अरुको घर भत्काउने, कसरी मुख देखाउने ?

नब्बे दिनमा भवन भत्कियो त बालेन सर !

अरुको घर भत्काउने, कसरी मुख देखाउने ?

नेपालीमा एउटा चर्चित उखान छ, ‘जसको शक्ति, उसैको भक्ति ।’ काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरूको हर्कत र यो उखान ठ्याक्कै मेल खान्छ । मेयर बालेन्द्र (बालेन) शाहको दाहिने हातका रूपमा चिनिने नेकपा (एमाले)बाट निर्वाचित वडा नम्बर–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिको आफ्नै घर मापदण्डविपरीत रहेको खुलेको छ । नक्सापासभन्दा अग्लो घर ठड्याएका उनी भने अरुको घरमा डोजर चलाउँदै हिँडेका छन् । उनले छानीछानी घर भत्काउने गरेको स्रोत बताउँछ । आफ्नो पार्टीको कार्यकर्ता भएमा मापदण्डविपरीत भए पनि आँखा चिम्लिदिने उनले अन्यको हकमा डोजर लगेर ड्याङडुङ्ग भवन भत्काउने गरेका छन् । नक्सापास नै नभएको घरलाई त्यत्तिकै छोडिदिएर सडकसम्म भएको आफ्नो जग्गाको कर तिरिरहेको घर भत्काउन आदेश दिएपछि पीडित न्याय माग्दै अदालत पुगेका छन् ।

हाँडीगाऊँ मार्ग बस्ने गौरी गुरुङ्गको कम्पाउण्ड मापदण्डविपरीत रहेको भन्दै २०७९ सालमा अनलाइनमार्फत बेनामी उजुरी पर्‍यो । दर्ता नम्बर ४४४ भएको सो उजुरीमा लेखिएको छ, ‘काठमाडौं वडा ५ स्थित थलोको सार्वजनिक महत्वको कुरामा ध्यान पुर्‍याइ दिनुहुन यहाँहरूलाई हार्दिक अनुरोध छ । नत्र सर्वसाधारणलाई धेरै पछिसम्म मर्का परिनै रहनेछ ।’ सो उजुरी दर्ता भएको दुई दिनपछि हाँडीगाऊँ–मालीगाऊँ टोल सुधार समितिले नाप जाँच गराएर फुटपाथ कायम गराउन भन्दै महानगरमा उजुर हाल्यो । जसको दर्ता नम्बर ४४८ रहेको छ । वडाध्यक्ष प्रजापतिले आवश्यक कारबाहीको लागि भन्दै साउन ८ गते पत्राचार गरे । महानगरका इञ्जिनियर पदमराज कठायत स्थलगत निरीक्षण गर्न पुगे ।

उनले बुझाएको प्रतिवेदनमा उत्तरतर्फ आरओडब्ल्युमा स्टिलबार तथा सेटब्याक लाइनमा बेसमेण्ट र्‍याम्प नक्सापास बिनै निर्माण भएको उल्लेख छ । त्यसपछि पुनः माघ २६ गते प्रजापतिले महानगरलाई पत्र लेखे । महानगरले प्राविधिक प्रतिवेदनको बुँदा नम्बर ३ बमोजिम फुटपाथ मिचेको देखिएमा झिक्न नगरप्रहरीलाई निर्देशन दियो । तर, प्रहरीले जेएलडी बाटो रहेको भन्दै पुरै कम्पाउण्ड भत्कायो । गौरी भन्छिन्, ‘मेरो जग्गा सडकको बीचसम्म छ । मैले अहिले पनि त्यहाँसम्मको कर तिरिरहेको छु । एउटा बेनामी उजुरीका भरमा महानगरले डोजर ल्याएर मेरो घर भताभुङ्ग बनाइदियो । लाखौं क्षतिको भर्पाइ कसले गर्ने ?’ जेएलडी बाटो भन्दै आफ्नो जग्गाभित्रै डोजर चलाएपछि उनले खोजतलास शुरु गरिन् । सो क्रममा त्यहाँ जेएलडी बाटो नभएको खुलेको हो । उनका अनुसार जेएलडी बाटोका लागि प्रस्ताव मात्र गरिएको थियो ।

‘त्यहाँ जेएलडी बाटो छ भनेर भत्काइयो । तर, बाटोका लागि प्रस्ताव मात्र गरिएको रहेछ । यदि त्यहाँ जेएलडी बाटो खोल्ने हो भने जग्गा प्राप्त गर्नुपर्छ । जग्गाधनीलाई मुआब्जा दिनुपर्छ । मैले मेरो जग्गामा बनाएको संरचना यत्तिकै भत्काउन मिल्छ ? पहिल्यै नै त्यत्रो जग्गा छोडिसकें । अझै के–के भनेर जग्गा हडप्न खोज्दैछन् । काठमाडौंको जग्गा कति छोड्ने ?’, उनले गुनासो पोखिन् ।

घरको नक्सापास गर्दा कांग्रेसका वडाध्यक्ष थिए । उनको सुझावअनुसार नै घेराबार लगाइएको गौरी बताउँछिन् । पैदलयात्रीको सहजता र रातमा सुरक्षाका लागि फोल्ड गर्न मिल्ने खालको गेट हालेको उनको जिकिर छ । महानगरले सो गेटसँगै घेराबार पनि भत्काइदिएको छ ।

भन्छिन्, ‘आरओडब्ल्युमा स्टिलबार निर्माण र बेसमेन्ट र्‍याम्प बनाइएको थियो । त्यसको नक्सापासका लागि हामी वडामा पनि गएका थियौं । तत्कालीन वडाध्यक्षले निर्माण सम्पन्न भएपछि नक्सा पास गरेर एकैपटक सम्पूर्णताको प्रमाणपत्र दिने भन्नुभएको थियो । अहिले सबै भाङभुङ्ग भत्काइदिए ।’ आफ्नो घरको केबल, इन्टरनेट, बिजुली, सिसीटिभी क्यामेराको तार जमिनमुनि रहेको भन्दै उनले महानगरका अवैध प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई हेरेर मात्र भत्काउन आग्रह गरेकी थिइन् ।

तर, वडाध्यक्ष प्रजापतिको निर्देशनअनुसार उनले पुरै कम्पाउण्ड नै भत्काइदिएको गौरीको आरोप छ । उनका अनुसार नापी विभागबाट इञ्जिनियर बोलाएर नापजाँच गरिदिन आग्रह गर्दा पनि सुनुवाइ भएन । ‘हामीले पटकपटक नापीबाट इञ्जिनियर झिकाएर नापजाँच गर्न आग्रह गरिसकेका छौं । तर, वडाध्यक्षले सुन्दैनन् । वडाका इञ्जिनियर पठाउँछन् । वडाको इञ्जिनियरले उनले भनेजस्तो गरिहाल्छन्’, उनले भनिन् ।
आफ्नो घर भत्काइएपछि क्षतिपूर्तिको माग गर्दै वडाध्यक्षसहितविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छिन् । अदालतले सुनुवाइका क्रममा कागजात माग गर्दा वडाले बुझाउन सकेन । आधिकारिक कागजात फेला नपरेपछि वडाले अर्को पत्र बनाएर अदालतमा पेश गरेको पाइएको छ ।

कांग्रेस समर्थक रहेको निहुँमा आफ्नै जग्गामा बनाएको संरचना भत्काएका वडाध्यक्ष प्रजापति बिना नक्सापास ६ तल्लाको घर ठड्याउँदा टुलुटुलु रमिता हेरेर बसेका छन् । गौरीको सामुन्ने रहेको ६ तल्ले घरको न लालपुर्जा छ न त नक्सापास । सो घर विद्या स्थापितको हो । कित्ता नम्बर २८ को सो जमिनको लालपुर्जा विद्यासँग छैन । लालपुर्जा नै नभएको जग्गामा बनेको घरको नक्सापास हुने कुरै हुँदैन । नक्सापास बिनै घर बनाएको भन्दै गौरीले काठमाडौं महानगरमा उजुर दिइन् । उनले निर्माण स्वीकृति नलिईकन र नक्सापास पनि नगरिकन बनाइएको सो घर भत्काउन भनेकी छन् । महानगरका इञ्जिनियर अर्जुन अर्यालद्वारा हस्ताक्षरित प्रतिवेदनले पनि सो घरको नक्सा पास नै नभएको पुष्टि गर्दछ ।

‘प्रतिवादीले कित्ता नम्बर २८ मा निर्माण गरेको ६ तल्ले भवनको नक्सा पास कागज उपलब्ध हुन नसकेको व्यहोरा अनुरोध छ’, प्रतिवेदनमा भनिएको छ । मेयर बालेनको इजलासले २०८० कात्तिक २४ गते सो भवन भत्किने ठहर गरेको छ । फैसलामा भनिएको छ, ‘उक्त भवन संरचनाको नक्सापास भएको कागज प्रमाण प्रतिवादीले पेश गर्न नसकेकोले यो निर्णय सुनिपाएको मितिले ९० दिनभित्र प्रचलित भवन मापदण्डअनुकूल नक्सा पेश गर्नु भनी प्रतिवादीलाई सुनाई दिने र सोबमोजिम नगरेमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ (४) बमोजिम भत्काउने ठहर्छ । अरु तपसिलबमोजिम गर्नू ।’

९० दिन भनिएकोमा डेढ वर्ष बितिसक्दासमेत भवन भत्काइएको छैन । यता, सोही वडाका अर्का एक जनाले नक्सापास विपरीत भवन बनाएका छन् । कित्ता नम्बर ९८ मा निर्माण भएको भवन जितेन्द्र सिलवालको हो । उनले नक्सापास नै नगरिकन दोस्रो तल्लामा स्ल्याब बनाएका छन् । जुन भत्काउने निर्णय भएको छ । तर, उनले अटेर गरिरहेको अवस्था छ भने वडाले नजरअन्दाज । वडाले दुवै घर भत्काउन चासो देखाएको छैन । नक्सापास नगरिकन पर्खाल लगाउँदा डोजर लिएर पुग्ने वडा लालपुर्जा नै नभएको जग्गामा घर बनाउँदा किन हात बाँधेर बसेको छ ? प्रश्न उठेको छ ।

दुई तलाको नक्सापास, पाँच तल्लाको भवन

वडाध्यक्ष प्रजापतिकै घर मापदण्डविपरीत रहेको खुलेको छ । साढे दुई तल्लाको नक्सापास गरेर उनले पाँच तल्लाको भवन ठड्याएको महानगरको प्रतिवेदनमा उल्लेख छ । कित्ता नम्बर ५२२ मा घर बनाएका उनले साढे दुई तल्लाको मात्र नक्सापास गरेको महानगरले जनाएको छ । उनले २०५८ फागुन ८ गते सो भवनको निर्माण सम्पन्न प्रमाणपत्र लिएको देखिन्छ । जसमा साढे दुई तल्ला मात्र लेखिएको छ । २०८० भदौ २५ गते अनुगमनका क्रममा पाँच तल्लाको भवन ठड्याइएको फेला पारिएको हो । इञ्जिनियर बमले महानगरमा बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘प्रतिवादीले कित्ता नम्बर ५२२ मा निर्माण गरेको घरको साढे दुई तल्लाको नक्सापास इजाजत लिई मिति २०५८–११–०८ मा निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त गरेकोमा हाल फिल्डमा पाँच तल्लाको भवन निर्माण गरेको देखिन्छ । प्रतिवादीको ए१ साइजको नक्सा भने उपलब्ध हुन नसकेको व्यहोरा अनुरोध छ ।’

अभिलेखीकरण भइसक्योः वडाध्यक्ष

वडाध्यक्ष प्रजापति आफ्नो घरको अभिलेखीकरण भइसकेको बताउँछन् । आफ्नो पुरानो घर भएको र सोको अभिलेखीकरण प्रक्रिया सम्पन्न भइसकेको उनको भनाइ छ । ‘मैले साढे दुई तल्लाको नक्सा पास गरेर पाँच तल्लाको बनाएको हो । सोको भिलेखीकरण गरिसकेको छु’, उनले भने । त्यसैगरी, उनले विद्या स्वःबासी भएको बताए । पुस्तौंदेखि त्यहीँ बसिरहेकाले उनलाई उठीबास लगाउन नमिल्ने प्रजापतिको जिकिर छ ।

काठमाडौं उपत्यकाभर दर्जनौं स्वःबासी भएको जानकारी दिँदै उनले सरकारले स्वःबासी दर्ता खोलेपछि त्यसरी बसिरहेकाहरूको नाम टिपाइने बताए । भन्छन्, ‘हाँडीगाउँमा लालपुर्जा नभएकाहरू धेरै छन् । उनीहरू पुस्तौंदेखि त्यत्तिकै बसिरहेका छन् । त्यसैले उनीहरूलाई स्वःबासी भनिन्छ । सरकारले स्वःबासी दर्ता प्रक्रिया शुरु गरेपछि उनीहरू पनि दर्ता हुन्छन् ।’ जितेन्द्रले आफैं घरको स्ल्याब हटाउने प्रतिबद्धता जनाएको प्रजापतिले बताए । 
 

टिप्पणीहरू