समलिंगी जोडीलाई गाली गरेको आरोपछि एसएसपी- ‘पाँच रात हराएपछि सम्झाएको हुँ’

समलिंगी जोडीलाई छुट्याउन प्रहरीले शंकास्पद भूमिका खेलेको आरोपपछि ललितपुर प्रहरी परिसरले मुख खोलेको छ ।
अल्पसंख्यक समुदायको आवाज उठाउँदै आएको ‘मायाकाे पहिचान नेपाल’ नामक संस्थाले केहीदिन अघि रमिला र प्रमिला (परिवर्तित नाम)ले बिहे गरेर बस्न चाहेकोमा प्रहरीकै संग्लनतामा परिवारले ‘जर्बजस्ती अपहरण गरेको’ आरोप लगाएका थिए । परिसरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले उक्त आरोप खण्डन गरेका छन् ।
पूर्व संविधानसभा सदस्य सुनिल बाबु पन्त नेतृत्वको उक्त संस्थाले एसएसपी अधिकारीले प्रहरी कार्यालयमै समलिंगी जोडीलाई अपमानजनक शैलीमा गालीगलौज गरेको दावीसमेत गरेको थियो । समलिंगी जोडीलाई सम्झाइ-बुझाइ मात्र गरेको उनको प्रतिक्रिया छ ।
एसएसपी अधिकारीका अनुसार दुई साताअघि रमिलाका परिवारले ‘छोरी हराइन्’ भन्दै उजुरी दिएका थिए । त्यसपछि उनीहरुलाई प्रहरी कार्यालयमा बोलाइएको थियो ।
‘त्यो दिन (वैशाख २६) उनीहरुका परिवार पनि थिए, रमिलाको भाउजु र आमा अनि उनको पार्टनर (प्रमिला)को बुबा आएका थिए’, अधिकारीले जनआस्थासँग भने, ‘दुवै जना हराएको पाँच रात भइसकेको रहेछ, मैले चाहीँ बिहे गरेको कुनै कागजात छ भने देखाउ, हैन भने कानुनी प्रक्रिया पुर्याएर अघि बढ भनेर सम्झाएको हुँ ।’
परिवारले सन्तान खोजिदिन निवेदन दिएपछि प्रहरीले आफ्नो कर्तव्य मात्र पुरा गरेको एसएसपी अधिकारी बताउँछन् । ‘परिवारले छोरी हराइन् भनिसकेपछि हामीले त खोज्दिनै पर्यो नि, बाहिर उनीहरु के गर्दै हिँड्छन्, त्यो हाम्रो चासोको कुरा हैन, तर प्रहरी कार्यालयभित्र आएको विषयलाई समझदारी ढंगले निक्र्यौल गरेका हौँ’, उनले थपे ।
उक्त समलिंगी जोडीलाई गालीगलौज गरेको भन्ने आरोप सत्य नभएको उनले बताए । अघि भने, ‘उनीहरुको परिवार पनि सँगै थिए, मैले परिवारकै अघि किन गालीगलौज गर्छुहोला !’
बरु परिवारबाट सुरक्षा थ्रेट भए प्रहरीमा निवेदन दिन भनेको पनि एसएसपी अधिकारीले बताए । ‘मैले त झन् तिमीहरूलाई घरमा कुट्ने, पिट्ने वा त्यस्तो केही छ भने हामीलाई भन, निवेदन देउ भनेको थिएँ, तर उनीहरुले केही बोलेनन्’, उनले सुनाए।
टिप्पणीहरू