मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकनको तयारी

सरकारले निजी मेडिकल कलेजमा एमबिबिएस र बिडिएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकन गर्न कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको चिकित्सा शिक्षा आयोगको १८ औं बैठकले निजी मेडिकल कलेजमा एमबिबिएस र बिडिएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका निम्ति ११ सदस्यीय कार्यदल गठन गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेको संयोजकत्वमा गठन गरिएको कार्यदललाई आगामी दश दिनभित्र राय सुझाव पेश गर्न निर्देशन दिइएको छ । कार्यदलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकास देवकोटा, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शिक्षा शास्त्र संकायका डीन डा.मोहन शर्मा, काठमाडौँ विश्वविद्यालय, चिकित्सा शास्त्र संकायका डीन डा मनोज हुमागाईँ छन् ।
यस्तै, विज्ञहरु डा.भगवान कोइराला, डा.रमेशकान्त अधिकारी, डा.दिव्यासिंह शाह, डा.मंगल रावलल तथा नेपाल मेडिकल कलेजका अध्यक्ष डा.अनिल कार्की र एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजका अध्यक्ष डा.ज्ञानेन्द्र कार्की सदस्य पनि रहेको जनाइएको छ ।
एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजले आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता उपलब्ध गराउन कठिनाइ हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो । तर, विद्यार्थीहरुले उक्त भत्ता नपाए पुनः आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री ओलीले आज आयोगको बैठक डाक्नुभएको हो ।
सिट संख्या र शुल्क वृद्धिका लागि अध्ययन हुने भएपछि निजी मेडिकल कलेजले आयोगबाट तोकिएको निर्वाह भत्ता दिनुपर्नेछ र विद्यार्थीको म्याचिङ शुरु हुनेछ । आयोगको अर्काे बैठक यही वैशाख १५ गते बस्ने बताइएको छ ।
टिप्पणीहरू