झोलाको नाम एमालेले किन लियो होला ?

एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री छन् । तर, विडम्बनाचाहिँ के देखिँदै छ भने अहिले यदि नेपालको कुनै पनि दलका कार्यकर्ता पीडामा छन् भने ती झोले भनिन बाध्य एमालेकै कार्यकर्ता हुन् । त्यस्तो निश्कर्ष निकाल्नुको प्रष्ट कारण छ । नाम सार्वजनिक नगर्ने शर्तमा एमाले स्थायी समिति सदस्यसमेत रहेका एकजना नेताले भने, ‘खोई के भन्नु र ! कांग्रेसले बिगारे जति हामीले जिम्मा लिइदिनुपर्ने । माओवादीका तर्फबाट सरकारलाई अनेकौं आक्रमण छन्, त्यसलाई पनि हामीले रोक्नुपर्ने । रवि लामिछानेका मान्छे र राजावादीहरूसँग हामीले नै जुध्नुपर्ने ।
अनि सरकारले गर्ने राम्रा र आकर्षक नियुक्तिहरूमा भने कांग्रेसका मान्छेलाई राख्नैपर्ने । यस्तो स्थितिमा एमालेको नेता, कार्यकर्ता भएर बाँच्नुको पीडा तपाईंँहरू नै कल्पना गर्नुहोस् ।’ उनले बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्डको अध्यक्ष, सूचना आयोगको अध्यक्ष र गभर्नरजस्ता पद नेपाली कांग्रेसलाई जिम्मा लगाउनुपर्दाको अप्ठ्यारोसमेत बताए ।
एमालेकै अर्का एक नेताले कांग्रेसलाई ठूलो भाग सबै दिनुपर्ने र लड्नेभिड्नेको काममा भने आफूहरु अगाडि आइदिनुपर्ने स्थितिले गठबन्धनलाई सहकार्य भन्न नसकिने अवस्था बनेको दुखेसो पोखेका छन् । उनका अनुसार कांग्रेसका घरानियाँ नेताहरूले प्रायःजसो बढुवा र सरुवा पनि कुस्त पैसा लिइरहेका छन् । उनले उदाहरण दिँदै भने, ‘प्रहरीको डिआइजी बढुवा मात्रै हेरे पनि पुग्छ ।
२० जना बढुवा हुँदा १४ जना त गुप्तचरबाट परे । प्रष्टै छ, फुली नथपी घर जानुपर्ने अवस्थामा पुगेकाहरूले कति पैसा खर्च गरे होलान् !’ उता हङकङको महावाणिज्य दूतमा छ/सात महिनासम्म पद रिक्त राखेर अन्त्यमा रमेश लेखककै भाइ बिन्देश्वरलाई पठाएको कुरा पनि एमाले नेताहरूलाई कत्ति मन परेको छैन । ती नेताले भने ‘कसैकसैलाई बेइजिङमा पोष्टिङ गर्ने अनि छ/सात महिनासम्म पद होल्ड गरेर अन्त जाने सुविधा दिइएको छ ।’
ती नेताले दिक्क मान्दै भने, ‘तर मार्ने जति काम नेपाली कांग्रेसको, अरुसँग जाई लाग्ने काम जति हाम्रो जिम्मा परेजस्तो भएको छ ।’ गृहमन्त्रीका पक्षमा प्रधानमन्त्रीले वकालत गरिरहेका छन् । बरु, कांग्रेसकै शेखर कोइरालालगायत केही प्रभावशाली नेताले राजीनामा दिएर छानबिनको लागि बाटो खोल्न दिनुपर्छ भनिरहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली जे जसरी भए पनि कांग्रेसलाई खुशी राख्ने र गठबन्धन टिकाउने पक्षमा दृढ देखिन्छन् । उता कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहमतिअनुसारको समय कुरेर प्रधानमन्त्री बन्न ढुक्कले बसेका छन् । यस्तोमा रमेश लेखकलगायतलाई राजीनामा दिन दुवै नेतृत्वबाट दवाव नजाने लगभग पक्का छ । शेरबहादुर देउवा किन पनि रमेश लेखकलाई चिढ्याउने पक्षमा छैनन् भने उनी बाहिर गइसकेपछि बालकृष्ण खाँणझैं इतर पक्षतिर लाग्न सक्छन् । यदि त्यस्तो भयो भने दलमा देउवा अल्पमतमा पर्न बेर लाग्दैन । यसरी प्रधानमन्त्री हुने बेलासम्ममा कतै संसदीय दलको नेताबाट नै आफू हट्नुपर्ने त होइन भन्ने चिन्ता देउवामा छ ।
पहिले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई परिवर्तन गर्ने प्रस्ताव प्रचण्डले राख्दा ‘होइन, एक कार्यकालका लागि पठाइएको, त्यो पूरा हुन दिऊँ’ भनेर हटाउन अस्वीकार गरेको घटना अहिले एमाले नेताहरू स्मरण गरिरहेका छन् । हुन पनि कांग्रेसभित्र कुन मान्छे कतिबेला कुन गुटमा गएर कसको विरोध गर्छ भन्ने केही ठेगान हुँदैन । अहिलेकै स्थितिलाई हेर्ने हो भने राजेन्द्र बजगाईं र बद्रि पाण्डे एउटै गुटका थिए तर उनै बजगाईं अहिले सबै काम छोडेर पाण्डेलाई हटाउन हात धोएर लागेका छन् ।
त्यो समस्याबाट केपी ओली भने मुक्त छन् । उनी आफूले मन पराएकाहरूलाई खोजीखोजी, छानीछानी जिम्मेवारी दिन र मन नपरेकालाई तुरुन्तै हटाउन कुनै आइतबार कुर्दैनन् । एमालेकै एक नेताले ओलीको त्यो प्रवृत्तिलाई पुष्टि गर्न उदाहरण दिँदै भने, ‘ गोकुलकै मुद्दामा हेरौँ न ! दूरसञ्चार प्राधिकरणले मागेको त जम्मा २५ करोड न हो ! तर उनले ७० करोड निकासा दिन तोक लगाइदिए । यसरी मागभन्दा बढी रकम निकासा गर्न उनले दिएको आदेश सरासर अख्तियार दुरूपयोग हो । तर, प्रधानमन्त्री ओलीको इच्छामा मुद्दामा गोकुललाई छोइएन । जबकि महेश बस्नेतको केस अघि बढिसक्यो । यसरी यो जुनीमा सो दोषबाट उनले सधैँका लागि उन्मुक्ति पाइसके । किनभने अख्तियारले दोहो¥याएर मुद्दा दर्ता गर्दैन । न त कोही छुटेको मान्छेको विषयमा पूरक मुद्दा नै जान सक्ने गरी मिसिल तयार गरिएको छ ।’
ओलीले अरु कसैलाई चेप्नुपर्ने वा अन्य समूहलाई ठाउँ दिनुपर्ने भन्नेबारे कहिल्यै सोच्ने नगरेको रुष्ट नेताहरूको गुनासो छ । पुरानो घटना सम्झँदै भन्छन्, ‘माधवकुमार नेपालका पालामा जम्मा छ जना मन्त्रीको कोटा पाउँदा आफ्नो गुटबाट दुईजना र झलनाथ खनालतिरबाट दुई जना गरेर भाग छुट्याएका थिए । त्यसबेला नेपालले भीम रावल र रवीन्द्र श्रेष्ठ आफूबाट, झलनाथतिरबाट रकम चेम्जोङ र सुरेन्द्र पाण्डे अनि ओलीको पक्षबाट विद्या भण्डारी र शंकर पोखरेललाई नियुक्त गरे ।’ यही मन्त्रिमण्डल गठन हुने अघिल्लो दिन दिउँसो योगेश भट्टराईहरूसँग कम्तीमा मलाई पनि राज्यमन्त्रीसम्म बनाइदिए हुन्थ्यो, सिफारिस गरिदिनुहोस् भन्न पुगेका मानवीर राई भोलिपल्ट रक्षामन्त्री बनेका छन् ।
जबकि सेनाले अहिले निकै अप्ठ्यारो मान्दै उनलाई सलाम गरिरहेको अवस्था छ । किनभने त्यति कनिष्ठ नेता रक्षामन्त्रीको जिम्मेवारीमा यसअघि पुगेका थिएनन् । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा स्वयं रक्षा मन्त्रालय लिन्थे भने माओवादीलेसमेत बादललाई रक्षामन्त्री बनाइए । विगतमा रक्षामन्त्री बनेका अन्य पात्रमा माधव नेपाल, विद्या भण्डारी, ईश्वर पोखरेल, विष्णु पौडेल, पूर्णबहादुर खड्का, भीम रावल, शरदसिंह भण्डारीलगायत छन् । यसरी मानवीर राईलाई महत्वपूर्ण मन्त्रालय दिनुको पछाडिचाहिँ शेरधन राईलाई ब्यालेन्समा राख्ने बाध्यता हो भन्ने बुझाइ एमाले नेताहरूको छ ।
टिप्पणीहरू