अँकुश लाउन मध्यराति बालुवाटारमा यस्तो जुट्यो सहमति

अँकुश लाउन मध्यराति बालुवाटारमा यस्तो जुट्यो सहमति फाइल फाेटाे

संसदीय समितिबाट लामो रस्साकस्सीपछि २ वर्ष कुलिङ्ग पिरियड राखेर निजामती सेवा विधेयक पारित भएको छ । आज बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयक सर्वसम्मत पास गरेको हो । 

कुलिङ पिरियड,उमेर हद र अतिरिक्त सचिव राख्ने विषयमा प्रमुख दलहरुबीच विवाद हुँदा समितिमा अड्किएको विधेयक अघि बढ्न सकेको थिएन । मुख्यत: कुलिङ पिरियड राख्ने कि नराख्ने भन्नेमा नेपाली कांग्रेस र एमालेबीचमै समान धारणा नहुँदा अलमल हुँदै आएको थियो । बताइएअनुसार सहमति जुटाउन हिजो राति बालुवाटारमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडासहित दुबै दलका शीर्ष नेता सम्मिलित बैठक बसेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओली,कांग्रेस सभापति शेरबहादुर देउवा,परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा,गृहमन्त्री रमेश लेखक,शिक्षामन्त्री रघुजी पन्त र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल मध्यरातिसम्म बसेर विवाद टुंग्याएको बताइएको छ । समितिबाट पास भएको विधेयक अब फुल हाउसमा पेश गरिनेछ । 

२०८० फागुनमा प्रतिनिधि सभामा दर्ता भएको निजामती सेवा विधेयक सैद्धान्तिक छलफलपछि दफावार छलफलका लागि गत वर्ष जेठमा राज्य व्यवस्था समितिमा आएको थियो । विधेयकमा संसदहरुले ५ सयभन्दा बढी संशोधन दर्ता गराएकोमा खासगरी कुलिङ पिरियड र अतिरिक्त सचिवको विषय बढी विवादमा थियो । 

संसदले विधेयक पास गरी ऐनको रुप ग्रहण गर्यो भने अब सचिव, सहसचिवलगायत उच्च तहका कर्मचारीले अवकासको कम्तिमा दुई वर्षसम्म अर्को नियुक्तिमा जान पाउने छैनन् । यसअघि सचिवबाट अवकास हुनेबितिक्कै एनजिओ,आएनजिओका साथै संवैधानिक निकायमा जागिर खाने प्रवृत्ति व्यापक थियो, छ ।  

राजश्व अनुसन्धान विभागको महानिर्देशक (डिजी) बाट अवकाश पाउनासाथ निजी कम्पनीमा मासिक १० लाख पारिश्रमिक लिएर सल्लाहकार बसेकाहरु पनि भेटिएका छन् । नयाँ प्रावधान लागु हुँदा यस्तो प्रवृत्ति रोकिने अपेक्षा गरिएको छ ।

अब सचिव,सहसचिवलगायत उच्च तहका कर्मचारीले अवकासको कम्तिमा दुई वर्षसम्म अर्को नियुक्तिमा जान पाउने छैनन् । यसअघि सचिवबाट अवकास हुनेबित्तिक्कै एनजिओ,आएनजिओका साथै संवैधानिक निकायमा जागिर खाने प्रवृत्ति व्यापक थियो,छ ।

टिप्पणीहरू