सुख्खायामको शुरुमै आगलागीबाट दर्जन बढीको निधन

गत चैत महिनामा आगलागीका घटनाबाट एक दर्जन बढीले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका अनुसार गएको महिनामा आगलागीबाट १५ जनाको निधन भएको छ । भने ९६ जना घाइते भएको बताइन्छ ।
मृत्यु भएकामा महिला र पुरुष सात–सात जना र एक बालिका छन् । त्यसैगरी ४२ जना पुरुष, ४५ जना महिला, तीन बालक र छ बालिका घाइते भएको बताइएको छ । आगलागीबाट ३९ घरपरिवार विस्थापित भएका छन् ।
एक महिनाको अवधिमा आगलागीबाट तीन सय ५४ वटा घर र दुई सय ५६ वटा गोठमा क्षति पुगेको छ । तीन सय छ वटा पशु चौपायासमेत आगलागीमा परेका छन् ।
प्रहरीका अनुसार ५२ करोड ६९ लाख ८५ हजार ६७० रुपैयाँ बराबरको धनमाल आगोले जलेर नष्ट भएको छ । आगलागीका धेरै घटना भएको कोशी प्रदेशमा एक महिनामै चार सय ३४ वटा घटना आगलागीका हुन् ।
त्यसपछि, लुम्बिनीमा दुई सय २७, बागमतीमा एक सय ७९, मधेशमा एक सय ५१, सुदूरपश्चिममा एक सय, गण्डकीमा ९०, काठमाडौं उपत्यकामा ६८ र कर्णालीमा ६२ वटा घटना भएको बताइन्छ ।
टिप्पणीहरू