आज वार्षिकोत्सव, लगत्तै गभर्नर नियुक्ति

नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा नियुक्तिको प्रक्रिया अघि बढाउने सहमति भएको छ । सम्भवतः बिहीबारको क्याबिनेट बैठकमा गभर्नर नियुक्ति गर्ने समझदारी हिजो राति बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटमा भएको बुझिएको छ ।
बालुवाटार स्रोतका अनुसार प्रक्रिया मिलाएर बैंकका कार्यकारी निर्देशकबाट हालै राजीनामा दिएका गुणाकर भट्टलाई गभर्नर नियुक्ति गरिने पक्का भएको हो । अदालतमा मुद्दा दायर भएको, कायम मुकायम गभर्नरको जिम्मेवारीमा रहेकी डेपुटी निलम ढुंगाना तिम्सिनाले उनको राजीनामा स्वीकृत नगरेको अवस्था र गभर्नर सिफारिस समितिका एक जना सदस्यले राजीनामा दिएको स्थानमा पूर्ति गर्नुपर्ने भएकाले सबै प्रक्रिया मिलाउनुपर्नेमा सभापति देउवा सहमत हुनुभएको बताइन्छ ।
कायम मुकायम निलमले गभर्नर दौडमा आफूलाई भाँजो हाल्ने बुझेपछि भटट्को राजीनामा स्वीकृत नगरेकी हुन् । उक्त कार्य गत महिना संसदबाट पारित भएको सुशासन (व्यवस्थापन तथा सञ्चालन ऐन) २०६४ विपरीत रहेको कानुन व्यवसायीहरुको बुझाइ छ । ऐनमा भएको व्यवस्थालाई परिमार्जन गर्दै दफा १५ को (क) मा सात कार्यदिन थपिएकाले सरकारी अधिकारीहरुले कुनैपनि कार्य बढीमा सात कार्यदिनभित्र आवश्यक निर्णय गरिसक्नुपर्ने अनिवार्य हुन्छ । भट्टको राजीनामा स्वीकृति पनि सोही कानुनसँग जोडिएको छ ।
बैंकले आज आफ्नो ७० औं स्थापना दिवस मनाउँदै छ । दिउँसो बालुवाटारस्थित केन्द्रीय कार्यालयमा आयोजना गर्न लागिएको समारोह उनै ढुंगानाको सभापतित्वमा हुँदै छ । भूतपूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलाई ढुंगानाले सम्मान गर्ने कार्यक्रम छ । कतिपय भूतपूर्व गभर्नरले आजको कार्यक्रममा सहभागी नहुने बताएका छन् ।
टिप्पणीहरू