विद्यालाई ‘एमाले नेता’ मान्न धेरै सकस

पोहोर फागुन ५ गते नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड जानु एकदिनअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले करिब ७ घण्टा बालुवाटारमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग पारिवारिक लञ्च मिटिङ गरेकी थिइन् । त्यसक्रममा ओलीले एघारौँ महाधिवेशनमा आफूलाई सर्वसम्मत अध्यक्षका लागि सहयोग गर्न आग्रहसहित आफूलाई नेतृत्वको आकांक्षीका रूपमा सार्वजनिक नगर्न सुझाव दिएका थिए । सोही संवादपछि भोलिपल्ट थाइल्याण्ड प्रस्थान गर्ने क्रममा उनलाई एमाले केन्द्रीय कार्यालयले नै बिदाइ गर्यो । संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी समिति सदस्य भानुभक्त ढकाल, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीसहित अनेरास्ववियु र राष्ट्रिय युवा संघको टोली विमानस्थल पुग्यो । स्रोतका अनुसार, बालुवाटारको निर्देशनपछि महासचिव शंकर पोखरेलसहितको समन्वयमा स्थायी कमिटी सदस्य ढकालसहित भएर त्यसरी भण्डारीको बिदाइ गरिएको हो ।
यसपालि भण्डारी जेठ १० गते राति एमाले प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन जाने कार्यक्रम थियो । भ्रमण दलमा विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, नेता कर्णबहादुर थापालगायत थिए । तर, बिदाइ र स्वागतमा कुनै पनि एमाले नेता देखिएनन् । स्रोतका अनुसार चीन भ्रमणअघि पनि भण्डारी र अध्यक्ष ओलीबीच छलफल भएकै थियो । तर, सो छलफल उति धेरै सुमधुर नभएको बताइन्छ । त्यसैको परिणाम हो, थाइल्याण्ड भ्रमणमा जस्तो यसपालि एमाले केन्द्रीय कार्यालय विमानस्थलमा नदेखिनु ।
भण्डारी औपचारिक कार्यक्रमको संबोधन र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँगको भेटवार्तामा एमाले नेताका रूपमा प्रस्तुत भइन् । राष्ट्रपतिबाट बिदा भएपछि पहिलोपटक उनले एक अन्तर्राष्ट्रिय मञ्चबाट आफूलाई एमाले नेताका रूपमा प्रस्तुत गरिन् ।
१२ जेठमा सिपिसी अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलसँग संवाद सम्मेलन र सिपिसी अन्तर्राष्ट्रिय विभागका प्रमुख (मन्त्री)लिउ जियान्छाओसँगको भेटवार्तामा पनि भण्डारीको प्रस्तुति एमाले शीर्ष नेताकै रूपमा थियो । उनले ‘आफूलाई निमन्त्रणा गरेकोमा सिपिसीलाई एमाले र व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु’ भनेर संबोधन थालेकी थिइन् । त्यसक्रममा उनले पटक–पटक एमाले र सिपिसीबीचको सम्बन्ध एवं सहकार्यबारे स्वर्गीय मदनकुमार भण्डारीदेखि अहिलेसम्मको चर्चा गरिन् । भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाददेखि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले अहिले गरेको समृद्ध नेपाल, सुखी नेपालीको प्रसंग पनि उल्लेख गरिन् ।
उता, बेइजिङमा भण्डारीले एमाले नेताको रूपमा प्रस्तुति र मन्तव्य दिइरहेको बेला एमाले महासचिव शंकर पोखरेलले भने यता त्यसको खण्डन गरेका थिए । ११ जेठमा बसेको सचिवालय बैठक र त्यसपछिका आन्तरिक संवादमा पोखरेलले उक्त भ्रमण एमाले नेताका रूपमा नरहेको दाबी गरे । ‘पूर्वराष्ट्रपतिको भ्रमण पूर्वराष्ट्रपतिकै हैसियतमा भएको छ, उहाँलाई सोही हैसियतमा निमन्त्रणा गरिएको छ,’ पोखरेलले भनेका थिए, ‘स्वाभाविक रूपमा पूर्वराष्ट्रपति आन्दोलनको नेता भएको नाताले उहाँको टिममा पार्टीसम्बद्ध साथीहरू पनि सामेल हुनुहुन्छ ।’ त्यसो त प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा एमाले उपमहासचिव विष्णु रिमालले पनि एमाले बिट हेर्ने केही पत्रकार र सम्पादकहरूलाई टेलिफोन नै गरेर भण्डारीको भ्रमण एमाले नेताका रूपमा नभएको भन्दै त्यसरी नलेखीदिन सुझाव दिएका थिए ।
त्यही बेला पूर्व स्वास्थ्यमन्त्री भानभक्त ढकालले एमाले केन्द्रीय कार्यालय च्यासलको गोलघरमा नमिठो टिप्पणीसमेत गर्न भ्याए । एक नेताका अनुसार उनले भनेका थिए, ‘एमाले विरोधीहरूले केपी ओली र एमालेलाई कमजोर बनाउन अहिले उपयुक्त पात्रको रूपमा उहाँ (विद्या भण्डारी)लाई लिएका छन् । उहाँलाई हौस्याएर एमालेलाई कमजोर बनाउने खेलोमेलो उहाँले बुझ्न सक्नुभएन ।’
टिप्पणीहरू