कुटाकुट ठाउँ ठाउँमा क्रमश :

केन्द्रमा अध्यक्ष केपी शर्मा ओलीको एकछत्र रहँदै आएको नेकपा (एमाले) तल्लो तहमा भने अन्तरकलह चर्किंदै गएको छ । तेस्रो कार्यकाल अध्यक्ष खाने तयारीमा रहेका ओलीलाई थप बलशाली बनाउनेगरी पार्टी र जनवर्गीय संगठनका भेला/सम्मेलन/अधिवेशन चलिरहँदा कार्यकर्ता समूहवद्ध भएर भिड्न थालेका छन् । पछिल्लो दुई सातायता मात्रै ताप्लेजुङ, धनुषा हुँदै पर्वतका कार्यकर्ता कुटाकुटमा उत्रिए ।
वैशाख २४ गते युवासंघ पर्वतको भेलामा दुई पक्षबीच झडप हुँदा संघका केन्द्रीय सदस्य अर्जुन पौडेलसहित तीन जना घाइते भएका थिए । अघिल्लो दिन मात्रै धनुषामा पनि स्थानीय कार्यकर्ता भिडेका थिए ।
जिल्ला अधिवेशनमा केन्द्रीय नेताहरूको स्वार्थ टकराउँदा स्थानीय नेता सत्यनारायण महासेठ र रामेश्वर दासको टाउको फुटेको थियो । उक्त लडाइँमा एउटा पक्षको नेतृत्व केन्द्रीय सचिव रघुवीर महासेठ र अर्कोको केन्द्रीय सदस्य उमाशंकर अरगरियाले गरेको बताइएको छ । त्यसपछि स्थगित अधिवेशन कहिले सुचारु हुने हो टुंगो छैन ।
त्यसअघि वैशाख १९ गते युवासंघको ताप्लेजुङ जिल्ला अधिवेशनमा पनि नेतृत्वको विषयलाई लिएर झगडा हुँदा कुटाकुटको स्थिति निम्तिएको थियो । सौराहा महाधिवेशनमा अध्यक्ष ओलीले कोटको खल्तीबाट नाम निकालेर वाचन गरेकै शैलीमा केन्द्रीय अध्यक्ष क्षितिज थेबेले नाम घोषणा गराउन खोज्दा विवाद भएर हात हालाहाल भएको हो । केही दिनका यी घटनाले प्रश्न उठेको छ कि कुनै समयको व्यवस्थित र अनुशासित पार्टी एमालेमा यो अवस्था किन आयो ?
केही वर्षअघिसम्म एमाले समकालीन राजनीतिक पार्टीहरूमै सबैभन्दा व्यवस्थित र अनुशासित पार्टी मानिन्थ्यो । केन्द्रीय कमिटीका बैठकमा देश र जनताका मुद्दा प्राथमिकतामा पर्थे । हप्तौँसम्म गरमागरम बहस गरेर निश्कर्ष निकाल्ने अभ्यास थियो । यस्तो गौरवशाली इतिहास बोकेको एमाले राजनीतिक, बैचारिक स्खलनसँगै पछिल्लो समय सांगठनिक भद्रगोलमा फस्दै गएको छ । जसका कारण जहाँ अधिवेशन भयो त्यही कुर्सी हानाहानको अवस्था आउन थालेको नेताहरू स्वीकार गर्छन् ।
पार्टी नीतिप्रधान हुनुपर्नेमा नेतामुखी हुँदै गएको र आजको दिन देख्नुपरेको गुनासो धेरैको छ । सार्वजनिक मञ्चमा अध्यक्ष ओलीको प्रशंसा गर्नेहरू अनौपचारिक संवादमा यो तथ्य स्वीकार पनि गर्छन् तर सुधार्ने हिम्मत उनीहरूसँग पनि छैन ।
कम्युनिष्ट पार्टीमा आलोचना, आत्मालोचनालाई निकै महत्व दिइन्छ । नेताहरूले सच्चिने प्रतिबद्धतासहित बैठकमा रुवाबासीसहित आत्मालोचना गरेका थुप्रै उदाहरण छन् । तर, माक्र्सवादमा भन्दा महाभारत, पुराण र पूर्वीय दर्शनको व्याख्यामा बढी रुचि राख्ने अध्यक्षलाई आलोचना, आत्मालोचनामा विश्वास नरहेको बुझिन्छ । हालै एक सार्वजनिक कार्यक्रममा उनले पार्टीभित्र आलोचना होइन एकता हुनुपर्नेमा जोड दिएका थिए ।
नेताहरू भन्छन्– यदि आत्मालोचना गर्नु गैरमाक्र्सवादी कुरा हो भने असन्तुष्टि र विवाद कसरी समाधान हुन्छ ? के सबै समस्या कारवाहीको प्रक्रियाबाट मात्र हल हुने हो ?
ओलीले पार्टीमा फरक बिचारलाई निमोठ्न आत्मालोचनाको विरोध गरे पनि पछिल्लो समय क्रमश: चुनौती भने तेर्सिन थालेको छ । विगतमा अध्यक्षसँग सिधा आँखा जुधाएर बहस गर्नसमेत हिच्किचाउने पदाधिकारीहरू पछिल्लो समय झिनै स्वरमा भए पनि बोल्न थालेका छन् ।
सचिवालय बैठकमा १० भाइ समूहका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे मात्र हैन ’रैथाने एमाले’ भनिने उपमहासचिव प्रदीप ज्ञवालीहरूले समेत तर्कपूर्ण बहसमा रुचि बढाएको देखिँदै छ ।
पछिल्लो सचिवालय बैठकमा राम्रैसँग कुरा गर्ने योजना नेताहरूको थियो । तर, एक घण्टा ढिलो बैठकमा पुगेर एक घण्टा एक्लै बोलेका ओली प्रचण्ड भेट्न भन्दै बीचमै दौडिएपछि त्यो अवस्था नरहेको खुलाउँदै एक नेता भन्छन्– अस्ति बैठक लामो गएको भए बोल्ने कुरा थियो ।
टिप्पणीहरू