शिक्षक आन्दोलन : सिंहदरबारमा वार्ता, गाउँपालिकामा चेतावनी

नेपाल सरकार र शिक्षक महासंघबीच आन्दोलन स्थगित गर्ने, माग पूरा गर्ने सम्बन्धमा भएको छलफललाई निरन्तरता दिने सहमति भएको छ । आज बिहान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहितको सरकारी टोली र महासंघका प्रतिनिधिहरुबीच भएको छलफल सकारात्मक रहेको बताइन्छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा शिक्षकहरुले माग पूरा हुनुपर्ने कुरो राखेका थिए । उनीहरुले आजको वार्तामा शिक्षा ऐनको मागमा जोड दिएका हुन् । आन्दोलन शुरु भएको २५ दिनमा पहिलो पटक शिक्षकहरुसँग सरकारी अधिकारीहरुले वार्ता गरेका हुन् । शिक्षकहरु विद्यालय शिक्षा विधेयकमाथि सदनमा छलफल थालेपछि मात्रै आन्दोलन रोक्ने मनस्थितिमा देखिन्छन् ।
उता गुल्मीको कालीगण्डकी गाउँपालिकाले भोलिदेखि विद्यालय सञ्चालन नगरे राजीनामा दिन शिक्षकहरुलाई निर्देशन दिएको छ । गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले विद्यालय सञ्चालन नगरे राजीनामा दिन वा सरुवाको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् ।
उनले यसअघि पनि विज्ञप्ति जारी गरेर शिक्षकहरुलाई विद्यालय सञ्चालनका लागि आग्रह गरेका थिए । उक्त गाउँपालिकामा सामुदायिक र संस्थागत गरेर ४५ विद्यालय छन् । ती विद्यालयमा तीन हजारको हाराहारीमा विद्यार्थी संख्या रहेको बताइन्छ ।
टिप्पणीहरू