रवि र छविः पहिले साझेदार,जेलभित्र बेखबर

रवि र छविः पहिले साझेदार,जेलभित्र बेखबर

पहिले व्यवसायिक साझेदार,अहिले छैन बोलचाल ! प्रसंग हो सहकारी ठगीमा एउटै कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल बञ्जाडे जोशीको । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि र छवि भैरहवा कारागारमा छन् ।  

गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छवि रुपन्देही जिल्ला अदालतको आदेशबमोजिम गत माघदेखि पुर्पक्षका लागि थुनामा छन् भने प्रबन्ध निर्देशक रवि गत हप्ता मात्र कारागारको नयाँ सदस्य बन्न पुगेका हुन्  । आफूलाई एक करोड रुपैयाँ धरौटीमा छोड्ने जिल्लाको आदेशविरुद्ध उच्च अदालत तुल्सीपुरको बुटवल इजलास पुगेका रविलाई सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा गत चैत २२ गते थुनामा पठाउने आदेश भएको थियो ।

छवि डिप्रेशनमा गएका छन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि भैरहवाकै युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको छ । 

यता, रविका तत्कालीन पार्टनर छवि पनि थुनामा पठाउने जिल्लाको आदेशविरुद्ध उच्च पुगेका थिए । दुवै मुद्दालाई न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले एकैठाउँ राखेर सुनुवाइ गरेको थियो । एउटै अभियोगमा एक अभियुक्तलाई कारागार चलान गर्ने र मुख्य अभियुक्तलाई छोड्ने जिल्लाको आदेश मिल्दो नभएको औंल्याउँदै रविलाई पनि थुनामा पठाइएको हो । 

रविलाई कारागारको चार नम्बर ब्लकमा एक्लै राखिएको छ भने छविलाई दुई नम्बरमा । रोचक कुरा के भने, उनीहरु दुईबीच कुनै देखभेट भएको छैन । रवि कारागार चलान भएको एक साता बितिसक्दा पनि दुई जनाबीच बोलचाल छैन । कारागार स्रोतका अनुसार छवि डिप्रेशनमा गएका छन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि भैरहवाकै युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको छ । 

उनको उपचार जारी रहेको स्रोत बताउँछ । स्रोत भन्छ,‘उनीहरुको देखभेट भएको छैन । रवि एउटा ब्लकमा एक्लै बसेका छन् । छवि केही दिनदेखि अस्पतालमा छन् । उनी डिप्रेशनमा पुगेको देखिएको छ । ढल्नै लागेपछि अस्पताल भर्ना गरिएका उनको उपचार भइरहेको छ ।’ काठमाडौंको शंखमूलस्थित पूर्वडिआइजी जोशीको घरमा नेचर हर्ब इन्टरनेशनल प्रालिको कार्यालय सञ्चालन गरिएको थियो । 

त्यहीँबाट प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको दस्तावेज र रकम कारोबारको सफ्टवेयर बरामद गरेको हो । त्यसपछि पक्राउ परेका उनले रविझैं मिडियाको चेकमा हस्ताक्षर गरेको भेटिएको होइन । तर, उनी रविभन्दा अगाडि जेल पुगे । आफूलाई फसाइएको भन्दै तनाव लिएकाले उनी डिप्रेशनमा गएको स्रोतको जिकिर छ । 

‘उनले रविजस्तो चेकमा हस्ताक्षर गरेको भेटिएको होइन । कारोबार पनि छैन । तर, रविभन्दा अगाडि जेल हालिदिए । विश्वासमा पर्दा फसेँ भनेर धेरै तनाव लिएकाले उनी डिप्रेशनमा गएका हुन्’,स्रोतले भन्यो ।

टिप्पणीहरू