बालेनविरुद्ध रणनीति बनाउन सुनिता लुम्बिनीमा

बालेनविरुद्ध रणनीति बनाउन सुनिता लुम्बिनीमा

काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिको टोली लुम्बिनी भ्रमण गरेर फर्किएको छ । उपमेयर सुनिता डंगोलले आफूसँग लगेको टोलीमा तीन जना मेयर बालेन्द्र (बालेन) शाहले जिम्मेवारी खोसेका वडाध्यक्ष थिए । 

१७ का वडाध्यक्ष तथा महानगर प्रवक्ता नवीन मानन्धर, २० का राजेश श्रेष्ठ, ८ का आशामान संगत र २३ का वडाध्यक्ष मचाराजा महर्जनलाई सुनिताले लगेकी थिइन् । आशामान सम्पदा तथा पर्यटन समिति, नवीन सूचना प्रविधि समिति र मचाराजा विधायन समितिको संयोजक थिए । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ प्रकरणमा आफूविरुद्ध लागेको भन्दै यी चार वडाध्यक्षलाई बालेनले अघोषित कारबाही गरेका हुन् । उनीहरूलाई हटाएर ३० नम्बरका दलबहादुर कार्कीलाई सुशासन, २४ का विनोदकुमार राजभण्डारीलाई सम्पदा, ५ का वीरेन्द्र प्रजापतिलाई सूचना तथा १६ नम्बरकी रोजिना श्रेष्ठलाई विधायन समितिको संयोजक तोकिएकोमा रोजिनाबाहेक अन्यले जिम्मेवारी लिन इन्कार गरेका छन् । 

मन्दिर निर्माण भनिए पनि लुम्बिनी जानुको उद्देश्य अर्कै भएको स्रोतको दावी छ । ‘पछिल्लो समय मेयर र उपमेयरबीच सम्बन्ध चिसिएको छ । त्यसैले मन्दिरको बहाना बनाएर उपमेयरले वडाध्यक्षहरूलाई त्यता लगेकी हुन् । नत्र मेयरले कारबाही गरेकै वडाध्यक्षलाई लग्नुपर्ने कारण के ?’, स्रोतले भन्यो । 
महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले भने, ‘उहाँहरू अस्ति नै फर्किसक्नुभयो ।’ यता, प्रवक्ता मानन्धरले लुम्बिनी भ्रमणको विषयमा नबोल्ने बताए । ‘भ्रमणको विषयमा पनि भनिराख्नुपर्छ र ! उपमेयरज्यूलाई सोध्नुस्’, उनले भने । 

स्पष्टीकरण पत्र फिर्ता 

एक टेलिभिजन कार्यक्रममा आफूविरुद्ध अभिव्यक्ति दिएपछि प्रवक्ता मानन्धरसँग मेयरले स्पष्टीकरण सोधेका थिए । नवीन तिनै वडाध्यक्ष हुन्, जसले मेयरको निर्देशनविपरीत प्रमुख प्रशासकीय अधिकृत गुरागाइँलाई कार्यकक्षमा ‘इन्ट्री’ गराएका थिए । उनले महानगरका अवैध नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई पाखा लगाउँदै गुरागाइँलाई कार्यालयमा छिराएपछि बालेन उनीसँग रिसाएका छन् । 

स्रोतका अनुसार दुईबीच राम्रो सम्बन्ध छैन । के निहुँ पाऊँ र जिम्मेवारीबाट हटाऊँ भनेर बसेका मेयरले उनलाई स्पष्टीकरण सोधे । तर, उनले त्यसको जवाफ दिएका छैनन् । नवीनले स्पष्टीकरण पत्र महानगरमै फिर्ता पठाइदिएको स्रोतको जिकिर छ । ‘मेयरबाट के चिठी आयो भनेर खोली हेरे, स्पष्टीकरण सोधेको देखेपछि फिर्ता पठाइदिए’, स्रोतले भन्यो ।
 

टिप्पणीहरू