खुमबहादुरको सम्पत्ति जफत शुरु

खुमबहादुरको सम्पत्ति जफत शुरु

भनिन्छ, १२ वर्षमा खोलो पनि फर्कन्छ । भ्रष्टाचारबाट आर्जित सम्पत्ति ११ वर्षसम्म उपभोग गर्दै आएका एक उच्चपदस्थ कसुरदारका नाममा रहेको करोडौँ सम्पत्ति जफत गरी राज्यका नाममा ल्याउने काम अन्तिम चरणमा पुगेको छ ।अदालतले फैसला गरेको १२ वर्षपछि सरकारले दिवंगत कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको सम्पत्ति बुझिलिने काम अन्तिम चरणमा पु¥याएको हो ।

२०६९ साउन ३० गते सर्वोच्चका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले खड्कालाई भ्रष्टाचारी ठहर गर्दै ललितपुर सानेपास्थित घर–जग्गा जफत गर्ने फैसला सुनाएको थियो । १ रोपनी ६ आनाभन्दा बढी जग्गा जफत गर्नुका साथै २० लाख ५६ हजार ९८७ रूपैयाँ असुलउपर गर्नुपर्ने फैसला थियो । सोविरुद्ध खड्का परिवार पुनरावेदनमा गएको भए पनि हारेर अदालतको फैसलाअनुसार २० लाख रूपैयाँ कोषमा जम्मा गर्दैै एक रोपनी ६ आनामा फैलिएको कित्ता नम्बर १०७ जफत गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो । कित्ता नम्बर १८३ को एक आना एक पैसा जग्गामध्येबाट २० लाख रूपैयाँ बराबरको सम्पत्ति जफत गर्ने सर्वोच्चको फैसला थियो । तर, त्यसरी जफत गर्न र लिलाम निकाल्नसमेत सरकारलाई अप्ठ्यारो परिरहेको स्थितिमा परिवारका तर्फबाट हालै राज्यकोषमा रकम दाखिला भएको कसुरजन्य व्यवस्था विभागले जनाएको छ ।

सरकारले नासुदेखि महानिर्देशकसम्मका सम्पत्ति जफत गरिसकेको भए पनि कांग्रेस नेताहरूको दबाबका कारण खड्का परिवारलाई छुन सकेको थिएन । उक्त घरजग्गा हाल श्रीमती शिला तथा छोरा अनुरागले प्रयोग गर्दै आएका छन् । २० लाख ५६ हजार रूपैयाँबराबरको सम्पत्ति कसरी जफत गर्ने भनेर विगतमा अन्योल थियो । त्यही कारण लिलाम प्रक्रियासमेत अगाडि बढाउन सकस भइरहेको थियो । गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका अनुसार, सो बराबरको रकम कोषमा दाखिला भएसँगै सानेपामा जोडेको बाँकी डेढ रोपनी जग्गा र घर जफत प्रक्रिया अगाडि बढेको हो । यसअघि सम्पत्ति जफतका लागि क्याबिनेटको निर्णय अनिवार्य थियो तर हालैमात्र यसको तजबिजी अधिकार गृहमन्त्रीलाई दिइएको छ । गृह मातहतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले यससम्बन्धी फाइल बनाएर यसै साताभित्र पठाउने र उक्त सम्पत्ति जफत हुने जनाइएको छ ।

उता, पछिल्लो समय वायुसेवा निगमका पूर्वअध्यक्ष दिवंगत रामाज्ञाप्रसाद चतुर्वेदी, जल उत्पन्न प्रकोप नियन्त्रण विभागका पूर्वमहानिर्देशक दिवंगत आमोदानन्द मिश्र, आन्तरिक राजस्व विभागका पूर्वनिर्देशक मुरारीबहादुर कार्की, मेची भन्सार कार्यालयका पूर्वप्रमुख केशरजंग खड्का र भन्सारका पूर्वनायब सुब्बा दिवंगत केदारनाथ ढुंगानाको काठमाडौं उपत्यकामा रहेको घरजग्गा जफत भइसकेको छ । चतुर्वेदीको काठमाडौं महानगरपालिका– ३३, पेप्सिकोलामा रहेको दुई रोपनी ११ आना, मुरारीको सिनामंगलस्थित १० आना तीन पैसा क्षेत्रफलको जग्गा र त्यसमा बनेको घर, आमोदानन्द मिश्रको लाजिम्पाटस्थित आठ आना दुई पैसा जग्गा र त्यसमा बनेको घर, केशरजंग खड्काको काठमाडौं कोटेश्वरमा रहेको दुई रोपनी तीन आना दुई पैसा दुई दाम जग्गा जफत भइसकेको गृहले जनाएको छ ।
 

टिप्पणीहरू