खानेपानीको ट्याँकी खोतल्न हिंड्यो अख्तियार

खानेपानीको ट्याँकी खोतल्न हिंड्यो अख्तियार
सुन्नुहोस्

पर्वतको खौलालाकुरी खानेपानी आयोजनामा भएको भ्रष्टाचारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । खानेपानी आयोजनामा ठूलो आर्थिक अनियमितता भएको आरोप लगाउँदै स्थानीयले उजुरी दिएपछि अख्तियारको टोली छानबिनका लागि घटनास्थल पुगेको छ । जनआस्था डटकमले ‘खानेपानी आयोजनामा भ्रष्टाचार, अध्यक्षको संलग्नता रहेको आरोप’ शीर्षकमा यसअघि समाचार प्रकाशित गरेको थियो ।

केही दिनअघि अख्तियारको टोलीले कुश्मा नगरपालिका–१३, खौलालाकुरीमा गएर ट्याङ्कीहरुको जाँचपड्ताल गरेको छ । तर, आयोजनाका अध्यक्ष तिलकबहादुर लामिछानेलगायतले राम्रा–राम्रा ट्याङ्कीहरु मात्र देखाएको स्रोतको भनाइ छ । ‘अख्तियारबाट केही कर्मचारी अनुसन्धानका लागि आएका थिए । तर, उनीहरुले राम्रा ट्याङ्की मात्र देखाए । फेरि आउँछौं भनेर फर्किएका छन्’,स्रोतले भन्यो । 

के हो घटना ? 

खौलालाकुरीमा खानेपानीको एकदमै हाहाकार छ । एक गाग्री पानीका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता स्थानीयलाई छ । सरकारको ‘एक घर,एक धारा’ नीतिअनुरुप वि.सं.२०७२ सालमा त्यहाँ ट्याङ्की निर्माण शुरु भयो । खानेपानी आयोजनाका लागि केन्द्र सरकारबाट बजेट विनियोजन गरिएको थियो । खानेपानीको समस्या समाधान हुने भो भनेर स्थानीय मख्ख परे । तर,कूल पाँच करोड ९२ लाख २६ हजार ५४१ रुपैयाँ खर्च भइसक्दा पनि स्थानीयले पानी खान पाएका छैनन् । पानीका लागि अहिले पनि टाढाको सिस्नेपानी धाइरहेका छन् । 

स्थानीयको घर–घरमा धारा जडान गरेर पानी खुवाउने भनी ठाउँ–ठाउँमा ट्याङ्की बनाउन लगाइयो । ठेकेदारसँग मिलेर आयोजनाका अध्यक्ष लामिछानेले अनावश्यक ठाउँमा पनि ट्याङ्की निर्माण गर्न लगाएको जानकारहरु बताउँछन् । हाल ती ट्याङ्की बेवारिसे बनेको छ । ती ट्याङ्कीमा एक थोपा पनि पानी चुहिएको छैन । स्थानीयका अनुसार ट्याङ्की निर्माण र धारा जडानको ठेक्का फलेवास नगरपालिकाका मेयर गंगाधर तिवारीका सहोदर भाइ गिरीराज तिवारीको कम्पनीले पाएको हो । 

रोचक प्रसंग के भने, सो आयोजनाको हालसम्म पनि सार्वजनिक सुनुवाई गरिएको छैन । नेकपा एमालेको गाउँ कमिटी अध्यक्षसमेत रहेका लामिछानेले घर–घरमा पुगेर स्थानीयलाई रजिष्टरमा सहीछाप गर्न लगाएका थिए । उनले त्यसैलाई सार्वजनिक सुनुवाई भन्दै आएका छन् । तर,आयोजनाका उपाध्यक्ष हर्कबहादुर कार्कीले सो सार्वजनिक सुनुवाई मान्य नहुने भनेर विरोध जनाएका छन् । 

‘पाइप आएको छ तर धारा जोडिएको छैन । यहीँ खानेपानीको विषयमा छानबिन गर्न केही दिनअघि अख्तियारको टोली पनि आएको थियो । अहिलेलाई निर्माण कार्य रोकिएको छ ।"

यता, अध्यक्ष लामिछानेसँग आयोजनाको कूल हिसाबकिताबको व्यहोरा माग्दा विभिन्न बहाना बनाएर पन्छिने गरेको स्रोतको जिकिर छ । पटकपटक माग्दा पनि उनले विवरण दिन नमानेको बताइन्छ । स्रोत भन्छ,‘यहाँ त ठूलो घोटाला भएको छ । झण्डै ६ करोडको आयोजना परेकोमा कतिको काम भयो ? हामीलाई नै थाहा छैन । पटकपटक विवरण मागिसकियो, तैपनि दिन मान्दैनन् । आ–आफ्ना मान्छे राखेर सार्वजनिक सुनुवाई गरे । कतिपय ट्याङ्कीमा एकचोटि पनि पानी हालिएको छैन । सबै बजेट व्यक्तिको गोजीमा गएको छ ।’ 

खानेपानीको विषयमा छलफल गर्न हालसम्म एकपटक पनि बैठक बोलाइएको छैन । अर्कोतर्फ, निर्माण सकिएको केही समय नबित्दै ट्याङ्कीहरु चिरा पर्न थालेको छ । 

दलित बस्तीमा विभेद 

खौलालाकुरीमा दलित समुदाय धेरै छन् । कोठे टोलमा बसोबास गर्नेहरु सुकुम्बासीजस्तै छन् । उनीहरुले प्रशस्त पानी पिउन पाउने बर्खामा मात्रै हो । ठाउँ–ठाउँमा फुटेको मूलकै पानी पिउँछन् । त्यहाँ मात्र नभएर अन्य धेरै ठाउँमा दलित बस्ती छ । तर, कुनै पनि दलित बस्तीमा धारा जडान गरिएको छैन । 

अशिक्षा,गरिबीका कारण उनीहरु आफ्नो अधिकारका लागि बोल्न डराउँछन् । विरोधमा बोल्नेलाई मादक पदार्थ सेवन गराएर आयोजनाका अध्यक्ष लामिछानेले चुप गराइदिन्छन् । सिस्नेपानीका स्थानीय हिरालाल बिकले दलित समुदायलाई वडाले उपेक्षा गरेको बताए । दलित बस्तीमा कसैको पनि घरमा धारा नजोडिएकोमा उनले दुःखेसो पोखे । 

पटकपटक वडाध्यक्ष तेजप्रसाद चापागाईंको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नगरेको उनको आरोप छ । ‘हामीकहाँ पानीको स्रोत छ । तैपनि राज्यबाट आएको योजनाबाट वञ्चित गराउनुहुँदैनथ्यो । दलित बस्तीमा धारा जोडिएको छैन । उता, बाम्रामा त झन् पानीको काकाकुल छ । उहाँहरु पानी लिनका लागि एक गाउँबाट अर्को गाउँ पुग्नुहुन्छ । त्यस्तो ठाउँमा समेत धारा जोडिएन । के गर्नु हाम्रो पक्षमा बोलिदिने कोही छैन, हामीले बोलेको सुन्दैनन्’,उनले भने । 

खौलालाकुरीकै अर्का स्थानीय ईश्वर केसी खानेपानीको साह्रै नै समस्या भएको बताउँछन् । आफ्नो घरसम्म पाइप ल्याए पनि धारा भने नजोडिएको उनको भनाइ छ । जनआस्थासँग उनले भने,‘पाइप आएको छ तर धारा जोडिएको छैन । यहीँ खानेपानीको विषयमा छानबिन गर्न केही दिनअघि अख्तियारको टोली पनि आएको थियो । अहिलेलाई निर्माण कार्य रोकिएको जानकारी पाएको छु ।’

खानेपानीमा भ्रष्टाचार लज्जास्पद छः उपाध्यक्ष

उपाध्यक्ष कार्कीले आयोजनामा अनियमितता भएको ठोकुवा गरे । कमिशन खानका लागि अनावश्यक ठाउँमा ट्याङ्की निर्माण गरिएको उनको आरोप छ । करोडौं रुपैयाँ खर्च भइसक्दासमेत घर–घरमा पानी नपुग्नु विडम्बनापूर्ण भएको उनको जिकिर छ । 

‘पहिल्यैदेखि भन्दै आएको छु, यहाँ ठूलो घोटाला भएको छ । त्यत्रो खर्च भएपछि सबैतिर ट्याङ्की निर्माण हुनुपर्थ्यो । सबैले पानी खान पाउनुपर्थ्यो । नचाहिने ठाउँमा ट्याङ्की बनेको छ, चाहिने ठाउँमा छैन । दलित बस्तीमा धारा जोडिएको छैन । करोडौं लगानी लागेपछि सबैतिर पानी पुगेको भएपनि चित्त बुझाउन हुन्थ्यो’,उनले भने । 

खानेपानीको नाममा आयोजनाका केही पदाधिकारी र ठेकेदार मोटाउने काम मात्र भएको उनको आरोप छ । कार्कीले अख्तियार गएको विषयमा जानकारी पाएको बताए । भन्छन्,‘अख्तियार गएकोबारे जानकारी पाएको छु । म पोखरातिर भएकाले के–के देखाए भन्नेचाँहि थाहा भएन ।’

टिप्पणीहरू