प्रिय लेनिन, बिहेपछिको चुम्बन कस्तो हुन्छ ?

प्रिय लेनिन, बिहेपछिको चुम्बन कस्तो हुन्छ ?

‘म पहिलो भेटमै तिमीसित प्रेम गर्न थालेकी थिएँ र आज पनि गर्छु । तर, न म तिमीलाई देख्न सक्छु न चुम्न । तिमीलाई देख्ने इच्छा किन पूरा गर्न सकिरहेको छैन !’ ‘... तिम्रो पछिल्लो पत्र कति मार्मिक थियो । तिम्रो सम्झनाले मलाई सताउन थाल्यो, म बहुलाएँ ।’

पहिलो पत्र लेनिनले पाएसँगै यसरी प्रत्युत्तरपत्र लेखियो । हो, रुसी कान्तिका नायक भ्लादिमिर इल्यिच लेनिन र उनकी प्रेमिका इनेसा अर्मान्डबीचका पत्र हुन् यी । लेनिन बोल्सेभिक कम्युनिष्ट नेता थिए भने इनेसा होनहार कार्यकर्ता । दुबैको भेट पेरिसमा भएको थियो । पेरिस इनेसा जन्मेको शहर थियो भने लेनिन त्यहाँ निर्वासित जीवन बिताइरहेका थिए ।

सन् १९०९ म पहिलो पटक भेट्दा लेनिन ४० का थिए भने इनेसा ३६ की । तर, इनेसा यति राम्री थिइन् कि सबै उनलाई २५ की ठान्थे, जबकि त्यसबखत ५ सन्तानको आमा बनिसकेकी थिइन् । लेनिनको कपाल फुलिसकेको थियो । नादेज्दा क्रुप्स्काया उनकी पत्नी हुन् । इनेसासित लेनिनको भेट हुँदा साथमा क्रुप्स्काया पनि थिइन् । इनेसाका ठुल्ठूला आँखा, बाक्लो, रातो र आकर्षक ओंठ, अनि गाढा खैरो कपाल । क्रुप्स्काया पनि उनको रुपको तारिफ नगरी बस्न सकिनन् । उनले लेखेकी थिइन्, ‘इनेसा जोशिलो युवती थिइन्, छिट्टै पेरिसमा रहेका बोल्सेभिकलाई आफू वरिपरि एकत्रित गर्न सफल भइन् ।’

लेनिनसित भेटेलगत्तै इनेसा पश्चिम युरोपमा निर्वासित रुसी बोल्सेभिकहरूको संगठनमा संगठित भइन् । उनी सिपालु अनि मिहिनेती थिइन् । दस्तावेज व्यवस्थापन, भाषण टाइप र प्रचारको काम उनैलाई सुम्पिइयो । केही समयपछि लेनिनले आफूहरू बसिरहेको रुइ मारिरोज सडकस्थित फ्ल्याट नं २ मै बस्न आउन निम्तो दिए ।

इनेसा लेनिनदम्पतीको ठीक सामुन्नेको कोठामा बस्न गइन् । यसपछि भेटघाट झन् बाक्लिन थाल्यो । कार्यक्रमहरूमा सँगै हिँड्दाहिँड्दै, राजनीतिक विचार विमर्श गर्दागर्दै नजिकिएको दुवैले चालै पाएनन् । विस्तारै दुवै जना पेरिसको सडकमा हात समातेर हिँडेको र आर्लियन्स बुल्वार्डको एउटा कफी पसलमा घण्टौं गफ गरेको धेरैले देखे । रुसमा जन्मेर फ्रान्समा पत्रकारिता गरिरहेका, लेखक र घागडान कम्युनिष्ट चाल्र्स रैपोपोर्ट भन्छन्, ‘घण्टौंको बसाइमा लेनिनको आँखा इनेसाको अनुहार र शरीरबाट कतै हट्दैनथ्यो ।’

त्यति मात्र होइन, प्रायः साथसाथै देखिने र एकार्काप्रति गर्ने स्नेहलाई लिएर साथीहरूले ‘तिमीहरूको बसाइ पनि सँगै हो कि ?’ जिस्क्याउनसमेत थाले । यसबीच इनेसाले चेकोस्लोभाकियाको राजधानी प्रागमा सामाजिक जनवादीहरूको सम्मेलन आयोजना गर्न अहं भूमिका खेलिन् । सम्मेलनमा बोल्सेभिकको बहुमत देखाउन उनको भूमिका रह्यो । यसपछि झन् सम्बन्ध गाढा बन्यो । यहाँसम्म कि फ्रान्सिसी प्रहरी र अरुले पनि इनेसालाई लेनिनकी श्रीमतीको रुपमा हेर्न थाले ।

लेनिन र इनेसाको सम्बन्धलाई नजिक्याउनमा लेनिनकी बहिनी मारियाको पनि भूमिका रह्यो । उनी क्रुप्सकायालाई त्यति मन पराउँदिन थिइन् । भाउजू दाजुभन्दा जेठी भएकीले शुरुदेखि नै खल्लो मान्दै आइरहेकी थिइन् । साथै, बिहेको लामो समयसम्म पनि क्रुप्स्काया आमा बन्न नसकेकोमा खिन्न थिइन् । निर्वासनमा बस्दासमेत भाउजू क्रुप्स्काया लेनिनसँग भन्दा बढी आफ्नी आमासँग सुत्ने गरेको साथीहरूलाई बताउँथिन् ।

लेनिन र इनेसाबीच नजिकको सम्बन्ध बन्दै गएकोबारे क्रुप्स्काया पनि जानकार थिइन् ।उनी पनि इनेसासित मिलेर महिला मुक्ति अभियानमा लाग्ने गरेकी थिइन् । दुबै मिल्ने साथी थिए । क्रुप्स्कायालाई पनि इनेसा मन पर्थिन् । अर्की रुसी क्रान्तिकारी महिला अलेक्ज्याण्ड्रा कोलोन्ताईले आफ्नो पुस्तक ‘अ ग्रेट लभ’ मा लेखेकी छन्– क्रुप्स्कायाले जानाजान एक साता लोग्ने र इनेसालाई संगै बस्न मौकासमेत दिएकी थिइन् ।

सन् १९१२ मा लेनिनले राजनीतिक मिसनअन्तर्गत इनेसालाई रुस पठाए । थाहा थियो, उनी पक्राउ पर्छिन् भन्ने । नभन्दै दुई महिनामै पक्राउ परिन्,  उनी किसानको भेषमा थिइन् । ६ महिनाको जेल सजायँँ भयो । रोचक कुरा, उनको रिहाइका लागि जमानत बस्न र ६ हजार ५ सय रुबल धरौटी राख्न उनका पूर्व लोग्ने अलेक्ज्याण्डर जेल पुगे । मस्कोमा रहँदा इनेसा र लेनिन दुवैले एकार्कालाई धेरै ‘मिस’ गरे । भौतिक दूरीले भावनात्मक रुपमा अझ नजिक्यायो । एकार्कालाई धेरै प्रेमपत्र लेखे । यो त्यसैबेलाको एउटा पत्र हो ।
प्रिय साथी,

‘कृपया तिम्रो हालचाल के छ, मलाई लेख्नू । यहाँ इन्फ्लुयन्जा, स्पेनिश फ्लु र हैजा फैलिएको छ । म पनि भर्खरै ओछ्यानबाट उठेको छु, तर बाहिर निस्कन अझै सकेको छैन । नाड्यालाई ३९ डिग्री (सेन्टिग्रेड) ज्वरो छ । उनले तिमीबारे सोध्दै थिइन् । तिमीलाई कति ज्वरो छ ? सञ्चो हुन आफैले केही प्रयास गरेनौ ? जे छ, खुलस्त लेख । आशा गर्छु, तिमीलाई छिट्टै सञ्चो हुनेछ ।’  – तिम्रो लेनिन ।यसक्रममा उनीहरूले एकार्कालाई करिब डेढ सयजति पत्र लेखेको बताइन्छ । एउटा पत्रमा लेनिनले यस्तो पनि लेखेका छन् – ‘म माक्र्स र एंगेल्ससित मात्र प्रेम गर्छु ।’एकपटक त निकै दुःखी बनेर उनले लेनिनलाई जवाफ फर्काइन्, ‘हामी अलग्ग भयौं प्रिय !’

इनेसा जेलबाट छुटेपछि लेनिन र क्रुप्स्काया बसेको मुलुक पोल्याण्ड पुगिन् । फेरि एकपटक लेनिनसित उठबस गर्ने मौका पाइन् । लेनिनको दायाँ हात बनेर काम गर्न थालिन् । लेनिनलाई हरेक गतिविधिमा साथ दिइन् । लियोन ट्राटस्कीसँगको सैद्धान्तिक बहसमा सधैं ढाल बनेर खडा भई पछि लेनिनहरू स्विट्जरल्याण्डमा हुँदा त्यतै लागिन् । युद्धविरोधी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरी लेनिनलाई सहयोग पुर्‍याइन् । उनी बोल्सेभिक क्रान्तिमा डटेरै लागेकी थिइन्, साथै महिला अधिकारको लागि पनि लड्दै थिइन् । उनको नारा थियो– प्रेम र उत्कट स्वतन्त्रता । उनी उग्र स्वभावकी थिइन् त्यसैले एकपटक लेनिनको आधिकारिक विवाहलाई पनि लक्ष्यित गर्दै भनिदिइन्– ‘विवाहपछिको चुम्बन बेस्वादिलो र प्रेमहीन हुन्छ ।’

सन् १९१७ को अक्टोबर क्रान्ति उत्कर्षमा पुगेका बेला लेनिन र अन्य २६ जना बोल्सेभिकसँगै उनी पनि रुस पुगिन् र क्रान्तिमा अहं भूमिका खेलिन् । क्रान्तिपछिको समाजवादी सरकारमा जनकमिसार नियुक्त भइन् । मस्को अर्थ परिषदको प्रमुख र मस्को सोभियतको कार्यकारी सदस्य बनिन् । सरकार र लालसेनामा महिलाको समान सहभागितानिम्ति वकालत गर्दै गइन् । सन् १९२० मा मस्कोमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय कम्युनिष्ट महिला सम्मेलनको अध्यक्षता गरिन् । अत्यधिक कार्यबोझको कारण बिरामी पर्न थालेपछि लेनिनले उनलाई बिदामा बस्न र ककेशिया जान सल्लाह दिए । 

त्यसैबखत त्यसक्षेत्रमा हैजाको महामारी फैलियो । यद्यपि, उनीलगायत धेरैलाई लालसेनाले उद्दार गरे तर इनेसा हैजाबाट ग्रस्त भइसकेकी थिइन् । लामो बिरामीपछि सन् १९२० को सेप्टेम्बर २१ मा ४६ वर्षको उमेरमा उनको निधन भयो । लेनिनकी पत्नी क्रुप्स्कायालाई डर भयो कि लेनिन ठूलो आघातबाट नगुज्रिउन् किनभने निधनको समाचार सुन्नेबित्तिकै लेनिन रुन र टोलाउन थालेका थिए । उनको अन्तिम संस्कार राज्यले नै गर्‍यो । अन्तर्राष्ट्रिय धुन बजाइयो । उनलाई रेड स्क्वायरमै समाधिस्थ गरियो । इनेसाको निधनले लेनिन कति मर्माहत बनेका थिए भन्ने कुरा उनै कोलान्ताइको लेखाइले प्रष्ट गर्छ । उनले लेखेकी छन्– शवयात्रामा लेनिन हामीसँग हिँडिरहेका थिए । उनले आफ्नो आँखा बन्द गरेका थिए । उनलाई सम्हाल्नुपरेको थियो । आफ्नो अनुहार लुकाएका थिए ताकि उनी दुःखी भएको कुरा कसैले थाहा नपाउन् । 

लेनिन र इनेसाको सम्बन्धलाई लिएर क्रुप्स्कायालाई कुनै आपत्ति थिएन, त्यो पनि होइन । इनेसामा कामुकता झल्किन्थ्यो, त्यो देखेर क्रुप्स्कायालाई डर लाग्थ्यो । उनी बरोबर ईष्र्या गर्थिन् । पोल्याण्ड बसाइको क्रममा उनीहरूको सम्बन्धलाई देखेर निकै ईष्र्या गरिन् पनि । एकपटक त रिसाएर केही दिनका लागि घरै छाडिन् । त्यसबेला लेनिनको सामु चुनौती खडा भयो । उनले श्रीमतीप्रति बफादारी देखाए र इनेसासित दूरी घटाए । इनेसाले पनि आफ्नो र लेनिनको सम्बन्धलाई लिएर क्रुप्स्कायाले इष्र्या गर्छिन् भन्ने थाहा नपाएकी होइनन् । तर, कहिलेकाहीँ जानाजान पत्र लेखेर क्रुप्स्कायालाई चिढ्याउने पनि गर्थिन् भने कहिले क्रुप्स्कायालाई पत्र लेखेर लेनिनलाई चिढ्याउने गर्थिन् ।

वास्तवमा इनेसाको जन्मको नाउँ एलिजाबेथ इनेस स्टेफनी डि’ हर्बेन्भिल्ले  हो । आमा नथाली विल्ड हाँस्य कलाकार थिइन् भने बुबा थियोडोर ओपेराका गायक । थियोडोरको निधन हुँदा एलिजाबेथ मात्र ५ वर्षकी थिइन् । लोग्नेको मृत्युपश्चात् नथाली छोरीलाई लिएर रुसको राजधानी मस्को गइन् । त्यहाँ एलिजाबेथ फुपू र बज्यैको संरक्षणमा हुर्किइन् । उनीहरू दुवै जना शिक्षिका थिए । एलिजाबेथ त्यहाँको स्कूलमा इनेसा फ्योदोरोभ्नाको नाउँबाट पढ्न थालिन् ।

१९ वर्षमा अलेक्ज्याण्डर अर्माण्डसित बिहे भयो । र, चार सन्तानको आमा बनिन् । ९ वर्षपछि लोग्नेबाट अलग्गिइन् । अलेक्ज्याण्डरसित कलहको एउटा कारण थियो– कान्छो देवर भ्लादिमिरसितको सम्बन्ध । भ्लादिमिर राजनीतिमा उग्रधारको वकालत गर्थे, उनैको संगतमा इनेसा पनि सोही राजनीतिक बिचारमा लागिसकेकी थिइन् ।

लोग्नेबाट छुट्टिएकै वर्ष २८ वर्षको उमेरमा १७ वर्षका देवरसँग बिहे गरिन्  । इनेसाले उनका तर्फबाट एउटा छोरो आन्द्रेइलाई जन्म दिइन् । रुसमा जार (राजा) को शासन थियो र सबै राजनीतिक दल प्रतिबन्धित थिए । भ्लादिमिर भूमिगत दल ‘सामाजिक जनवादी श्रमिक पार्टी’ का सदस्य थिए । उनले इनेसालाई पनि पार्टी सदस्य बनाए, सन् १९०३ मा । 

इनेसा सन् १९०७ मा पक्राउ परिन् । दुई वर्षको कैद सजायँ भोग्न उत्तरी रुसको नगर मेजेन पुगिन् तर एक वर्ष नबित्दै जेलबाट भागेर स्विटजरल्याण्ड पुगिन् । त्यहीँ क्षयरोगबाट ग्रस्त लोग्ने भ्लादिमिरले उनैको काखमा दम तोडे । उनी पछि बेल्जियम पुगिन् । त्यहीँ अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरिन् । उनी ४ वटा भाषा रुसी, फ्रेञ्च, जर्मन र अंग्रेजी राम्रोसित बोल्थिन् । पछि बल्ल पेरिस पुगेकी हुन् । 
 

टिप्पणीहरू