सरकार ढल्ने प्रचण्डको सूचना

कांग्रेस-एमाले गठबन्धन धेरै नटिक्ने दावी गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले औपचारिक रुपमै सरकारको आयु धेरै नभएको निष्कर्ष निकालेको छ ।
आज बिहान बसेको संसदीय दलको बैठकमा अध्यक्ष तथा दलका नेता पुष्पकमल दाहाल प्रचण्डले त्यस्तो निचोड सुनाएका हुन् । सत्तारुढ दलभित्रकै अन्तर्विरोधका कारण सरकार ढल्ने परिस्थितिमा पुगिसकेको अध्यक्षले बैठकमा गरेको ब्रिफिङ प्रमुख सचेतक हितराज पाण्डेले सञ्चारकर्मीलाई सुनाए ।
सरकार पूर्णरूपमा असफल भैसकेको र जुनसुकै बेला ढल्नसक्ने निष्कर्ष निकालेको माओवादीले त्यसपछि पार्टीको भूमिकाबारे भने प्रष्ट पारिसकेको छैन । अध्यक्ष प्रचण्डले सार्वजनिक मंचहरुमा ०८४ अघि सरकारमा नजाने दावी गर्दै आएका छन् । शेरबहादुर देउवालाई निशर्त प्रधानमन्त्री अफर गरेका उनले सरकारमा जान हतारिएको संकेत पनि संगसंगै दिएका छन् ।
तर, देउवा सत्ता समीकरण फेर्न तयार भैसकेको देखिंदैन । प्रधानमन्त्री ओलीले आलोपालो सहमतिअनुसार समयमै कुर्सी हस्तान्तरण गर्नेमा विश्वस्त रहेका उनी आजको मितिसम्म अहिलेकै गठबन्धन जोगाएर जाने पक्षमा रहेको बुझिन्छ ।
ओलीसँग मिलेरै छैठौँ पटक प्रधानमन्त्री बन्ने दाउमा रहेका उनी समीकरण फेरबदलको खेलमा लाग्दा 'यता न उता' होइने हो कि भन्नेमा निकै सचेत देखिन्छन् । र, अहिलेसम्म नयाँ समीकरणबारे मुख खोलेका छैनन्।
यो स्थितिमा देउवा 'उपचारका' लागि भारतले दक्षिण एसियाली मुलुकको सत्ता-राजनीतिका महत्वपूर्ण र गोप्य भेटवार्ताको थलो बनाएको बैंकक पुगेका छन् । जसका कारण राष्ट्रिय राजनीति झन् तरंगित भएको छ । परराष्ट्रमन्त्रीसमेत रहेकी पत्नी आरजुसहित सपरिवार त्यता गएका देउवाले अझ त्यहाँ भारतीय नेताहरूसँग भेटवार्ता गर्न लागेको चर्चाले सिंहदरबार हुँदै बालुवाटारसम्म हलचल ल्याइदिएको छ ।
देउवा दम्पत्तिको बैंकक भ्रमणसँग सरकारको भविष्यलाई जोडेर गरिएका चर्चाको खण्डनमा प्रधानमन्त्री स्वयं उत्रनुले पनि हलचल मच्चिएको अनुमान गर्न सकिन्छ । 'नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजियो,’ काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा उनले असन्तुष्टि जनाउँदै भनेका थिए ।
त्यसो त, सरकार र प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर कांग्रेसभित्र चर्को असन्तुष्टि छ । शुरुबाटै विपक्षमा रहेका शेखर कोइरालामात्र हैन सरकारलाई सफल बनाउन विभिन्न कार्यदलमा बसेर काम गरिरहेका महामन्त्री गगन थापासमेत पछिल्लो समय रुष्ट भएको स्थिति छ । यो सबै बुझेका ओलीले असर १७ गते मध्यरातको सहमतिअनुसार अबको १५ महिनापछि देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने दोहोर्याएका छन् । सरकार गठन भएदेखि नै उनले कांग्रेसलाई विश्वासमा लिन 'आलोपालो सहमति नतोड्ने' बचन दोहोर्याउँदै आएका छन् ।
सरकार ढल्ने परिस्थितिमा पुगिसकेको अध्यक्षले बैठकमा गरेको ब्रिफिङ प्रमुख सचेतक हितराज पाण्डेले सञ्चारकर्मीलाई सुनाए ।
यता, दुई ठूला दल मिलेपछि अकल्पनीय रुपमा सत्ताबाट बाहिरिएको माओवादी गठबन्धन टुटाउने उपयुक्त मौकाको खोजीमा देखिन्छ । प्रचण्डले लगातार सरकार लामो समय नजाने जिकिर दोहोर्याईरहेका छन् । देउवा बैंककबाट फर्किएपछि कुराकानी अघि बढाउने उनको तयारी छ । आज संसदीय दलको बैठकमा अध्यक्षले यस्तै आसयको भनाई राखेको एक सांसदले बताएका छन् ।
माओवादीले बजेट अधिवेशनमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । नीति तथा कार्यक्रम, प्रि बजेट लगायतका विषय र बजेटका बारेमा जनताका भावनालाई समेटेर आवाज उठाउन अध्यक्षले निर्देशन दिएको प्रमुख सचेतक पाण्डेले बताए ।
त्यस्तै, शिक्षक आन्दोलनको सन्दर्भमा सरकार गैरजिम्मेवार बनेको माओवादीको ठहर छ । आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने विषयमा छलफल भएको उनले जानकारी दिए । विद्यालय शिक्षा विधेयक अघि बढाउन प्रतिपक्षमा रहेका अन्य दलहरुसँग सहकार्य गरेर जाने बैठकको निर्णय छ ।
टिप्पणीहरू