चीनले लिन नमानेपछि बोइङको नयाँ विमान अमेरिका फिर्ता

चीनले लिन नमानेपछि बोइङको नयाँ विमान अमेरिका फिर्ता

अमेरिका र चीनबीचको व्यापार युद्धको बाछिटा सबै क्षेत्रमा परेको छ । अमेरिकाले एकतर्फी रुपमा पैठारी दर (ट्यारिफ) बढाएपछि चीनले जस्ताको त्यस्तै सिद्धान्त अवलम्बन गर्दै अमेरिकी विमान कम्पनी बोइङले डेलिभरिका लागि तयार पारेको विमान प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआम हुँदै अमेरिका पुगेको छ ।

चीनको सिआमन एअरलाइन्सले अर्डर गरेको ७३७ म्याक्स ८ विमान नलिने निर्णय गरेपछि उक्त विमानलाई स्वदेश फर्काउन अमेरिका बाध्य भएको हो । रोयटर्सका अनुसार साङ्घाई नजिकैको चौशानमा निर्मित बोइङको उक्त विमान दक्षिणको सिआमेन विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । तर, चीनले विमान नलिने बताएपछि अमेरिका फर्काइएको हो । 

चीनको मुख्य भूमिबाट अमेरिकासम्म झण्डै आठ हजार किलोमीटरको दूरी पार गर्नुपर्ने भएकाले न्यारो बडीको उक्त विमान गुआममा अवतरण भएको हो । त्यहाँबाट अब बोइङको कारखाना रहेको सियाटल पुग्ने छ । बोइङले चीन र एसिया प्रशान्त क्षेत्रका मुलुकमा डेलिभरी गर्ने विमानलाई सियाटलमा बनाएर चौशानमा अन्तिम एसेम्बल्ड गर्छ ।

उक्त विमानमा सिआमन एअरलाइन्सलाई बुझाउन बाहिरी र भित्री भागमा विमान कम्पनीको रंग, लोगो र अन्य चित्र बनाइसकिएको थियो । त्यस्ता दुई वटा विमान अमेरिकी पैठारी शुल्कका कारण फिर्ता भएको हो । समाचारमा जनाइएअनुसार चीनमा निर्मित ती विमान राष्ट्रपति ट्रम्पको २२५ प्रतिशत पैठारी शुल्क र चीनले अमेरिकी सामानमा लगाएको १२५ प्रतिशत भन्सारका कारण निकै महँगो परेकाले नकिन्ने निर्णय गरिएको हो । विमानको मूल्य बढेर अहिले ५ करोड ५० लाख डलर पुगेको छ ।

टिप्पणीहरू