एमाले महासचिव भन्छन् : माओवादीले घेराबन्दी गर्यो

एमाले महासचिव भन्छन् : माओवादीले घेराबन्दी गर्यो

नेकपा एमालेका महासचिव शंकर पोखरलले आफ्नो पार्टी र नेतृत्वलाई कमजोर बनाउन नेकपा माओवादी केन्द्रले घेराबन्दी र आक्रमण गरिरहेको बताएका छन् । 

पार्टीको भातृ संगठन युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आज पोखरामा सम्बोधन गर्दै उनले त्यस्तो दाबी गरेका हुन् । एमाले र नेतृत्वमाथि हमाला गर्ने काम माओवादी कार्यकर्ताले गरिरहेको शंकरले जनाए ।

एमालेलाई सिध्याउने उधेश्यका साथ गरिएका विरोधबाट उद्धेलित नहुन उनले कार्यकर्तालाई निर्देशन पनि दिए । 

‘हाम्रो पार्टी र हाम्रो पार्टी नेतृत्वका विरुद्धमा जुन हमला भइरहेको छ । जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । त्यो आलोचनाको अन्तर्य के हो भन्नेकुरा बुझ्नुपर्दछ’, उनले भने, ‘जसको ध्येय, उद्देश्य नै नेकपा एमालेलाई कमजोर र समाप्त पार्ने रहेको छ, उनीहरुले गर्ने आलोचनाबाट हाम्रो पार्टी पंक्ति उद्वेलित हुनु हुँदैन । कसका तर्फबाट भइरहेको छ भन्नेकुरालाई हामीले विश्लेषण र विवेचना गर्ने हो भने सबैभन्दा धेरै हाम्रो पार्टी र हाम्रो पार्टीका नेतृत्वको विरुद्धमा नेकपा माओवादी र तिनका कार्यकर्ताहरु अत्यन्त आक्रामक रुपमा प्रस्तुत भइरहेको पाउने गर्दछौँ ।’

सरकारले राम्रो काम गरेकाले माओवादीहरु आक्रमणमा उत्रिएको शंकरको दाबी छ । केपी ओलीले कुर्सी सम्हालेपछि बिग्रिएको अर्थतन्त्र सुधार भैरहेको बताउँदै उनले सरकार र एमालेबाट कुनै गलत काम नभएको जिकिर गरे ।

टिप्पणीहरू