राजावादी सांसदद्वारा गणतन्त्रवादी नेताको शालिकमा माल्यार्पण

३२ औँ मदन–आश्रित स्मृति दिवसको सम्झनामा आज धनकुटामा श्रद्धाञ्जली सभासहित परिचर्चा कार्यक्रम आयोजना गरियो । स्वर्गीय एमाले नेता तथा वहुदलीय जनवादका सूत्रधार मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितलाई सम्झेर एमालेजनले मात्रै श्रद्धाञ्जली व्यक्त गरेनन् । राप्रपा नेता तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री भक्तिप्रसाद सिटौलाले पनि मदनको शालिकमा माल्यार्पण गरे ।
सिटौला कोशी प्रदेश सभामा राप्रपा संसदीय दलको नेता पनि हुन् । झापा क्षेत्र नम्बर ४ बाट निर्वाचित सिटौला सरल र शान्त स्वभावका छन् । प्रदेश सभाको शुसासन समिति सदस्य सिटौलाको टोली पहाडी जिल्लामा शुसासनको अवस्था बुझ्दै आजै धनकुटा पुगेको थियो । सोे क्रममा मदन चोक पुगेपछि भण्डारीको शालिकमा उनले गाडी रोकेर माल्यार्पण गरेका हुन् ।
राजावादी दलको नेता भएर गणतन्त्रवादी नेताको शालिकमा माल्यार्पण गरियो नि भन्ने प्रश्नमा सांसद सिटौलाले भने, ‘हिँड्ने बाटो सबैको अलग अलग हुनसक्छ तर राष्ट्रका लागि योगदान दिनेहरुलाई सबैले सम्मान गर्नुपर्छ । मैले त्यही गरेको हुँ ।’ निषेधको नाममा आडम्बरी राजनीति गर्नु फोहारी खेल रहेको उनको मान्यता छ । ‘राजनीति भनेको तथ्य र तर्कका आधारमा गर्नुपर्छ क्षणिक स्वार्थका लागि पानी बाराबार गरेर र आँगन नै बहिष्कार गरेर हैन,’ सांसद सिटौलाले भने ।
एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको रहस्यमय मृत्यु भएको दिन हरेक वर्ष जेठ ३ मा मदन–आश्रित स्मृति दिवस मनाइन्छ ।
टिप्पणीहरू