छिमेकमा युद्धविराम, नेपालका सीमा कमाण्डर इधर उधर

सशस्त्र प्रहरी बलले भारत र पाकिस्तानबीच आक्रमण प्रत्याक्रमण शुरु नहुँदै भारतसँगको सीमामा सुरक्षा बललाई सशक्त बनाएको जानकारी दिएको थियो । लामो समयदेखि सीमा विभाग हेर्ने अतिरिक्त महानिरीक्षक (एआइजी) रिक्त रहेको अवस्थामा छिमेकमा तनाव बढ्यो ।
एआइजी सिपी गौतम घर गएपछि उनको भूमिका निर्वाह गर्न सोही विभागका डिआइजी कमल गिरीलाई निमित्तको जिम्मेवारी दिइयो । उनै डिआइजी पनि लामो समयदेखि बढुवाको चक्करमा बिदा बसेर हिजोदेखि कार्यालयमा हाजिर भएको बुझिएको छ । जबकि भारत र पाकिस्तानबीच अस्ति साँझदेखि युद्धविरामको सहमति भएको हो ।
सशस्त्र प्रहरी मुख्यालय हलचोकले एआइजीमा बढुवाको सूचना प्रकाशित गरेको हप्ता दिन नाघिसकेको छ । बढुवाका लागि नौ जनाले फर्म भरेका छन् । कमल गिरी,गणेश ठाडा,शम्भु सुवेदी,कुलबहादुर नेम्वाङ,प्रदीप पाल, लक्ष्मण सिंह,सुरेश श्रेष्ठ,कालीदास धौबजी लाइनमा छन् ।
मुख्यालयका अनुसार एआइजी चन्द्रप्रकाश गौतम अवकाश भएपछि रिक्त पद भर्न लागिएको हो । उनले सीमा विभाग हेरिरहेका थिए तर सीमा सुरक्षाजस्तो संवेदनशील विभागमा लामो समयदेखि बढुवा सिफारिस नगरेर खाली राख्नुलाई अर्थपूर्ण ठानिएको छ ।
गृह मन्त्रालय स्रोत भन्छ, ‘भारत-पाकिस्तान तनाव बढेपछि सीमामा सशस्त्र परिचालन गरिएको भनियो । उनीहरुबीच चार दिन युद्ध नै भयो तर सीमा विभाग हाम्रोमा निमित्त डिआइजीको जिम्मामा राखियो । उनै डिआइजी पनि लामो समय बिदामा बसिदिए । बढुवाको लागि दौडेका उनी हिजोदेखि मात्रै हाजिर भएको बुझिएको छ ।’
यसबीच गत शुक्रबार सीमा विभागको पनि जिम्मेवारी कार्य विभाग प्रमुख एआइजी नारायणदत्त पौडेललाई थपिएको छ । तर,त्यसअघि नै एक जना डिआइजीलाई बढुवा गर्नुपर्नेमा न गृह तात्यो न सशस्त्र मुख्यालय नै । हुन तः एआइजी बढुवा प्रक्रिया थाल्ने जिम्मेवारी गृह सचिव र महानिरीक्षक दुबैको संयुक्त हो । किनभने बढुवा समितिको संयोजक सचिव र सदस्य आइजी हुने व्यवस्था छ । तर श्रीलंका गएका गृहसचिव गोकर्णमुनि दवाडी हिजो मात्रै आइपुगेका छन् ।
बढुवाको निम्ति यतिखेर कमल गिरी वरिष्ठताको १ नम्बरमा छन् भने गणेश ठाडा २ नम्बरमा । सर्सर्ति हेर्दा निमित्त, त्यसमा पनि वरिष्ठतामा सबैभन्दा अगाडि रहेका गिरी त्यहाँ हुँदाहुँदै सहजै उनैको बढुवा हुन्थ्यो भने किन दौडधुप गर्नुपर्थ्यो भन्नेहरु पनि छन् । उनी पछाडिका गणेश ठाडा पनि घरदैलोमै ब्यस्त देखिन्छन् ।
यति हुँदाहुँदै पनि एआइजी बढुवा प्रक्रिया अझै लम्बिने संकेत देखिएको छ । ज्येष्ठतामा एसपीसम्म ठाडा मगर अगाडि थिए । एसएसपी र डिआइजी हुँदा गिरीले उछिनिदिए।
टिप्पणीहरू