जिते फुकुवा, हारे समय ढुकुवा

माउ पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को रोग एमाले समर्थित पत्रकारको संगठन प्रेस चौतारीमा पनि सरेको छ । वैशाख ५ गते शुक्रबार सम्पन्न सञ्चारिका समूहको चुनावमा एमालेको प्रेस चौतारी र कांग्रेसको नेपाल प्रेस युनियनले पत्रकार महासंघमा झैं गठबन्धनका उम्मेदवार खडा गरेका थिए ।
त्यसलाई चुनौती दिँदै अध्यक्ष उठेकी पवित्रा सुनार, उपाध्यक्ष लोकसरी कुँवर, सदस्यद्वय दीपा रेग्मी र तारा चापागाइँको सातो टिप्ने काम भयो । लेटरप्याड र छापसमेत नलगाइएको एउटा चिर्कटोमा महासचिव हिरामान लामाले कारबाहीको जानकारी दिएका थिए भने सो जानकारीलाई वर्तमान अध्यक्ष गणेश पाण्डे र निवर्तमान अध्यक्ष गणेश बस्नेतले फेसबुकमार्फत् सेयर गर्दै कारबाहीको समर्थन गरेका थिए ।
सुनारमाथिको कारबाहीबारे लामाले चिर्कटोमा नलेखे पनि निवर्तमान अध्यक्ष बस्नेतले भने आफ्नो अनलाइन जनता टाइम्समार्फत चौतारीबाट निश्कासन गरेको बताएका थिए । माओवादीको पिछलग्गु भई पार्टीविरोधी काम गरेको आरोप झेल्न बाध्य दीपा रेग्मी र तारा चापागाइँले चुनाव जितेका छन् । हार्ने पवित्रा र लोकसरीविरुद्धको कारबाही भने जो जिता वही सिकन्दर बन्ने खतरा छ ।
पत्रकार महासंघको चुनावताका एशोसिएटको तर्फबाट विद्रोही उम्मेदवार मनुका कुँवरले जितिन् । उनलाई प्रेस चौतारीले ५ वर्षका लागि संगठनबाट निश्कासित गरेको थियो । जितेपछि कारबाही फुकुवा भएको छ । यसरी हेर्दा जिते तुरुन्तै कारबाही फुकुवा र हारे अलि समय पर्खिनुपर्ने अनौठो चलन देखिन आउँछ ।
प्रचारविभाग सचिवको जिम्मेवारीबाट अलग्गिएर चौतारीको अध्यक्ष बनेका पाण्डेको ठाउँमा श्रीधर आचार्य आउने सम्भावना छ ।
टिप्पणीहरू