गोली लागेका लागुपदार्थ कारोबारीको उपचार जारी

गोली लागेका लागुपदार्थ कारोबारीको उपचार जारी

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले गोली प्रहार गरी नियन्त्रणमा लिएको दुई जना लागुपदार्थ कारोबारीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बायाँ खुट्टामा गोली हानेर नियन्त्रणमा लिइएका भारतको पश्चिम बंगाल राज्यका ४० वर्षीय साशिक आलम र बिहारका २२ वर्षीय मोहम्मद मञ्जुर आलमलाई ट्रमा सेन्टर पुर्याइएको हो । 

‘ब्राउन सुगर’को खरिदबिक्री तथा ओसारपसारको सूचनाका आधारमा ब्यूरोबाट परिचालित टोलीले काठमाडौं महानगरपालिका–११, सुन्धाराबाट पठाना दानापुरका २० वर्षीय सुमित कुमार र चन्दनकुमार जैसवाललाई पक्राउ गरेको थियो । उनीहरुले टोखा नगरपालिका–३ स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको पछाडि लागुऔषध कारोबार हुन लागेको सूचना दिएपछि प्रहरी निरीक्षक राकेश यादवको कमाण्डमा पाँच जनाको टोली खटियो ।

सो क्रममा ब्यूरोले स्पिकरभित्र लुकाएको दुई सय ग्राम लागुपदार्थ बरामद गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा रड आक्रमण भएपछि प्रहरीले चार राउण्ड गोली प्रहार गरेको बताइन्छ । त्यसपछि थप तीन राउण्ड गोली प्रहार गरिएको ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीले बताए । 

लागुपदार्थ कारोबारीहरुको आक्रमणबाट प्रहरी वरिष्ठ हवल्दार नवराज घिसिङको बायाँ घुँडा र प्रहरी सहायक निरीक्षक रविन्द्र केसीको दाहिने पाखुरामा चोट लागेको छ ।

टिप्पणीहरू