ढुकुटी रित्तिएपछि प्रधानमन्त्रीको जोश गायब

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको ढुकुटीमा पैसा नभएको कारण काम गर्ने आँट नआएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुन लागेको सिनेपा (चलचित्र छायांकन स्टुडियो)को शिलान्यास गर्दै उहाँले ‘यताको बजेट उता र उताको बजेट यता’ ल्याएर काम गरिरहेको जानकारी दिनुभएको छ ।
आफू अघिल्लो पटक (तीन वर्षअघि) प्रधानमन्त्री हुँदा थालिएका कतिपय काम अहिले फेरि दोहोर्याएर गर्नुपरेको प्रधानमन्त्री ओलीको दुःखेसो छ । ‘तीन वर्षअघि मैले जहाँ गाडी रोकेको थिएँ, त्योभन्दा एक कदम अघि बढेको रहेनछ, अहिले फेरि त्यहिँबाट अघि बढ्नुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो, ‘खल्तीमा पैसा भए पो आँट आउँछ, राज्यको ढुकुटी रित्तो छ, पैसा सकिएको छ, काम भएका छैनन्, त्यसैले अचेल मैले पनि त्यो गर्छु, यो गर्छु भन्या छैन । पैसा भए पो आँट आउने !’
एमाले अध्यक्ष ओलीले कलाकारहरुलाई चलचित्र क्षेत्रको विकासमै केन्द्रित हुन सम्बन्धित सबैलाई आग्रह पनि गर्नुभयो । नत्र धुर्मुस–सुन्तलीजस्तो दुःख पाइने उहाँको तर्क छ । ‘मैले त्यहाँ (चितवन) गाह्रो छ बाबु नानी, त्यसो नगर भन्दाभन्दै शुरु गरिहालेँ, तर बहुत दुःख पाएँ, माया लाग्छ मलाई’, उहाँले थप्नुभयो ।
प्रधानमन्त्री ओली बरु गोर्खाको पालुङटारमा सिने सिटी निर्माण गर्ने योजना बनाउन कलाकारहरुलाई सुझाव पनि दिनुभयो । ‘त्यहाँ खोलामा हाम फाल्ने साना सानो पुल बनाऔँ, हिरोइन रिसाएर कुद्दै मस्र्याङ्दीमा हाम फाल्दिन्छे’, दृश्य कल्पना गर्दै सुनाउनुभयो, ‘त्यसपछि बहादुर हिरो जान्छ हिरोइनलाई बचाउन, त्यहाँ छायाङ्कन गर्दा खतरा पनि हुँदैन, पृष्ठभूमिमा माछापुच्छ्रे«, अन्नपूर्ण र मनास्लु देखिन्छन्, यति देखेपछि दर्शक दंग ।’
कलाकारहरुले आफ्नो सिर्जनामा मुलुकको विकासको प्रचार गर्नुपर्ने उहाँको भनाई छ । अघि भन्नुभयो, ‘रेल अब नेपालको लागि नौलो कुरा हैन, जनकपुरमा रेल कुदिरहेकै छ, तर तपाईहरु गीत बनाउनुहुन्छ, दार्जीलिङको रेल.....त्यहाँ जनकपुरको रेल भन्नु पर्थेन ?’
रोचक के भने, कार्यक्रममा प्रधानमन्त्री ओली बोल्नुअघि वरिष्ठ कलाकार नीर शाहले ‘फिल्म स्टुडियो बन्न पनि ६० वर्ष लाग्यो’ भन्दै नेताहरुलाई कटाक्ष गरेका थिए । त्यसमा पनि ओलीले जवाफ फर्काउनुभयो, ‘उहाँले ६० वर्ष किन लाग्यो भन्ने गम्भीर कुरा गर्नुभयो । म पनि अलि अघिदेखि नै प्रधानमन्त्री हुँदै आएकोले मेरा कमजोरी स्वीकार गर्छु । तर के गर्नु, स्टुडियोको लागि जग्गा खोज्दा एउटाले मुद्दा हाल्दिन्छ, अर्को प्रक्रिया अघि नबढ्दै फेरि दोस्रो मुद्दा पर्छ, यस्तै छ नेपाल ।
टिप्पणीहरू