नयाँ प्रहरी प्रमुखसँग परिचय, के थियाे आशय ?
जिल्ला प्रहरी कार्यालय चितवनमा हालै सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले यहाँस्थित विभन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग भेटघाट गरेका छन् । खासगरी महिला तथा बालबालिका र मानव उद्धारको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरु भेटघाटमा सामेल थिए । चिनाजानीसँगै यहाँको समस्या बुझ्दै सल्लाह–सुझाव संकलनको उद्देश्यले परिचयात्मक कार्यक्रम गरिएको बताइएको छ ।
कार्यक्रमकी एक सहभागीले जिल्ला प्रहरी कार्यालयमा महिला तथा बालबालिका सेल रहेपनि पीडितको संरक्षणको लागि आपत्कालीन सेवा केन्द्र नभएको भन्दै यसतर्फ प्रहरी प्रमुखको ध्यानाकर्षण गराइन् । पत्रकारसमेत रहेकी महिला तथा बालअधिकारकर्मी प्रतिमा सिलवालले पनि हिंसा तथा जोखिममा परेका महिला, बालबालिका राख्ने सरकारीस्तरको सेफ होम (संरक्षण गृह) चितवनमा नभएको भन्दै यसका लागि आवश्यक पहल गरिदिन नयाँ एसपीलाई अनुरोध गरेकी थिइन् ।
चितवनमा मानवसेवा आश्रम नामका दुईवटा संस्था रहेको अवस्थामा प्रहरीले पीडितको संरक्षणका लागि नारायणगढको मानव सेवा आश्रममा फोन गर्दा उनीहरुले नराखेर जहिल्यै आफ्नो फोन नम्बर दिने गरेको भन्दै भरतपुरमा रहेको चितवन मानव सेवा आश्रमका विनोद ढकालले भने, ‘हामीलाई न महानगरले, न प्रदेशले सहयोग गरेको छ । भारचाहिँ हामीले उठाउनुपरेको छ ।’ भरतपुर महानगरपालिका र प्रदेशबाट दिने सहयोगजति तलकोलाई, तर आफूहरुलाई सहयोग नहुँदा क्षमताभन्दा बढी मान्छे राख्न गाह्रो भइरहेको उनको भनाइ थियो ।
लागुऔषध दुव्र्यसन र वेश्यावृत्तिको विसंतितर्फ पनि अन्य सहभागीले एसपीको ध्यानाकर्षण गराएका थिए । समाजमा महिला तथा लैंगिक हिंसा, बालहिंसा मात्र नभई ज्येष्ठ नागरिकहरु पनि समस्यामा परिरहेको अवस्था आफूले पाएको प्रहरी उपरीक्षक गोविन्द पुरी बताउँछन् ।
‘केही दिन अगाडि बुहारीले खान लाउन दिइन भनेर एकजना आमा आउनुभाथ्यो’, उनले भने । एसपी पुरी चितवन आएको करिब दुई हप्ता भयो । यहाँ कति ज्येष्ठ नागरिक, कति महिला, कति बालबालिका समस्यामा छन्, यसको विश्लेषण गरेर काम गरिनुपर्ने भन्दै उनले भने, ‘हामी सबैले नयाँ धारणा बनाएर काम गरौं । एकापसमा हातेमालो गरी अगाडि बढौं । प्रहरीले दिने सेवाको विषयमा कहीँ कतै एक इन्च कमी हुँदैन ।’
अहिले साइबर क्राइमको विषयमा अलि सजग हुनुपर्ने पनि प्रहरी उपरीक्षक बताउँछन् । विभिन्न जिल्लाको अनुभव भन्दै एसपी पुरीले कतिपय संघसंस्थाहरु पीडितलाई प्रहरीकोमा ल्याएर छोडेपछि उनीहरुको अवस्थासम्म बुझ्न नआउने गरेको गुनासो गरे । ‘जाहेरी लेख्ने बेलासम्म आइदिनु हुन्छ, पछि कागज गर्ने बेला मान्छे भेट्नै गाह्रो हुने गरेको छ’ उनले थपे, ‘संघ–संस्थाहरुले त्यस्तो गर्न भएन ।’
नारायणगढ, पुल्चोकमा एकदर्जन बढी सडक मानव राति पेटीतिरै सुत्ने गरेको देखिएको पनि एसपीले बताए । चितवनमा दुव्र्यसनको समस्या पनि विकराल छ । एसपी भन्छन्, ‘कारागारमा हेर्दा लागुऔषधकै केस बढी देखिन्छ । आत्महत्या पनि डरलाग्दै छ’ उनले भने, ‘यसलाई घटाउन पनि तपाईं हामी मिलेर केही गर्न सकिन्छ कि !’
टिप्पणीहरू