पूर्वराष्ट्रपतिलाई फर्काउने ठूलो प्लान

पूर्वराष्ट्रपतिलाई फर्काउने ठूलो प्लान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्काएर एमालेको बागडोर जिम्मा लगाउन एउटा समूह भित्रभित्रै सक्रिय रहँदै आएको र सोही कारण उनीहरू अध्यक्ष केपी शर्मा ओलीको ‘कर्केनजर’ मा परेको विषय नयाँ होइन । कुनै बेला बालकोटको ‘किचन क्याबिनेट’ का मुख्य सदस्य मानिने सुदूरपश्चिमका कर्ण थापादेखि काभ्रेका गोकुल बाँस्कोटा हुँदै मोरङका विनोद ढकालहरू पूर्वराष्ट्रपतिको पक्षमा खुलेरै लागेका छन् । पछिल्लो समय अध्यक्षको अलोकप्रियताले पार्टीको भविष्य अन्धकारमा परेको निश्कर्ष निकाल्दै अरु थुप्रै नेताले समेत कित्ता फेरेको चर्चा छ । 

वामपन्थी सरकार फालेर कांग्रेसको समर्थनमा चौथो पटक सत्तामा उक्लनुभएका ओलीको लोकप्रियताको ग्राफ निरन्तर ओरालो लागिरहेको छ । देशभित्र मात्र होइन विदेशका कार्यक्रममा समेत मूर्दावादको नारा लाग्न थालेपछि पछिल्लो समय पार्टी र सरकारको औपचारिक फोरममा बाहेक उहाँको उपस्थिति लगभग देखिन छोडेको छ । विगतमा ‘आइ लभ यु केपी बा’ भन्नेहरूले समेत बचाउमा बोल्न जाँगर नचलाएको अवस्थामा पूर्वराष्ट्रपतिलाई मियो बनाएर पार्टी जोगाउनुपर्ने तर्क बलशाली बन्दै गएको देखिन्छ । र, दाबी गरिँदैछ कि आगामी एघारौँ महाधिवेशनमा भण्डारीलाई सर्वसम्मत अध्यक्ष बनाउन ओलीसमेत सहमत हुनेगरी भित्रभित्रै केही पाकिरहेको छ । 

तल्लो तहका कार्यकर्ताको मनोविज्ञान बुझ्न भण्डारी देश दौडाहामा व्यस्त रहँदा उहाँको पक्षमा अभियान छेड्नेहरू निकै उत्साहित छन् । पूर्व राष्ट्रपति लुम्बिनी जानुअघि भंगाल पुगेका पूर्वतिरका एक नेताले ढुक्कसँग भने– भदौसम्ममा उहाँलाई भावी अध्यक्ष बनाएर जाने ठाउँमा परिस्थिति पुग्दैछ । 

एमालेको विधान अधिवेशन ०८२ सालको भदौमा हुँदैछ । विधान अधिवेशन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । माघको पहिलो साता बसेको सचिवालय बैठकको निर्णयअनुसार तोकिएकै मितिमा विधान अधिवेशन भए ढिलोमा फागुनसम्ममा महाधिवेशन गर्नुपर्ने हुन्छ । पूर्वराष्ट्रपति अध्यक्ष हुनेमा ढुक्क उनै नेता भन्छन्, ‘पार्टीको नेतृत्व कस्तो हुन्छ भन्ने कुरा विधान अधिवेशनले देखाइहाल्छ नि !’

नयाँ वर्षकै दिन पार्टी सदस्यता नवीकरण गराएर जुनसुकै बेला सक्रिय राजनीतिमा पुनरागमन गर्ने प्रष्ट संकेत दिनुभएकी भण्डारीले दुईवटा विकल्प सँगसँगै अघि बढाएको एमालेवृत्तमा चर्चा छ । अध्यक्ष ओलीको समर्थनमै सहज तरिकाले पार्टीमा आउने पहिलो विकल्प हो । तर, चुनाव लड्न परे पनि तयार हुने संकेत आइसकेको छ । पछिल्लो पटक मोरङको चुनावलाई महाधिवेशनको कास्टिङका रूपमा समेत अथ्र्याईएको छ । समाचार स्रोतका अनुसार सहमतिमै अघि बढ्ने कि प्रतिस्पर्धामा जाने भन्नेचाहिँ वैशाखपछि वारपार हुँदैछ । स्रोतको दावा छ– उहाँले एमालेको अध्यक्ष हुन्छु भन्दा कसले गर्छ प्रतिष्पर्धा !

७० वर्षे उमेर हदसम्बन्धी प्रावधान उल्टाएर ओलीले अध्यक्षमा तेहेरिने संकेत दिए पनि उमेर, स्वास्थ्य अवस्था र बढ्दो अलोकप्रियताका कारण त्यति सजिलो नहुने पूर्व राष्ट्रपति निकटहरू विश्लेषण गर्छन् । त्यो स्थितिमा भण्डारीका लागि मैदान यसकारण खाली हुन्छ कि उहाँलाई चुनौती दिनसक्ने अर्को नेता देखिएको छैन । यसअघि महासचिव शंकर पोखरेललाई ओलीको उत्तराधिकारीका रूपमा प्रस्तुत गर्न खोजिए पनि परिस्थिति बदलिएको छ । हालै बालुवाटार पुगेका एकजना एमाले नेताका अनुसार स्थानीय तहको चुनावमा ७० प्रतिशत जित्ने हिसाब देखाएर झुक्याएको भन्दै ओली शंकरप्रति निकै आक्रोशित सुनिनुभएको थियो । 

ओली र शंकरको सम्बन्ध बिग्रिएको संकेत यसबीचका केही घटनाक्रमले पनि दिन्छ । प्रेस चौतारीको महाधिवेशन शुरु हुनु केही घण्टाअघिसम्म शंकरले अध्यक्षमा राजेश राईको नाम लिएका थिए । जबकि उता बालुवाटारले निर्णय बदलिकन गणेश पाण्डेलाई सिंगारपटार गरेर तम्तयार पारिसकेको अध्यक्षको बोली हुबहु उतार्ने महासचिवलाई थाहै भएन । दुई जनाको सम्बन्ध बिग्रिएको अर्को प्रमाण हो, वर्षमान पुनसँग फोन संवादको सन्दर्भ । यो घटनामा शंकरलाई कसैले दुरूपयोग गरेको ओलीको ठहर छ । 

‘शंकरजीलाई पार्टीले फोन गर्न लगाएको होइन, कसैले मिसयुज गरेको हुनसक्छ ! अनि ल वर्षमानले हुन्छ नै भने पनि माओवादीले मान्छ त ?’, बालुवाटार संवादमा सामेल नेता भन्छन्, ‘मिसयुज भयो भनिसकेपछि त दुई जनाको सम्बन्ध अर्कै तहमा पुगेको रहेछ भन्ने प्रष्ट भएन र !’

अर्कोतिर, स्थानीय तहको उपनिर्वाचन हुँदै पछिल्लो पटक विद्यार्थीको चुनावसम्म आइपुग्दा एमाले निकै कमजोर देखिएको छ । प्रतिस्पर्धाबाट नेतृत्व छान्ने जबजको मान्यताविपरीत अध्यक्ष ओलीको चाहना लाद्न खोज्दा पार्टीप्रति आम कार्यकर्ताको आकर्षण घटेको र त्यो चुनावी परिणाममा व्यक्त भएको पूर्वराष्ट्रपति पक्षको बुझाई छ । प्रतिष्पर्धाको श्रेष्ठतामाथि निर्मम घाँटी च्याप्दा पनि चुनावमार्फत नेतृत्व चयन भएका अधिकांश ठाउँमा ओली–शंकर खेमाले नराम्रोसँग धक्का खाएको छ । त्यसमध्ये मोरङ जिल्ला कमिटीको चुनाव बढी चर्चामा छ । 

मदन भण्डारीको भावनात्मक सम्बन्ध जोडिएको मोरङमा ओली पक्षलाई क्लिनस्विप गर्दै भण्डारी समर्थक उम्मेदवारले एकलौटी जितेका थिए । संस्थापक खेमाले प्रतिष्ठाको विषय बनाएर एक दर्जन केन्द्रीय नेता खटाउँदा पनि विनोद ढकाल एक्लै भारी भए । चुनावलगत्तै ओलीले उनलाई बोलाएर भेटेबाट पनि अब एक्लै पार लाग्दैन भन्नेमा पुगेको बुझ्न सकिन्छ । किनभने यसअघि यिनै विनोदलाई कित्ता फेरेर पूर्वराष्ट्रपतितिर लागेको भन्दै दरकिनार गरिएको थियो । ओलीको चाहनाबेगर कोशी प्रदेश अध्यक्षमा उठेका कारण पछिल्लो एक वर्ष बोलचालसमेत बन्दको अवस्था थियो । 

विनोद तिनै व्यक्ति हुन्, जसले ओली पहिलोचोटि बिरामी हुँदा स्काई एम्बुलेन्स चार्टर गरेर उपचारका लागि नयाँ दिल्ली पु¥याएका थिए । ०५१ सालमा गृहमन्त्री हुँदासम्म कमजोर आर्थिक हैसियत भएका ओलीको मृगौला प्रत्यारोपण गर्नमा उनको ठूलो सहयोग रह्यो । ओली र ढकालको सम्बन्ध राजनीतिभन्दा माथि व्यक्तिगत तथा पारिवारिक तहमा थियो भन्ने यसबाट प्रष्ट बुझिन्छ । यस्तो घनिष्ठ सम्बन्ध भएका व्यक्तिलाई समेत प्रदेश अध्यक्षमा हराउन बालकोटबाट एक दर्जन बढी केन्द्रीय सदस्य विराटनगरमा उतारिएको थियो । उनी अहिले ओलीलाई ब्याक गराएर विद्यालाई अध्यक्ष बनाउने अभियानमा छन् र केही हुन्छ भन्नेमा ढुक्क पनि देखिन्छन् । 
 

टिप्पणीहरू