जर्नेललाई किन चाहियो नौ करोडको घर ?

एक जना सरकारी जागिरेले जीवनभरको कमाइ जोहो गर्दा कति रकम खर्चिएर घर किन्न सक्ला ? एक करोड ? २ करोड ? एक जना जर्नेलले भने पूरै नौ करोडमा घरजग्गा किनेको चर्चा छ । स्रोतका अनुसार जंगी अड्डाको समारोह प्रबन्धकमा रोशन खड्काले महाराजगञ्ज र बुुढानीलकण्ठबीचको हात्तीगौंडा एरियामा त्यति रकम हालेर घरजग्गा किनेको भेटिएसँगै सैनिक प्रहरीले समातेर छानबिन शुरु भएको छ । अस्वाभाविक रकम खर्च गरेको हल्ला चलेपछि निगरानीको मेकानिज्म पनि बनाउनुपर्ने खाँचो देखिएको छ ।
विभागीय सोधपुछ हुँदा यस्ता कुराहरू लुकाउने चलन सामान्य नै बन्ने गरेको अवस्था छ तर कडिकडाइ गर्दा यस्ता घोटाला सतहमा आउने गरेको पाइन्छ । खड्काले यति धेरै रकम कसरी जम्मा गरे होलान् भनेर छानबिन गर्ने हो भने कल्याणकारी कोषमा हुने चलखेल छरपष्ट देखिने पक्का छ । उक्त कोषबाट सैनिकलाई कर्मचारी सञ्चयकोषले जस्तै सञ्चित रकमको अनुपातमा केही रकम थपी आवासको निम्ति समेत सुविधा दिने व्यवस्था छ । यसै सुविधाको दुरूपयोग गर्दै खड्काले त्यति सम्पत्ति जोगाड गरेको हुनसक्छ ।
कोषमा २० वर्षको कार्यकालभरि अधिकृतस्तरका सैनिकको करिब १० लाख रकम जम्मा हुन्छ । सिपाहीको पनि ६–७ लाखसम्म पुग्छ । यस्तो रकम विभिन्न कारणले पल्टन छोडेका तर रुपैयाँ लिन नआएका, नभ्याएका वा अचानक विदेशिएकाहरुको अलपत्र परेको अवस्थालाई दुरुपयोग गरिएको प्रमाणित भइसकेको छ । द्वन्द्वकालमा जागिर छोडेका, भागेका, अचानक राम्रो अवसर आउँदा विदेशिएकाहरूको एकाध लाख हिसाब लगाउँदा पनि २०सौं करोड रुपैयाँको अपचलन गर्न सकिन्छ । खड्काले कल्याणकारीमा बस्दा यी सबै कुराको जानकारी संकलन गरेपछि अस्वभाविक हैसियत बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यो गिरोहले पल्टन–पल्टनमा गई गोप्य रूपमा रिपोर्ट लिने गरेको पाइएको छ । मेजर तहका अधिकृतले मात्रै सेनामा यत्रो रकम तलमाथि गर्न सक्ने हैसियत नै राख्दैन । बाग्लुङमा बाहिनीपति बसिसकेका खड्का शान्ति सेनाको कमाण्डर भई दक्षिण सुडानमा पनि खटिएका थिए ।
यही काण्ड छताछुल्ल भएपछि कल्याणकारीका मेजर समिर गुरुङ भागेर बेलायत पुुगेका छन् भने निजकी पत्नी मेजर मन वा बुद्धकुमारी थेवेसँग सोधखोज गर्दा थप कुरा खुलेको छ । समिरका बुबा पनि मेजर नै थिए ।
टिप्पणीहरू