पक्राउ पर्नुअघि नै पैसा तिर्ने एमाले सांसदको तयारी

पक्राउ पर्नुअघि नै पैसा तिर्ने एमाले सांसदको तयारी
सुन्नुहोस्

एक वर्षअघि अदालतबाट पक्राउ पुर्जी जारी भएका, तर अहिलेसम्म समातिनबाट जोगिँदै आएका नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी मोरङ जान लागेका छन् । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहेको लुम्बिनीको कार्यक्रममा सामेल भएर उनी दिउँसो विराटनगरतर्फ लागेका हुन् । विराटनगरमा मुख्य कार्यालय रहेको पल्लवी इलेक्ट्रो प्रालिसँगको विवाद समाधान गर्न त्यता जान लागेको उनले जानकारी दिए । 

आज बिहान लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा प्रधानमन्त्रीसँगै देखिएपछि पन्थीविरुद्धको पक्राउ पुर्जी चर्चामा छ । राजनीतिक दबाबको कारण प्रहरीले पक्राउ गर्न नसकेको भन्दै प्रश्न उठिरहेको र प्रदेश प्रहरीले पनि गायब भएको पक्राउ पुर्जी खोजि गरिरहेको पृष्ठभूमिमा उनी आफैँ विवाद मिलाउन तम्सिएका हुन् । जनआस्थाको सम्पर्कमा आएका उनले भने, ‘म अहिले जाँदैछु । भैरहवा (जहाज)बाट जाने कि गाडीमा जाने, साथीहरुसँग सल्लाह हुँदैछ ।’

कपिलवस्तुको बाणगंगा नगरपालिका घर भएका पन्थीले आफूमाथि नसोचेको समस्या आइलागेको पनि बताए । व्यवसायीक साझेदार देवराज खनालको कारण दुख पाएको उनको अनुभव छ । 

‘त्यसको (पल्लवी इलेक्ट्रो) बिल कति हो, त्यो मलाई थाहा छैन, तर १८ लाख भनेको सुन्छु, ५/६ लाख दिइसकेको छ रे, बाँकी पैसाको लागि यत्रो मुद्धा मामिला भाको रैछ’, उनले खुलाउँदै भने, ‘उसले (खनाल) सबै मिलाइसकेँ भन्थ्यो, अहिले अष्ट्रेलियामा आनान्दले बसेको होला, मलाई त मुद्धा के हो, पक्राउ पत्र कहिले जारी भएको हो, केही थाहा थिएन ।’

पल्लवी इलेक्ट्रोले दायर गरेको रिटमा ०७७ मंसिर २३ गते जिल्ला अदालत मोरङका तत्कालीत न्यायाधीश मेदिनीप्रसाद पौडेलेको इजलासले पन्थी र खनालबाट बाँकी रकम (१३ लाख ५४ हजार) भराउन आदेश दिएको थियो । र, आदेश कार्यान्वयन नभएपछि अदालतले गत वर्ष जेठमा पक्राउ पुर्जी जारी गर्दै दुवै जनालाई ६ महिना कैद गर्न आदेश दिएको हो । तर, पन्थीले भने रकम भराउने अदालतको आदेशबारे नै जानकारी नभएको बताएका छन् । 

‘म राजनीति गर्ने मान्छे, जानकारी भएको भए जाबो आठ दश लाख तिर्दैनथे होला र ! आफै बद्नाम हुने रहर कसलाई हुन्छ ! कि करोडौँ भएको भए बेग्लै कुरा, मलाई बदनाम गर्न के गरियो गरियो’, पन्थीले दु:खेसो पोखे । 

समस्या समाधानको लागि वकिलहरुसँग परामर्श गरिरहेको र भोलिसम्ममा हल भइसक्ने पनि उनले जानकारी दिए । ‘वकिलसँग कुरा गरिरहेको छु, म पनि आजै साँझ वा भोलि बिहानसम्म त्यहाँ (विराटनगर) पुगिहाल्छु, त्यसपछि हल निस्किहाल्छ’, उनले थपे । 

उता हालै लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका (डिआईजी) राजेन्द्र प्रसाद भट्टले पन्थीविरुद्धको पक्राउ पुर्जीबारे सोधखोज गर्दै कानुनअनुसार अघि बढ्न माताहतका जिल्ला इञ्चार्जहरुलाई निर्देशन दिएको बुझिएको छ ।

टिप्पणीहरू