केपी ओली यस्तरी हौसिनुको के होला कारण ?

केपी ओली यस्तरी हौसिनुको के होला कारण ?

‘एमालेबिनाको मुलुक र केपी ओलीबिनाको एमाले कसैले कल्पना नगरे पनि हुन्छ’ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको हालैको वाणी हो यो । उनले यसरी बेप्रसंग आफ्नो महत्व गाउँदा त्यसले आमजनमानसमा पार्ने नकारात्मक असरतिर ध्यान नदिएको भन्दै एमाले गण रिसाएको छ । एक उच्च तहका नेताले आफ्नो चरम असन्तुष्टि प्रस्तुत गर्दै भने, ‘खोइ के भएको हाम्रा नेताहरूलाई, बुझ्नै गाह्रो । अलिक समयअगाडि ‘आमा’ लुम्बिनीतिर घुमेर आउनुभो, बाको पनि हालै त्यतैतर्फको यात्रा सम्पन्न भो । अनि चेतावनीयुक्त भाषामा बाको बोली आयो, ‘केपी ओलीबिनाको एमाले कल्पना गर्न सकिँदैन भन्दै । हामीले उहाँ बाँचुञ्जेल एमालेमै रहनुहुन्छ भन्ने विश्वास गरिदिएकै थियौं त !’ 

त्यस्तो असन्तुष्टि पार्टीभित्र वास्तवमै निकै उच्च तहमा रहेको देखिएको छ । अर्का एक नेताले व्यंग्यात्मक शैलीमा भने, ‘उहाँले ठीकै भन्नुभएको हो, केपी ओली छउञ्जेल एमालेमा अरु कोही नेता अगाडि बढ्न सक्छ र ?’ कसैले केपी ओलीलाई एमालेबाट धकेलेर निकाल्ने कुरा नगरेका बेला उनले आफूबिनाको एमाले हुनै नसक्ने जिकिर गर्नुको कुनै सान्दर्भिकता नरहेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ । हुन त यस्ता खालका असान्दर्भिक कुरा गर्ने भएकै कारण केपी ओली ‘केपी ओली’ रहेका हुन् भन्ने धेरै जनाको भनाइ छ । उनीहरू भन्छन्, ‘नत्र उनी राजनेता हुन्थे । सबैले मान्न मिल्ने प्रधानमन्त्री कहलिन्थे । सबैले हाईहाई गर्थे । आफ्नै कार्यकर्ताले सराप्नुपर्ने अवस्था बन्दैनथ्यो ।’ 

लगातार बढ्दै गएको अलोकप्रियताबाट केपी ओली अत्तालिएर यसरी बोल्न थालेको विश्लेषण पनि एकथरीको छ । त्यस्तो तर्क गर्नेहरू के भन्छन् भने सिरहामा जसरी उनी बोल्न थालेपछि उपस्थित जनमानस घरतिर लाग्यो त्यसले ओलीलाई निकै ठूलो आघात पुगेको छ । त्यसमाथि आफ्नै गृहनगर दमकमा सम्पन्न सभामा समेत सोही घटना पुनरावृत्ति भएपछि भने केपी ओली निकै निराश रहेको उनीनिकट एक एमाले नेताले बताए । पछिल्लो समय स्वास्थ्यले पनि धेरै साथ नदिएको अवस्थामा उनले प्रदेशस्तरीय सभामा सहभागी बन्न गरेको दौडधुपलाई एमालेभित्रकै धेरै नेताले अर्थपूर्ण रूपमा हेरेका छन् । पूर्वराष्ट्रपति तथा एमाले नेत्री विद्या भण्डारी फेरि सक्रिय राजनीतिमा फर्कने र आगामी महाधिवेशनमा अध्यक्ष पदको दावेदारीसहित ओलीलाई टक्कर दिने चर्चाका कारण पनि ओली यसरी आत्तिएको धेरैको विश्वास छ ।

हालै बैंककमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हात मिलाउने अवसर पाएका कारण हौसिएको पनि केही राजनीतिक विश्लेषकले दाबी गरिरहेका छन् । परराष्ट्रमन्त्री आरजु देउवालाई पटकपटक दिल्ली पठाएर मोदीसँगको भेटघाट सम्भव बनाएको खुशियाली केपी ओलीमा देखिएको छ । त्यसबाहेक राजावादीमाथि दमन गर्न र उनीहरूको बढ्दो लोकप्रियतालाई निस्तेज पार्न सफल भएको भ्रममा पनि रहेको केही विश्लेषकले टिप्पणी गरिरहेका छन् ।

राजावादी देशमा चाँडै निकै ठूलो बितण्डा मच्चाउने तयारीमा रहेको अनुमानका बीच ओलीले आफ्नो बोलीमा लगाम लगाए भने मुलुक अनिष्टतर्फ जानबाट जोगिन्थ्यो कि भन्ने कामना धेरै नेपालीले गरिरहेका छन् । भारतले दुर्गा प्रसार्ईंंलाई समातेर बुझाइदिएको घटनालाई केपी ओलीले आफ्नो सरकारलाई भारतको संस्थापन पक्षबाट सहयोग र सद्भाव प्राप्त हुन थालेको प्रमाणको रूपमा लिएको देखिन्छ । तर, भारतीय रणनीति र योजनालाई जान्ने, चिन्नेहरू भन्छन्, ‘भारतको यो चाल हो । जुन केपी ओलीले बुझ्न सकिरहेका छैनन् ।’
 

टिप्पणीहरू