गजुरेलले गरे प्रचण्डको प्रशंसा, ओलीलाई मोदीको चुनौती

गजुरेलले गरे प्रचण्डको प्रशंसा, ओलीलाई मोदीको चुनौती
सुन्नुहोस्

प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा कोशी प्रदेश ईन्चार्ज हरिबोल गजुरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वलाई  प्राथमिकता दिएपछि शीर उँचो हुन थालेको बताएका छन् ।

माओवादी केन्द्र बुढीगंगा गाउँपालिका कमिटीको दोस्रो अधिवेशन उद्धघाटन गर्दै उनले उक्त भनाई राखेका हुन् । अध्यक्ष प्रचण्डले पूर्वलाई प्राथमिकता दिएकै कारण उपनिर्वाचनमा पार्टीले राम्रो परिणाम ल्याउन सकेको गजुरेलले दाबी गरे । 

उपनिर्वाचनमा जित हासिल गरेपछि माओवादीलाई 'डेटएक्सपायर' र सिद्धिएको पार्टी भन्नेहरुको बोली बन्द भएको बताउँदै गजुरेलले थपे, ‘२३८ बाट मात्र ३८ सिटमा खुम्चिएपछि हामीलाई प्रतिक्रियावादीहरुले म्याद गुज्रिएको पार्टी भन्थे, तर अध्यक्षले प्राथमिकता दिनथालेपछि हाम्रो शीर उँचो भएको छ ।'

पूर्वमन्त्रीसमेत रहेका गजुरेलले अब माओवादीलाई पछाडि फर्कने ठाउँ नभएको जनाउँदै २०८४ मा पहिलो पार्टी बनाएर छाड्ने उद्धघोश पनि गरेका छन् । आफूलाई आजकल थकाई लाग्न छाडेको सुनाउँदै उनले संगठन निर्माणमा अहोरात्र खट्न कार्यकर्तालाई पनि आग्रह गरे ।

२०६४ मा भोट दिएर सबैभन्दा ठूलो पार्टी बनाउने मतदाता रिसाएकै कारण माओवादी अहिले तेस्रो हैसियतमा झरेको गजुरेलको स्वीकारोक्ति छ । अब तराई-मधेशमा सञ्चालन हुने हुलाकी राजमार्ग केन्द्रित अभियानले जागरण ल्याउन सफल हुने र त्यसैको बलमा माओवादीले पुनरागमन गर्ने उनले दाबी गरे । 

पार्टीलाई पहिलो बनाउनकै लागि अध्यक्ष प्रचण्डले सबैथोक गुमाएर पनि कहिले केराको पातमा त कहिले बाटोमा भक्का खाएर जनतासँग भेटघाट गर्दै हिँडेको गजुरेलको अनुभव छ । उनका अनुसार फागुन १२ गतेदेखि झापाको केचनाकवलबाट शुरु भएर सुदुरुपश्चिमको कञ्चनपुरसम्म चल्ने तराई-मधेश जागरण अभियानको क्रममा एक महिनासम्म अध्यक्ष प्रचण्डसहित केन्द्रीय पदाधिकारी जनतासँगै रहने छन् ।

प्रधानमन्त्री ओलीलाई मोदीको चुनौती

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व समान्य प्रशासनमन्त्री अमनलाल मोदीले अध्यक्ष प्रचण्डको कर्तुत पर्दाफास गरिदिन्छु भनी नधमक्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । हिम्मत भए गरेर देखाउन उनले चुनौतीसमेत दिए ।

प्रचण्डले गलत काम गरेको भए कारवाही गर्न केले रोकेको छ ? भन्दै मोरङ-४ का निर्वाचित सांसद मोदीले चेतावनीको शैलीमा भने, ‘जसले देशमा गणतन्त्र ल्याएर जनतालाई अधिकार सम्पन्न बनायो त्यही क्रान्ति नायकलाई भण्डाफोर गरिदिन्छु भनेर बारम्बर धम्कीमात्र दिएर हुँदैन, भन्नेले गरेर पनि देखाउनुपर्छ ।'

गिरीबन्धु जग्गा प्रकरणसहित अन्य विभिन्न काण्डको छानविन गरेरै छाड्ने अठोट गरेका मोदीले मुख बजाएर मात्र सुशासन स्थापित नहुने बताए । प्रचण्ड प्रधानमन्त्री भएको बेला खोलेका भ्रष्टचारका ठूला फाइल अहिलेको सरकारले बन्द गरेको जिकिर गर्दै मोदीले हिम्मत भए अघि बढाएर देखाउन प्रधानमन्त्री ओलीलाई चुनौती दिए ।
 

टिप्पणीहरू