यातायातका २५ लाख फाइल इन्ट्री गर्न सय जना नियुक्त

यातायात कार्यालयका भौतिक फाइलहरुको विद्युतीय अभिलेख गर्न थालिएको छ । बागमती प्रदेश सरकारले यातायातका ढड्डालाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न शुरु गरेको हो ।
यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवा विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्ने उद्देश्यले काम शुरु गरेको बताए । विद्युतीय अभिलेख सफल हुँदा भौतिकरुपमा रहेका अभिलेखहरू हराउने, नष्ट हुने तथा सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यता अन्त्य हुने उनको विश्वास छ ।
‘हाम्रो बागमती प्रदेशभित्र जतिपनि रहेका ढड्डा फाइलहरू छन् त्यसलाई विद्युतीय अभिलेख सिर्जना गर्ने । डिजिटलाइजेसन गरेर तिनलाई हामीले सिस्टममा हाम्रो एउटा भेइकल रजिस्ट्रेशन छ, त्यो सिस्टममा आबद्ध गर्ने र त्यसपछि अहिले जुन भौतिकरुपमा सेवा पवाह गरिरहेका छौँ, त्यो भौतिकरुपमा भइरहेको सेवालाई विस्थापन गर्ने र अनलाइनबाट सेवा प्रवाह गर्ने एउटा सोच र उद्देश्यका साथ मन्त्रालयले अगाडि सारेको यो कार्यक्रम हो', भट्टराईले भने ।
२५ लाखको संख्यामा रहेको यातायातको अभिलेख दुई वर्षभित्र डिजिटलाइजेसन गरिसक्ने कार्यालयको लक्ष्य छ । यसका लागि एक सय जना डेटा इन्ट्रीकर्तालाई प्रतिष्पर्धात्मक प्रणालीबाट नियुक्त गरिएको छ ।
‘अहिले लगभग २५ लाखको हाराहारीमा बागमती प्रदेशका यातायात कार्यालयमा सवारी साधनका अभिलेखहरू छन् । यी अभिलेखहरू अहिले नहुँदा अथवा यी भौतिकरुपमा रहँदा कतिपय नष्ट हुने, हराउने ढुसी लाग्ने, जनताले हैरानी भोग्नुपर्ने अनि भौतिक रुपमा आएर सेवा लिँदा विचौलियाबाट ठगिन सक्ने, कार्यालयमा लाइनको हैरानीको जुन समस्याहरू छन् यसबाट मुक्ति दिनका लागि मन्त्रालयले डिजिटलाइजेसन गर्ने यो मुख्य कार्यक्रम हो', उनले भने, 'र, यो लगभग दुई वर्षभित्रमा सबै कामहरू सम्पन्न गर्ने भनिएको छ, यसैका लागि एक सय जना डेटा इन्ट्रिकर्ताहरूलाई प्रतिस्पर्धात्मक प्रणालीबाट नियुक्त गरिएको छ ।'
कार्यालय प्रमुख भट्टराईले भौतिक प्रमाण नष्ट भएका वा हराएका सवारी साधनको पनि सवारी धनीसँग भएको प्रमाणलाई आधार मानेर विद्युतीय अभिलेख गरिने बताए । अभिलेखमा देखिने कतिपय समस्या संघीय मन्त्रालयले समाधान गर्ने उनको भनाइ छ ।
टिप्पणीहरू