खसी खोज्दै गुप्तचर प्रमुख

खसी खोज्दै गुप्तचर प्रमुख

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा गाउँलेलाई भोज खुवाउन गृहजिल्ला जाँदै छन् । छोरोको बिहे भोज खुवाउन उनी वैशाख दोस्रो साता रोल्पा जान लागेका हुन् । सुनिलस्मृति गाउँपालिका–६ गजुल घर भएका हुतराज परिवारको कान्छो सन्तान हुन् । दाइहरू खिमबहादुर, गोपाल र खुमबहादुर भने सुरक्षा सेवामा छैनन् । ०५३ सालमा शाखा अधिकृत (निरीक्षक)बाट सेवा प्रवेश गरेका उनी नेवार परिवारलाई ससुराली बनाएर लामो समयदेखि भक्तपुरको दधिकोटमा बस्दै आएका छन् । हुतराजको जेठो छोरो अमेरिकाबाट पिएचडी सकेर फर्किए भने कान्छो पनि उतै पढ्दैछन् । अहिले नर्वेमा पढ्ने नेपाली केटीसँग उही जेठो छोरोको बिहे हुन लागेको हो । 
हुतराज गृहजिल्लाको घरमै छोरोको बिहे गर्न चाहन्थे । त्यसको लागि छरछिमेकलाई खबरसमेत गरिसकेका थिए । तर बिहे गर्न लागेको छोरोले ‘छिट्टै अमेरिका फर्किनु छ’ भनेपछि नयाँ योजना बनाएको बताइन्छ । 

स्रोतका अनुसार वैशाख १७ गते दधिकोटस्थित घरमै औपचारिक बिहे गर्ने र २० गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भोज खुवाउने तय भएको छ । बिहेको लागि भनेर झण्डै दुई सयभन्दा बढी गाउँलेलाई काठमाडौँमा बोलाइसकिएको छ । जेठो छोरोले भर्खर टेस्ला कम्पनीमा जागिर शुरु गरेको र बिदा धेरै नपाएको भनेपछि हुतराजले पूर्वनिर्धारित योजना रद्द गरेको पारिवारिक श्रोतले बतायो । हुनेवाली बुहारी भने पोखराकी हुन्, हाल नर्वेमा नर्सिङ पढिरहेको सुन्नमा आएको छ । अवकाशपछिको जीवन बिताउने योजनाअनुसार हुतराजले रोल्पामा घरसमेत बनाउन लगाइसकेका छन् ।

‘यहाँ (गाउँमा) वैशाख १७ गते भोज खुवाउने कुरा छ, बोका–खसी खोजिरहेका छौँ’, एक छिमेकी भन्छन्, ‘उहाँहरू दुई चार दिनअघि नै यहाँ (घरमा) आउँदै हुनुहुन्छ, त्यसपछि निम्तो बाँड्छौँ ।’ त्यसो त, हुतराज चाड पर्वमा भने पुख्र्यौली घर पुगिरहन्छन् । तर उनको सन्तानबारे गाउँलेहरू उति जानकार नरहेको र यसकारण पनि छोरोको औपचारिक बिहे काठमार्डौँमै तय गरेको गाउँलेहरूको बुझाई छ । स्मरणीय छ, छिट्टै भूपू हुन लागेका हुतराज ०७९ भदौ २७ गते गुप्तचर प्रमुख नियुक्त भएका हुन् । 

यस्ता जासुसले कसरी पिछा गर्नु दुर्गाको !

‘आफँै त महादेव उत्तानो पर, कसले देला बर’ भनेझैँ आफैँ संकट र समस्यासँग जुझ्दै आएका गुप्तचरका दुःख अनेक छन् । इन्स्पेक्टर दर्जाको गुप्तचरले महिनाको ५ लिटर पेट्रोल सुविधा पाउँछ । फिल्डमा खटिँदा चिया–चमेना र खाजा, टेलिफोन, कुदाकुदको के हिसाब ! अधिकृतकै यो हालत छ भने तल्लो दर्जाको के होला ? तलबले परिवार पाल्नै धौधौ । अन्यत्रबाट सुको आम्दानी हुँदैन । राज्यले यस्तो अवस्थामा गुप्तचरबाट कस्तो किसिमको सूचना अपेक्षा गर्ने ? फिल्डमा खटिन सवारी साधन छैन । यस्तो हालतका गुप्तचरले दुर्गा प्रसाईं फुत्त अलप हुँदा कसरी पिछा गरुन् ?

‘र’ले सूचना संकलनका लागि नेपालमै पनि हजारौँ जना नेता तथा पत्रकारलाई पालनपोषण गर्दै आएको छ । नेपालले भने छिमेकी देश भारतमा मात्रै जम्माजम्मी एसएसपी दर्जाको एक जना गुप्तचर खटाएको पाइन्छ । एक्लो गुप्तचरले के सूचना पाउला ? साधन र स्रोत शून्य अवस्थामा यिनले भारतमा लुक्न पुगेका दुर्गा प्रसाईंबारे के–कसरी जानकारी बटुल्न सक्थे ? त्यसो त उनीबारे सरकारलाई सूचना दिनुभन्दा ट्याक्सी र पठाओका ड्राइभरले झैँ प्रसाईंसँगै खाजाखर्च बटुलेर उनलाई भाग है भाग भन्दा नै तिनको कल्याण हुने अवस्था छ । यसतर्फ नेपाल सरकारले पटक्कै ध्यान दिएको पाइन्न । 

अहिलेका प्रमुख हुतराज थापा छोरा भेट्न अमेरिका गएकोमा फर्केर बिदाको पैसासमेत बुझेपछि झण्डै अख्तियारको फन्दामा परेका थिए । सँगै गएका मुख्यसचिवले पछि कुरा मिलाइदिए । सातै वटा प्रदेशमा प्रत्येक वर्ष भदौ १२ गते वार्षिकोत्सव मनाउँदा भूतपूर्व कर्मचारीलाई बोलाएर अन्तरक्रिया र सुझाव संकलननिम्ति चियाचमेनाको खर्चबापत १०–१० हजार रूपैयाँ उपलब्ध गराउने प्रचलन हुँदाहुँदै त्यसमै पनि ७ हजार रूपैयाँ मात्रै पठाएर प्रत्येक प्रदेशबाट तीन हजार छ्याकन हान्ने काम भएको छ । मुख्य हाकिमकै यस्तो चाला भएपछि फिल्डमा खटिने गुप्तचरले पाउने के ? 

रोल्पा घर भएका थापा पूर्वराष्ट्रिय पञ्चायत सदस्य रेगबहादुर सुवेदीको नाताले सालो पर्छन् । यस्तै नातागोता र माओवादी केन्द्रको जोडबलमा बरफबागको प्रमुख भएका हुन् । तीनकुने घटनापछि संसद्को राज्यव्यवस्था समितिले सुरक्षा प्रमुखहरूलाई बोलाउँदा गुल्मी गए । र, गाली खान प्रदेश समन्वयको जिम्मेवारी पाएका एआइजी टेकेन्द्र कार्कीलाई पठाए । जबकि कार्कीसँग उक्त घटनाको सूचना नै थिएन । अपरेशन हेर्ने ओम जोशीलाई बाइपास गरी कार्कीलाई त्यहाँ पठाइएको हो । थापाले जोशीलाई विवादमा नपरोस् भनेर माया गरेका हुन् वा मन पराउन छाडेका हुन् पत्तो छैन ।
 

टिप्पणीहरू