आफू तस्करी गर्ने,अरुलाई तर्साउने ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी तथा परराष्ट्रमन्त्री डा. आरजु राणाका एकमात्र पुत्र जयवीर देउवालाई मुछिएको घटनामा हिल्टन होटलका मालिकले आपत्ति जनाएका छन् । राजधानीको नक्सालमा गत वर्ष खुलेको पाँचतारे होटल जयवीरले खरिद गरेको समाचारप्रति उनी खनिएका हुन् ।
शंकर ग्रुप र जगदम्बा हस्पिटालिटीले हिल्टन होटलको सेयर जयवीरले नकिनेको दाबी गरेका छन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘होटल खरिद बिक्री विषयमा भ्रामक तथा आधारहीन समाचार प्रकाशित तथा प्रशारित भएकोप्रति हामी आश्चार्यचकित भएका छौँ र यस अफवाहप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
उक्त होटल गत साउनदेखि सञ्चालनमा आएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले चौथो पटक प्रधानमन्त्री भएलगत्तै उक्त होटलको उद्घाटन गर्नुभएको थियो ।
शंकर ग्रुपका मालिक शुलभ अग्रवाल कोरोना महामारीमा कूटनीतिक नियोगको गाडीमा थर्मल–गन बिक्री गर्दै हिँडेको आरोपमा पक्राउ परेका थिए । करिब तीन हजार रुपैयाँको थर्मल–गनलाई १५ हजारमा बेचेको आरोपमा अग्रवाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रंगेहात पक्राउ गरेको थियो ।
किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत उनको नीलो नम्बरप्लेटको गाडीबाट ६६ थान थर्मल–गन बरामद भएको थियो । उनी जगदम्बा स्टिल्स र सिमेन्टका मालिक पनि हुन् ।
जगदम्बा स्टिल्स र सिमेन्टको मुख्य समूह शंकर ग्रुपले नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता वापत १ अर्ब ९० करोड बुझाउन बाँकी छ । सोही रकम मिनाहाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गर्दै आएको अग्रवाल परिवारले होटल बिक्रीको आधिकारिक सूचना पत्ता लगाउन चुनौति दिएको छ ।
टिप्पणीहरू