काठमाण्डौमा पाइला टेक्नासाथ कर्णेल पक्राउ

सिरियामा शान्ति स्थापनार्थ खटिएका नेपाली सेनाका दुई दर्जन बढी सैनिक पक्राउ परेका छन् । स्वदेश फर्केलगत्तै उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्रेर जंगी अड्डाको सैनिक प्रहरीसहित विभिन्न ठाउँका ब्यारेकमा थुनिएको बुझिएको छ । १८७ जनाको डफ्फामध्ये २८ जना उक्त काण्डमा मुछिएका छन् । क्याप्टेन आर्यजुन श्रेष्ठ र प्रमुख सेनानी दिनेशकुमार खड्का तिनैमध्येका हुन् ।
सिरियामा तैनाथ नेपाली शान्ति सेनाको एक पोष्टमा गत मंसिर २२ गते साँझ आक्रमण गरेर विद्रोही समूहले ४८ थान अत्याधुनिक हतियार र ११ हजार थान गोली लुटेका थिए । क्याप्टेन श्रेष्ठ र गणको नेतृत्व गर्ने लेफ्टिनेन्ट कर्नेल खड्कालाई मुख्य जिम्मेवार बनाउँदै २८ जनामाथि कोर्ट मार्शल शुरु भएको हो ।
‘हिरासतमा रहेकामध्ये केहीले चरम लापरबाही गरेको देखिन आएकाले ८-९ जनाको जागिर खोसिने सम्भावना पनि उत्तिकै छ ।’
सिरियास्थित खड्का नेतृत्वको गण चैत १६ र २२ गते स्वदेश फर्कने क्रममा ती सैनिकहरु पक्राउ परेका हुन । खड्कालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चैत २२ गते ओर्लने बित्तिक्कै समातेर सैनिक हिरासतमा राखिएको छ ।
विश्वमा शान्ति स्थापना गर्दा नाम कमाएको नेपाली सेनाले हतियार र गोलीगठ्ठा नै हराएपछि मुलुकको इज्जत धुलोमा मिलेको सेनाको निश्कर्ष छ । सैनिक स्रोत भन्छ, ‘उक्त घटनामा एम सिक्स्टिन हतियार मात्रै गुमेको छैन, प्रयोग नहुँदै हजारौं थान गोली लुटिएको छ । यसले मुलुकको इज्जतमा कालो धब्बा लागेको निश्कर्ष निकालिएपछि ती सबै समातिएका हुन् ।’
विद्रोही फौज हायात तहरिर अल सामको आक्रमणपछि हराएका भनिएका ती हतियार र गोलीबारे भएको छानबिनले दुई दर्जन बढीलाई शंकाको घेरामा राखेको थियो । उक्त पोष्टमा तैनाथ ४५ जनामध्ये हालसम्म २८ जना सैनिक हिरासतमा पुगेका छन् । सिरियामा राष्ट्रपति बसर अल असदको सत्ता पलटपछि अहिले सोही समूहको सरकार सञ्चालनमा छ ।
उक्त दिन साँझको आक्रमणपछि विद्रोही फौजले हदारस्थित १० ए सुरक्षा पोष्ट रहेको व्यारेकभित्र पसेर ती हतियार लुटेको थियो । पक्राउ परेका सैनिकहरुले कुनै प्रतिकार नगरेको पाइएपछि छानबिनको क्रममा उनीहरु शंकाको घेरामा परेका हुन् । स्रोत भन्छ, ‘हिरासतमा रहेकामध्ये केहीले चरम लापरबाही गरेको देखिन आएकाले ८-९ जनाको जागिर खोसिने सम्भावना पनि उत्तिकै छ ।’
टिप्पणीहरू