिमै अघि बढ्ने विद्याको रणनीति सुनाएको छ । बताइएअनुसार वरिष्ठ उपाध्यक्ष बनेर पार्टीमा फर्किन विद्या सहमत हुनसक्ने र स्वागतका लागि ओली तयार हुने स्थिति छ । ‘बाहिर चर्चा गरिएजस्तो उहाँहरूबीच असमझदारी छैन, मिलेरै जानुपर्छ भन्नेमा हुनुहुन्छ’, स्रोतले खुलाउँदै भन्यो, ‘पूर्व राष्ट्रपतिलाई वरिष्ठ उपाध्यक्षसहित पार्टी हाँक्ने जिम्मा दिएर अध्यक्षले सरकार चलाउने पनि हुनसक्छ ।’
पूर्वराष्ट्रपति भण्डारीका दुईवटा विकल्पबारे यसअघि चर्चा हुने गथ्र्यो । सकभर ओलीसँग मिलेरै पार्टीको नेतृत्व लिने कुरालाई पहिलो विकल्पमा राखेकी उनी उस्तै परे चुनाव लड्नसमेत तयार भैसकेको भनिएको थियो । भेटका लागि भंगाल पुग्ने नेता–कार्यकर्तालाई पनि त्यस्तै सन्देश दिइन्थ्यो । यसमा स्रोतले खुलायो, ‘अहिले पार्टीभित्र र बाहिर कस्तो प्रतिक्रिया आउँछ भनेर बुझ्ने काम भैरहेको छ । तर, घुमाइफिराइ उहाँहरूको सल्लाहचाहिँ पार्टी र सरकार मिलेर चलाउने भन्ने नै हो । अहिले प्रतिक्रिया बुझ्न लगाएर ‘लौ त नि लौ’ भन्ने पार्ने अनि ओलीलाई पनि बिदा नगरेजस्तो देखाउने रणनीति छ ।’
महासचिव शंकरलाई रोक्न विद्यालाई ल्याउनुपर्छ भन्ने मनोविज्ञानले यसमा जति काम गरेको छ, अहिले ओलीको विकल्प खोज्नु हुँदैन भन्ने मत पनि उत्तिकै प्रभावी देखिन्छ । नेकपा विभाजनपछि ठूलै संकटमा पुगेको पार्टीलाई ब्युँताएर अहिलेको अवस्थामा ल्याउनुको एकलौटी श्रेय ओलीलाई दिने एमालेको ठूलो पंक्ति पूर्वराष्ट्रपतिले पार्टी हाँक्न नसक्ने ठहरमा छ । प्रचण्ड र माधव नेपालजस्ता चतुर खेलाडीलाई समेत ‘थाङ्नामा सुताउने’ ओलीसँग च्यालेञ्ज गरेर अध्यक्ष हुन विद्यालाई सहज देखिँदैन पनि । त्यसैले एमालेभित्रको त्यो समूह जो शंकरलाई छेक्न चाहन्छ, विद्यालाई वरिष्ठ उपाध्यक्क्ष बनाएर पार्टीमा भित्र्याउने हतारोमा रहेको प्रष्टै बुझिन्छ । ‘ओलीलाई च्यालेञ्ज गरेर विद्या आउन सक्नुहुन्न । किनभने सामदाम, दण्डभेद प्रयोग गर्नमा ओली सयमा ९० हुन् भने उहाँ १० मात्र हो’, समाचार स्रोत भन्छ ।
एमाले राजनीतिलाई नजिकबाट बुझेका स्वतन्त्र विश्लेषकहरू एमालेमा विद्याको सम्भावित आगमन र ओलीको रणनीतिलाई मुख्यतः चार वटा पक्षसँग जोडेर हेर्नुपर्ने बताउँछन् । पहिलो – महासचिव शंकर फ्याक्टर । अध्यक्ष ओलीले उनलाई नै अगाडि बढाउने हो भने महासचिवभन्दा माथिका १० जनाले एमालेको नेतृत्वबाट बिदा लिनुपर्ने हुन्छ । वरिष्ठ उपाध्यक्ष ईश्वर, उपाध्यक्ष युवराज ज्ञवाली, विष्णु पौडेल, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्यहरू शंकरको मातहत बस्दैनन् । कि ७० वर्ष उमेर हद वा अन्य कुनै विधिबाट नेताहरूको एउटा तह नै बिदा हुनुपर्यो नत्र, फलानो रहँदा म चैं किन नबस्ने भन्ने स्वभाविक प्रश्न उठ्छ । यो अवस्थामा शंकरलाई प्रमोट गर्ने अध्यक्षको कदमलाई ‘चेक’ दिन पूर्व राष्ट्रपति भण्डारी एक मात्र विकल्प हो भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ ।
दोस्रो– पूर्वराष्ट्रपतिसँग प्रतिस्पर्धा होइन, व्यवस्थापन गरेर जानुपर्ने ओलीको आफ्नै बाध्यता छ । किनभने असन्तुष्टहरूको ठूलो पंक्तिले विद्यालाई नेतृत्व लिन दबाब दिइरहेको उनलाई थाहा छ । यो अवस्थामा शंकरलाई बोकेर चुनौती स्वीकार्ने कि विद्याको व्यवस्थापन गरेर जाने ? भन्ने विकल्प आउँदा ओलीले सहज विकल्प नै रोज्ने पक्का छ । पार्टीका नेतासँगको एउटा भेटमा ‘शंकरजीलाई पार्टी चलाउन छोडिदिएको त हो तर सक्नुभएन, उहाँको पनि ल्याकत रहेनछ’ भनी अध्यक्षले असन्तुष्टि पोखेको सूर्य थापाले खुलाएका छन् ।
तेस्रो– विगतमा शंकरलाई अगाडि ल्याउन जसले भूमिका खेलेका थिए, उनीहरू नै अहिले सन्तुष्ट छैनन् । विष्णु पौडेललाई रोक्न उनलाई अघि सार्नेमा एकजना ईश्वर पोखरेल पनि हो । अहिले सबैभन्दा बढी असन्तुष्ट ईश्वर नै छन् । पार्टीमा ओलीपछिको वरीयतामा रहेका उनी कम्युनिष्ट आन्दोलनमा योगदानका हिसाबले ओलीभन्दा पनि वरिष्ठ हुन् । ओली १४ वर्ष जेल बस्दा बाहिर संगठन निर्माणमा खटिएका थिए । तर, उनैलाई अहिले कर्नरमा पारिएको अवस्था छ । हालैको एउटा बैठकमा ईश्वर बोल्दै गर्दा शंकरले कुरा काटेपछि दुई जनाबीच सवालजवाफसमेत भएको थियो । ‘शंकरजी, म वरिष्ठ उपाध्यक्ष हुँ, केही भन्नुपर्ने भए अध्यक्षले भन्नुहुन्छ, तपाईंले जवाफ दिने हैन नि यहाँ, मैले तपाईंसँग सोधेको पनि होइन’, भनेर ईश्वरले गुनासो गरेका थिए । कतिसम्म बेवास्ता गरिएको छ भने शंकरहरू भित्रभित्रै महाधिवेशनको तयारीमा रहँदा उनलाई भने सुइँकोसम्म दिइएको छैन ।
चौथो– चौथो पटक मुलुकको कार्यकारी प्रमुख बनेका ओलीको लोकप्रियता निरन्तर ओरालो लागिरहेको छ । सामाजिक सञ्जालदेखि ओली सहभागी कार्यक्रममा युवाहरूले चर्को विरोध गरिरहेका छन् । यसबीच खुलामञ्च, रंगशाला, दरबार मार्गमा युवाहरूले अमर्यादित नारा लगाए । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला नेपाली समुदायले आयोजना गरेको एउटा कार्यक्रम विरोधको डरले स्थगित गर्नुपर्यो । भारतीय पूर्वप्रधानमन्त्री स्वर्गीय मनमोहन सिंहलाई श्रद्धाञ्जली दिएको फेसबुक पोष्टमा ‘तपाईंलाई यसरी श्रद्धाञ्जली दिने दिन कहिले आउला’; भनेर कमेन्ट गरियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएको ठाउँमा तल आएका कमेन्ट हेर्दा गालीगलौज मात्र देखिन्छ । सञ्जालमा हुने विरोध एकातिर छ, अर्कोतिर जहाँ गयो त्यहीँ मूर्दावादको नारा लाग्न लाग्न थालेपछि पछिल्ला दिनमा पार्टीको कार्यक्रमबाहेक ठूला सार्वजनिक सभा समारोहमा प्रधानमन्त्रीको उपस्थिति नै देखिन छोडेको छ ।
तर, ओली र शंकर पोखरेलहरू भने सामाजिक सञ्जालको प्रतिक्रिया र विरोधलाई लोकप्रियता मापनको आधार मान्न तयार छैनन् । बरु पार्टी र नेतृत्वविरुद्ध सुनियोजित कुप्रचार गरिएको भन्दै प्रतिवादमा उत्रन कार्यकर्तालाई निर्देशन दिइएको छ । प्रश्न उठ्छ– व्यक्तिको लोकप्रियता मापन केले गर्छ ? ऊप्रति व्यक्त आमधारणा नै मापनको मुख्य आधार होइन भने हरेक दिन जनमत संग्रह सम्भव हुन्छ ? प्रधानमन्त्रीका रुपमा ओलीको लोकप्रियता ओरालो लाग्नु प्रकारान्तरले एमालेलाई नै घाटा हो । चिन्ता गर्दै नेताहरू भन्छन्, ‘विद्या पार्टीमा आउन ओलीलाई अब मबाट चल्दैन भन्ने लाग्नु पर्यो जुन अहिलेसम्म उहाँलाई लागेकै छैन ।’
टिप्पणीहरू