कान्छारामले गभर्नर नियुक्तिमा २० करोड मागेको आरोप

कान्छारामले गभर्नर नियुक्तिमा २० करोड मागेको आरोप

नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्रीको बर्खास्तीमा परेका निवर्तमान उर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङमाथि गम्भीर आरोप लगाएका छन् । 

नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ठेकेदारसमेत रहेका कांग्रेस सांसद कान्छारामले २० करोड डिल गरेको बस्नेतले दाबी गरेका हुन् । रकम बार्गेनिङ्ग गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्रीबाट बर्खास्त गरेको उनको जिकिर छ । 

विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङसँग मिलेर कान्छारामले अबौँको ठेक्का हात पार्ने योजना बनाएको पनि उनले आरोप लगाएका छन् । कुनै समय प्रधानमन्त्री ओलीको प्रियपात्र भनी चिनिएका तर अहिले 'कोर टिम' बाट बाहिर परेका बस्नेतले कुलमान जोगाएको नाटक गर्दै कान्छारामले यस्तो खेलोमेलो चलाएको दावा गरे । 

‘ठेकेदार कान्छाराम उर्फ पूर्णबहादुर, जसले उर्जा राज्य मन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गर्छ’, उनले भनेका छन्, ‘अझै खतरनाक कुरा त राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीज्यूले बर्खास्त गर्नु भयो।’

बस्नेतले ‘जो चोर, उसैको ठूलो स्वर’ भनेझै तामाङले बर्खास्तीपछि प्रधानमन्त्रीविरुद्ध जथाभावी अभिव्यक्ति दिइरहेको भन्दै कडा चेतावनी पनि दिएका छन् । ‘कान्छाराम मिडियामा प्रधानमन्त्रीविरुद्ध राजनीतिक आडमा पद फुस्केपछि अनावश्यक आरोप लगाएर नौटंकी गरिरहेको छ’, उनले थपेका छन् । 

उता मन्त्री तामाङले भने प्रधानमन्त्री ओलीलाई ‘बा’ नभनेका कारण बर्खास्तीमा परेको बताएका छन् । थाइल्याण्ड भ्रमणमा रहेका पार्टी सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि सरकार छोड्न आग्रह गर्ने नमाने संसदीय दलमा च्यलेञ्ज गर्ने घोषणा गरेका चाहन । जुनसुकै मूल्यमा ओली सरकार ढालेरै छोड्ने उनको उद्घोष छ । 

‘केपीलाई कहिलेसम्म राजा बनाउने हो ? कहिलेसम्म जंगबहादुर बनाउने हो ? सभापतिज्यू फर्किएपछि यो केपीसँग बस्नुहुन्न, यो सरकार छिटै छोडौँ भनेर अनुरोध गर्ने हो’, कान्छारामले जनआस्थासँग भने, ‘यदि उहाँले मान्नु भएन भने, केपीलाई पर्खाएर म प्रधानमन्त्री बन्ने हो, उसले पालो दिन्छ भन्नुभयो भने दलको नेतामा पनि खेल खेल्छु, त्यो खेल खेल्न म मज्जाले सक्छु ।’
 

टिप्पणीहरू