शिवसेना नेपालका अध्यक्ष अनिल बाबा पक्राउ

काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा अराजक गतिविधि गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।
राजसंस्था पुनस्र्थापनाको पक्षमा वकालत गर्दै आएको शिवसेना नेपालका अध्यक्ष अनिल बाबा भनिने अनिल बस्नेतलाई प्रहरीले आज धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो ।
‘राजसंस्था पुनस्थापनाको लागि संयुक्त जनआन्दोलन समिति’ को बैठकमा भाग लिन नवदुर्गा पार्टी प्यालेस पुगेका उनलाई बैठकबाट निस्कनेबितिक्कै मध्यान्ह १२ बजे प्रहरीले समातेको बताइएको छ । पक्राउ परेका बस्नेतलाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको थप अनुसन्धानका लागि आवश्यक प्रक्रिया मिलाउने काम भइरहेको जनाइएको छ ।
टिप्पणीहरू