बागी सांसदको प्रधानमन्त्रीद्वारा खुलेर प्रशंसा

बागी सांसदको प्रधानमन्त्रीद्वारा खुलेर प्रशंसा

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बागी सांसद योगेन्द्र मण्डलको खुलेर प्रशंसा गर्नुभएको छ । मोरङको कटहरी–२, हल्दिबारीमा जीवन विकास लघुवित्त संस्थाले सञ्चालनमा ल्याएको सामुदायिक अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सांसद मण्डलले आफ्नो क्षेत्रमा आफैंले चुनौती मोलेर विकासको पहल गरेको भन्दै प्रशंसाको शब्द खर्चिनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सांसद योगेन्द्र मण्डलजस्तो प्रतिनिधिले आफ्नै ठाउँमा आफैं चुनौती लिएर प्रयास गरेजस्तै देश पनि हामी आफैंले बनाउनु पर्छ । कामना गरेर वा अरू कसैले आएर बनाइदिन्छ भन्ने सोच्नु गलत हो ।’ थप्नुभयो, ‘देश विकास र समृद्धि आफैंले आफैंको प्रयासबाट मात्र सम्भव छ ।’

मण्डल एमालेका पूर्वकार्यकर्ता भएको तर आफू उनलाई पार्टीमा फर्काउन नभइ उदाहरणीय कार्यको प्रशंसा गर्न आएको प्रधानमनन्त्रीले स्पष्ट पार्नुभयो । ‘एउटा व्यक्तिले पनि सकारात्मक उद्देश्य लिएर अघि बढे समाज परिवर्तन सम्भव हुन्छ भन्ने उदाहरण योगेन्द्र मण्डल हुन्,’ उहाँले भन्नुभयो ।

सरकारलाई समेत चुनौती हुनेगरी गाउँमै सुविधा सम्पन्न अस्पताल स्थापना गरेर मण्डलले उल्लेखनीय काम गरेकोमा प्रधानमन्त्रीले सह्राना गर्नुभया । सिर्जनशील जनप्रतिनिधिलाई जनताले विजय गराएको भन्दै धन्यवाद पनि दिनुभयो । 

सांसद मण्डलले प्रधानमन्त्रीलाई आफू एमालेमा फर्किन आग्रह गर्न नभइ गाउँमा कसरी र किन अस्पताल खोलिएको हो भनेर प्रत्यक्ष देखाउन आमन्त्रण गरेको स्पष्ट पारे । देशभर शाखा रहेको जीवन विकास लघुवित्तका संस्थापक अध्यक्षसमेत रहेका उनी मोरङ–५ का प्रतिनिधिसभा सांसद पनि हुन् । सामुदायिक अस्पतालका अध्यक्ष समेत रहेका उनी एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिँदै संघीय संसदमा विजयी भएका हुन् ।

राष्ट्रिय सभाका सांसद गोपीबहादुर अछामी, प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, एमाले उपाध्यक्ष गुरु बराल, माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल, कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारी, कांग्रेस संसदीय दलका नेता उद्धव थापा, संघीय सांसद भगवती चौधरीलगायतले गाउँमै अर्बौंको लगानीमा सुविधा सम्पन्न अस्पताल स्थापना गरी शहर जानुपर्ने बाध्यता अन्त्य गरेकोमा मण्डलको खुलेर प्रशंसा गरेका छन् ।

जीवन विकास लघुवित्तले कम्पनी ऐनअनुसार दुई अर्ब रुपैयाँको लगानीमा मोरङको कटहरी–२, हल्दिबारीमा पाँचतले सुविधा सम्पन्न सामुदायिक अस्पताल स्थापना गरेको हो । जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसन नामक संस्था कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको छ । 

अस्पताल हुलाकी राजमार्गको दक्षिणमा अवस्थित छ । बालबालिका, महिला, अपांग र अशक्तमैत्री संरचनायुक्त अस्पतालमा गुणस्तरीय चिकित्सा उपकरण र अनुभवी विशेषज्ञ चिकित्सकमार्फत आकस्मिक सेवा, ओपीडी, ईन्डोर उपचार, पेनलेस डेलिभरी, जनरल तथा दुरबिनमार्फत सबै प्रकारका शल्यक्रिया, बालरोग उपचार र डायलासिस सेवा उपलब्ध छन् । अध्यक्ष मण्डलका अनुसार चाँडै कार्डियो र न्युरो सर्जरी सेवा पनि सुरु गरिनेछ । 

अस्पतालमा २५ शैयाको आइसियु, ९ शैयाको एनआइसियु र १० शैयाको सिसियु सेवा सञ्चालनमा छन् । अस्पताल २० विघा क्षेत्रफलमा फैलिएको छ, जहाँ दुई दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकसहित दुई सय जनशक्ति कार्यरत छन् ।

२०५४ सालमा स्थापित जीवन विकास समाजले पहिले मोरङको कटहरी र अमाहीबरियातीमा २४ घण्टे क्लिनिक सञ्चालन गरेको थियो । त्यसपछि हेल्थ सेन्टर हुँदै हालको अत्याधुनिक सामुदायिक अस्पतालको स्तरसम्म विकास भएको हो । जीवन विकास लघुवित्तले ग्रामीण तथा विपन्न वर्गको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सिर्जनामा समेत काम गर्दै आएको छ ।

टिप्पणीहरू