खुशी र सुखी जीवनको रहस्य

खुशी भनेको मनभित्रको सन्तुष्टि, आनन्द र मानसिक शान्तिको अवस्था हो । खुशी एउटा यस्तो शब्द हो जसले तपाईंलाई शान्ति र सन्तुष्टि महसुस गराउँछ । खुशी व्यक्तिगत अनुभूति हो, जुन बाह्य परिस्थितिभन्दा आत्मसन्तोष, सोच र सकारात्मक दृष्टिकोणसँग बढी सम्बन्धित हुन्छ ।
खुशी भनेको जीवनको सम्पूर्णतामा सन्तोष र धन्यवाद व्यक्त गर्न सक्ने क्षमता पनि हो । जसले यो कुरा बुझ्छ, उसको जीवन स्वतः आनन्दमय र अर्थपूर्ण बन्छ । खुशी जीवनको एक अमूल्य पक्ष हो, जसले मानिसलाई सन्तोष र आनन्दको अनुभूति गराउँछ । यो कुनै भौतिक वस्तुमा सीमित छैन, यो मानिसको भित्री भावनासँग जोडिएको एक आत्मिक अनुभूति हो । खुशी कुनै निश्चित समय वा परिस्थितिमा मात्र सीमित हुँदैन, यो त हामीले कसरी जीवनलाई हेर्छौं र सामना गर्छौं भन्ने कुरामा निर्भर गर्दछ ।
खुशी केवल बाहिरी कुरामा निर्भर हुँदैन । साँचो खुशी त आन्तरिक शान्तिबाट जन्मिन्छ । जब मानिसले आफ्नो जीवनलाई सन्तुलित बनाउँछ, आफ्ना इच्छाहरुलाई व्यवस्थापन गर्न सिक्छ र कमजोर पक्षलाई स्वीकार गरेर अगाडि बढ्छ, त्यसले उसलाई गहिरो खुशी दिन्छ ।
खुशी पाउनका लागि अर्को महत्वपूर्ण कुरा भनेको वर्तमान क्षणको कदर गर्नु हो । खुशी बाँडेर बढ्छ भन्ने भनाइ सत्य नै हो । जब हामी अरुलाई खुशी दिन प्रयास गर्छौं, त्यसले हाम्रो जीवनलाई अझ समृद्ध बनाउँछ । अरुलाई माया र सहयोग देखाउने साना प्रयासहरुले पनि हाम्रो मनमा आत्मसन्तुष्टि र आनन्दको भाव उत्पन्न गर्छ ।
खुशी प्राप्त गर्नका लागि कुनै ठूलो उपलब्धि वा विशेष परिस्थितिको आवश्यकता छैन । यो सानोभन्दा सानो कुराहरुमा लुकेर बसेको हुन्छ । बिहानको ताजा हावाको स्पर्श, कुनै प्रियजनको साथमा बिताएको पल, कसैलाई सानो सहयोग गर्दा पाएको सन्तुष्टि, सफलता सबै खुशीका स्रोत हुन् ।
हामीले आफ्नो सोच र दृष्टिकोणलाई सकारात्मक बनाएर खुशीको अनुभव गर्न सक्छौँ । खुशी मानिसको मनोदशा वा अवस्था हो, जसले आफूलाई सन्तुष्ट, शान्त र आनन्दित महसुस गराउँछ । यो भावनात्मक र मानसिक तवरमा सकारात्मक अनुभूति हो ।
सुख भनेको शारीरिक, मानसिक र भौतिक रुपमा सन्तुष्टिको अवस्था हो । यो अलिकति दीर्घकालीन र ठूला लक्ष्य वा आवश्यकतासँग जोडिएको हुन सक्छ । सुखले जीवनमा व्यक्तिलाई शान्ति, आत्मसुरक्षा र सन्तुष्टिको भावना दिन्छ, जस्तैः राम्रो स्वास्थ्य, आर्थिक स्थिरता, क्षमता, सफलता र समाजमा मान–सम्मान, प्रतिष्ठा आदि ।
खुशी र सुखी जीवन भनेको शारीरिक, मानसिक र भावनात्मक सन्तुलनको अवस्था हो, जहाँ मानिसले आफ्नो जीवनको अर्थ र उद्देश्य पत्ता लगाएर प्रत्येक पलमा आनन्द र सन्तोषको अनुभव गर्न सक्दछ । यो केवल बाह्य सम्पन्नतामा मात्र निर्भर हुँदैन, आत्मज्ञान, सम्बन्धको गहिराइ र व्यक्तिगत वृद्धि पनि यसका आधार हुन् ।
कसरी खुशी र सुखी रहन सकिन्छ ?
लोभ, डाहा, ईर्ष्या, चिन्ता, आलस्यता, असफलता, घमण्ड, नकारात्मकता आदि खुशी र सुखका शत्रुहरु हुन् । यिनीहरुबाट सकेसम्म टाढै रहेर आशावादी र उत्साही जीवन जिउने प्रयास गर्नुपर्छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि अविचलित भएर सामान्य हुन सक्नुपर्छ । जीवन जिउने कला हामी आफैँले निर्माण गर्नुपर्छ । निम्न कुराहरुमा ध्यान दिएर खुशी र सुख प्राप्त गर्न सकिन्छ :
• सकारात्मक पक्षमा ध्यान दिनुहोस् : तपाईंलाई लाग्न सक्छ कि कुनै कुरा तपाईंले पहिले नै जान्नु भएको कुरा हो तर कुनै बानीलाई विकास गर्न समय लाग्छ र यसमा पनि त्यस्तै हुन्छ । त्यसैले जीवनमा सकारात्मकताका कुरा खोज्नका लागि दिनका दुई चार मिनेट समय खर्च गर्ने प्रयास गर्नुहोस् ।
• स्वीकृति महत्वपूर्ण छ : हामीमध्ये धेरैले सन्तोष खोजिरहन्छौ र चाहन्छौं कि हरेक कुरा हाम्रा इच्छाअनुसार मात्र ठीक होस्, तर यदि तपाईं साँच्चै खुशी हुन चाहनुहुन्छ भने तपाईंले यो स्वीकार गर्नुपर्छ कि पूर्णता भन्ने कुरा हासिल गर्न असम्भव छ । हो, तपाईं आफ्नो सक्दो प्रयास गर्न सक्नुहुन्छ, तर जीवन अपूर्ण छ । त्यसैले यसको सुन्दरतालाई आत्मसात गर्नुहोस् र सजिलै निराश नहुनुहोस् ।
• समय–समयमा आफूलाई अनप्लग गर्नुहोस् : हामी सधैं कुनै न कुनै कुरासँग जोडिएका हुन्छौं, चाहे त्यो हाम्रो फोन, ल्यापटप होस् वा वरपरका मानिसहरु । कहिलेकाहीँ आफ्नो मनलाई शान्त र खुसी महसुस गराउन यी सबैबाट अलिकति समयका लागि टाढा हुनु पनि आवश्यक हुन्छ । जब तपाईं ती उपकरणहरु बन्द गर्नुहुन्छ र केही समयका लागि डिस्कनेक्ट हुनुहुन्छ, तपाईं स्वचालित रुपमा खुशी महसुस गर्नुहुनेछ ।
• सकेसम्म धेरैलाई उपहार दिनुहोस् : यो कुरा तपाइलाई अलि अनौठो लाग्न सक्छ, तर अध्ययनले देखाएका छन् कि कसैलाई कुनै पनि उपहार दिँदा तपाईंले सन्तुष्टि प्राप्त गर्नुहुनेछ । यस्तो कार्यले तपाईंको मनस्थिति पनि सकारात्मक बनाउँछ । के यो साँच्चै अद्भूत कुरा होइन ?
• प्रकृतिसँग समय बिताउनुहोस् : हामी अधिकांश समय घरभित्रै बिताउँछौं, सामाजिक सञ्जालमा झुण्डिइ रहन्छौं वा लगातार काममै घोटिन्छौँ भने केही समय निकालेर आफ्नो वरपरको वातावरणसँग घुलमिल गर्न आवश्यक छ । यसो गर्नाले तपाईंलाई ताजापनको उर्जा प्राप्त हुन्छ । प्रकृतिमा उपचार गर्ने गुण हुन्छ ।
• संगीतलाई आफ्नो परम मित्र बनाउनुहोस् : संगीत सुन्दा तपाईं शान्त र आराम महसुस गर्नुहुन्छ, किनभने तपाईंको मस्तिष्कले डोपामाइन नामक न्यूरोकेमिकल उत्पादन गर्छ, जुन आनन्द र खुसीसँग सम्बन्धित हुन्छ । वास्तवमा, अध्ययनहरुले देखाएका छन् कि जो मानिस नियमित रुपमा संगीत सुन्छन् र नृत्यमा संलग्न हुन्छन्, तिनीहरु अरु मानिसहरुको तुलनामा धेरै खुशी हुन्छन् । त्यसैले आफ्नो मनपर्ने गीतहरु सुन्नुहोस्, नाच्नुहोस्, र संगीतको माध्यमबाट आफ्नो दिनलाई अझ रमाइलो बनाउनुहोस् ।
• अनावश्यक खर्च नगर्नुहोस् : तपाईंले चाहेको कुरा प्राप्त गर्न धेरै पैसा खर्च गर्नुले तपाईंलाई बढी खुसी दिनेछ जस्तो लाग्नसक्छ तर वास्तविकता यो हो कि धेरै खर्च गर्नाले सधैं खुशी दिन्छ भन्ने हुँदैन । तपाईंको पैसा खर्च गर्ने तरिकाले तपाईंलाई वास्तविक सन्तोष र खुसी दिलाउन सक्छ । यदि तपाईंले सोच–समझपूर्वक खर्च गर्नुभयो भने, तपाईं आफैंले आफुलाई थप सन्तुष्ट महसुस गराउन सक्नुहुनेछ । त्यसैले भौतिक सम्पत्तिहरु किन्नुभन्दा अनुभवहरुको खोजीमा समय र पैसा लगाउनुहोस् । यात्रा, कला वा प्रियजनहरुसँग समय बिताउने जस्ता अनुभवहरुले दीर्घकालीन खुशी र स्मृति प्रदान गर्न सक्छन् ।
• आफ्नो जीवनको जिम्मेवारी लिनुहोस् : विज्ञ वा मान्यजनको सल्लाह लिने कुरा कहिल्यै नराम्रो हुँदैन, तर जब ठूला निर्णयहरुको कुरा आउँछ, तपाईंले आफैं निर्णय लिनुपर्छ । तपाईंका छनोट तपाईंका आफ्नै हुन्छन् र त्यसको पछाडिको प्रेरणा वा परिणाम तपाईंलाई मात्रै थाहा हुन्छ । यदि अरु कसैले तपाईंको जीवनमा निर्णय लिइदिन्छ भने तपाईं कहिल्यै वास्तविक रुपमा खुसी हुन सक्नुहुन्न ।
• आफ्ना सच्चा मित्र को हुन् भन्ने यकिन गर्नुहोस् : तपाईंसँग ठूलो सामाजिक घेरा हुन सक्छ तर यसले यो प्रमाणित गर्दैन कि हरेक व्यक्ति तपाईंको सच्चा साथी हो । पार्टीमा जाने, रमाइलो गर्ने र आनन्द लिनु रमाइलो लाग्न सक्छ तर जब तपाईं निराश महसुस गर्नुहुन्छ, के ती साथीहरु तपाईंको वरपर हुन्छन् ? यदि हुन्छन् भने, त्यो धेरै राम्रो कुरा हो तर यदि हुँदैनन् भने त्यस्ता मानिसहरुका लागि समय खर्च गर्न बन्द गर्नुहोस् । आफ्नो ऊर्जा र समय ती साथीहरुलाई दिनुहोस्, जो सधैं तपाईंको साथमा हुन्छन् ।
• सकेसम्म धेरै यात्रा गर्नुहोस् : यसको एउटा ठूलो कारण छ, किनभने यात्रा गर्दा तपाईं स्वतन्त्र महसुस गर्नुहुन्छ । बाहिर जानुहोस्, नयाँ स्थान वा देशको भ्रमण गर्नुहोस्, नयाँ मानिसहरुलाई भेट्नुहोस्, साथी बनाउनुहोस्, नयाँ परिकारहरुको स्वाद लिनुहोस् र फरक संस्कृतिमा समय बिताउनुहोस् । विश्वास गर्नुहोस्, यसले तपाईंलाई अत्यधिक खुसी र सन्तोष प्रदान गर्नेछ ।
• धर्म, परम्परा र ईश्वरमा विश्वास गर्नुहोस् : आफ्नो धार्मिक परम्परा र संस्कृतिलाई अंगाल्दै ईश्वरको आराधना गर्ने, पाठपूजा लगाउने, मठमन्दिर, गुरुद्वार, चर्च, मस्जिद आदिमा समर्पित हुने, गच्छेअनुसार दान दक्षिणा वा माया सहयोग प्रदान गर्ने, भजनकीर्तन आदिमा रमाउने, ध्यान गर्ने आदि बानीको विकास गर्दै शरणागतको बाटो अँगाल्दा पनि अलौकिक सुख र खुशी प्राप्त गर्न सकिन्छ ।
• शान्तिको मार्गलाई अँगाल्ने : शान्तिको मार्ग खुशीको एउटा प्रमुख आधार हुनसक्छ । जब मानिस शान्त मन र आत्माको अनुभूति गर्छ, उसले वास्तविक खुशी प्राप्त गर्न सक्दछ । शान्ति र खुशी परस्पर सम्बन्धित छन्, किनभने शान्ति भनेको खुशीको आधारशिला हो । बाहिरीवस्तु वा परिस्थितिको आधारमा आउने क्षणिक खुशी भन्दा स्थायी शान्तिले नै गहिरो खुशी प्रदान गर्छ । जब मानिसले शान्तिको खोजी गर्छ, उसले जीवनलाई सरल र अर्थपूर्ण रुपमा हेर्न सक्छ, जसले वास्तविक खुशीको अनुभूति गराउँछ । शान्तिले मानसिक तनाव घटाउँछ, तनावमुक्त दिमागले जीवनलाई सहज र सकारात्मक रुपमा हेर्न मद्दत गर्छ । मानसिक शान्तिले खुशी र सन्तोषको भाव उत्पन्न गर्छ ।
निष्कर्ष :
समग्रमा, खुशी र सुखको मापन केवल बाहिरी सफलता वा भौतिक सम्पत्तिले हुँदैन, यो हाम्रो भित्री सोच, दृष्टिकोण र जीवनमा आनन्द खोज्ने क्षमतामा निर्भर हुन्छ । जीवन सरल राख्ने, समयलाई मूल्य दिने र आफूभित्रको शान्ति फेला पार्न सक्नेले खुशी र सुखी जीवन पाउन सक्छ ।
जीवनमा चुनौती र संघर्षहरु भइरहन्छन् तर तिनीहरुलाई सामना गर्ने सकारात्मक दृष्टिकोण नै खुशीको मुख्य आधार हो । खुशीलाई केवल खोज्ने होइन, आफ्नो सोच, व्यवहार र दृष्टिकोणबाट निर्माण गर्नुपर्छ । खुशी त हामीभित्रै छ, हामीले यसलाई अनुभव र स्वीकार गर्न सक्नुपर्छ ।
जब मानिस आफूले गरेको काम वा निर्णयबाट सन्तुष्ट हुन्छ, तब उसले खुशी र सुख प्राप्त गर्दछ । आफू खुशी भएपछि नै परिवार, साथीभाइ वा प्रियजनमा राम्रो सम्बन्ध स्थापित गरेर सबैलाई खुशी बाँड्न सक्छ । शारीरिक र मानसिक रुपमा स्वस्थ हुँदा, ध्यान, प्रार्थना, आफ्नो आत्मा र मूल्यहरुसँग जोडिँदा मानिसले थप खुशी र लक्ष्य प्राप्त गर्न सक्दछ ।
– बिनी महादेव पौडेल
टिप्पणीहरू