पूर्व राजाद्वारा नारायणहिटीमा छँदाको चिन्ह ‘मोडिफाइड’

पूर्व राजाद्वारा नारायणहिटीमा छँदाको चिन्ह ‘मोडिफाइड’

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को अवसरमा आफ्ना हितैषी, शुभचिन्तकहरुलाई शुभकामना कार्ड पठाउनुभएको छ । निर्मल निवासबाट पूर्वरानीको फोटोसहित छापिएको नेपाली कागजको कार्ड घर ठेगानामा पठाइएको छ । 

भित्र नयाँ वर्षको शुभकामना लेखिए पनि खाम बाहिर प्रापकको नाम,ठेगाना र पठाउने व्यक्ति वा संस्थातर्फ पूर्व राजाले प्रयोग गर्ने राजचिन्ह जस्तै प्रयोग गरिएको छ । पहिले राजतन्त्र छँदा राजदरबारले औपचारिक पत्र, कार्यक्रममा माथिल्लो भागमा श्रीपेच भएको राज निशान छाप प्रयोग गर्थ्यो । 

पछिल्लो पत्रमा नेपाली र अंग्रेजीमा नयाँ वर्षको शुभकामना उल्लेख छ । तर उहाँहरुले २०६३ पछि आमरुपमा प्रयोग हुन थालेको नाम र थर ज्ञानेन्द्र शाहको सट्टा ज्ञानेन्द्र वीरविक्रम शाहदेव र कोमल राज्यलक्ष्मी शाह लेख्नुभएको छ ।

यसअघि उहाँले प्रजातन्त्र दिवसको उपलक्ष्यमा फागुन ६ गते दिनुभएको र चैत ३१ गते नयाँ वर्षको उपलक्ष्यमा दिनुभएको भिडियो सन्देशमा प्रयोग भएका शब्दहरु निकै विवादमा परेका छन् । फागुनको सन्देशपछि चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजावादीहरुको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको निधन भएको थियो । सुरक्षाकर्मी र अन्य गरेर डेढ दर्जन घाइते छन् । कैयौ घर र सवारी साधनमा तोडफोड,आगजनी र लुटपाट मच्चाइएको थियो ।

टिप्पणीहरू